हिजो ओशो पार्क, बिपी पार्क अहिले श्रम संस्कृति पार्क

हिजो ओशो पार्क, बिपी पार्क अहिले श्रम संस्कृति पार्क

केन्द्रबिन्दु
33
Shares

संगीता राई
धरान (सुनसरी) । धरान उपमहानगरपालिका–१३ र २० को सिमानामा रहेको श्रम संस्कृति पार्क पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।

केही वर्ष अघिसम्म उजाड र सुनसान जङ्गलका रूपमा रहेको उक्त क्षेत्र श्रमदानमार्फत विकास गरिएपछि हाल लोकप्रिय पर्यटन गन्तव्यका रूपमा परिचित बनेको हो । विशेष गरी पार्कभित्र बनाइएको आकर्षक पानीको फोहरा (वाटर फाउन्टेन) ले धेरैलाई आकर्षित गरिरहेको छ ।

सिराहाको धनगढीमाई नगरपालिकाबाट यहाँ घुम्न आउनुभएका हरिनारायण चौधरीले धरान धेरैपटक आए पनि उक्त पार्क पहिलोपटक घुम्दा निकै रमाइलो लागेको बताए । “सामाजिक सञ्जालमा देखेको र सुनेको थिएँ, यसपटक यही आएर हेर्दा निकै रमाइलो लाग्यो । निकै सुन्दर प्राकृतिक पार्क रहेछ भन्ने अनुभूति भयो”, उनले भने, “धरानका अन्य स्थान पनि घुम्ने योजना थियो, तर यहाँको वातावरणले अन्त जानै मन लागेन ।”

पहिले ‘ओशो पार्क’, बिपी पार्कका रूपमा चिनिने उक्त क्षेत्र हाल ‘श्रम संस्कृति पार्क’ नामले परिचित छ । श्रमदान अभियानमार्फत विकास गरिएको यस पार्क आसपासमा दर्जनौँ सानाठूला पार्क निर्माण भएका छन् । एसडिबी पार्क, रक गार्डेन, चिल्ड्रेन पार्क, ज्येष्ठ नागरिक पार्कलगायत संरचना यहाँ रहेका छन् । साथै, गोर्खाली भूपू लाहुरेहरूले निर्माण गरेको ‘गोर्खा चौतारी’ समेत पर्यटकको अर्को आकर्षण स्थल बनेको छ ।

पार्क क्षेत्रमा हरियाली वातावरणसँगै विभिन्न प्रजातिका फलफूल तथा बोटबिरुवाले ढाकिएका बगैँचाले आगन्तुकलाई आकर्षित गर्ने गरेको छ । पार्कभित्र स्थानीय जनजीवन झल्काउने प्रतिमा राखिएका छन्, जसले पर्यटकको ध्यान तान्ने गरेको छ ।

सर्दु, खर्दु र निसाने खोलाको बगर क्षेत्रमा निर्माण गरिएको पार्कमा फलफूलका बिरुवा, विश्रामस्थलका रूपमा चौतारा तथा आकर्षक बगैँचा निर्माण गरिएका छन् । साथै, धरानको पहिचान झल्काउने काठ काट्ने आराको नमूना तथा किरात संस्कृतिसँग सम्बन्धित चिन्डोको आकृतिमा धारा निर्माण गरिएको छ । विभिन्न दाताले आफ्ना आफन्तको सम्झनामा बस्न मिल्ने संरचनाहरू निर्माण गरिदिएका छन् ।

यसले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सजिलो भएको छ । झापाबाट साथीहरूसहित घुम्न आउनुभएका जयन्ती जिमीले पार्कको तीव्र विकास भएको देख्दा खुसी महसुस भएको बताइन । “एकै स्थानमा श्रमदानमार्फत विभिन्न संरचना निर्माण गरिएकाले पार्क निकै आकर्षक बनेको छ”, उनले भनिन्, “केही वर्षअघि पहिलोपटक आउँदा चारैतिर जङ्गल, झाडी र खोला मात्र देखेको थिएँ, यसपटक त परिवर्तन गरेर चारैतिर फूल, चौतारा र हरियाली रहेछ । निकै खुसी र रमाइलो लाग्यो ।”

दैनिक सयौँ पर्यटक धरान, पाँचथर, तेह्रथुम, धनकुटा, इटहरी, मोरङ, झापालगायत जिल्लाबाट तथा विदेशबाट समेत आउने गरेका छन् । एकै स्थानमा धेरै आकर्षक पार्क भएकाले बिहान आएका पर्यटक दिनभर यहीँ बिताउने गरेका छन् ।

पार्क संरक्षण समितिका अध्यक्ष पुनेन्द्रप्रसाद लिम्बूका अनुसार उक्त स्थान पहिले पैदलमार्गका रूपमा मात्र प्रयोग हुँदै आएको थियो । हाल दैनिक पाँच सयदेखि एक हजारसम्म पर्यटक आउने गरेका छन् भने बिदाका दिनमा पाँच हजारसम्म पर्यटक आउने गरेको उनले बताए ।

धरान उपमहानगरपालिकाका तत्कालिन प्रमुख हर्कराज राई (साम्पाङ)को नेतृत्वमा सुरु भएको श्रमदान अभियानबाट उक्त क्षेत्रको विकास गरिएको हो । स्वदेश तथा विदेशमा रहेका सहयोगी दाताहरूको सहयोग र श्रमदानमार्फत पार्क निर्माण गरिएको अध्यक्ष लिम्बूले बताए ।

उनका अनुसार पार्कमा हाल २५ देखि २८ जनाले रोजगारी पाएका छन् । हाल पार्क क्षेत्रमा तीनवटा टिकट काउन्टर सञ्चालनमा रहेका छन् भने रोपिएका बोटबिरुवाको संरक्षणका लागि कर्मचारी खटाइएको छ ।

पार्क क्षेत्रलाई अझ रमणीय र आकर्षक बनाउन थप भौतिक पूर्वाधारका कामहरू भइरहेका छन् । यहाँ पार्क बन्नुभन्दा अगाडि २०७५\७६ सालमा पूर्वसांसद जयकुमार राईको सांसद क्षेत्र विकास कोषबाट रु २० लाखमा यस क्षेत्रमा रहेका ओशो पार्क र बिपी पार्क निर्माण गरिएका थिए ।

त्यसैगरी, पूर्वसांसद कृष्णकुमार राईको कोषबाट रु १० लाख सहयोगमा बिपी पार्क क्षेत्रमा घिर्लिङ अवशेषसम्म जाने सिँढी निर्माण गरिएको थियो । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित ती संरचना निर्माण गरिएकाले स्थानीय पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुर्‌याएको सांसद जयकुमार राईले बताए ।रासस

Skip This
Skip This
Logo