सुरक्षित अरोहण र सगरमाथा सफा बनाउदै ‘माउन्टेन रेन्जर्स’

सुरक्षित अरोहण र सगरमाथा सफा बनाउदै ‘माउन्टेन रेन्जर्स’

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । दशकौंदेखिको व्यावसायिक आरोहणका कारण सगरमाथा क्षेत्रमा ठूलो परिमाणमा फोहोर र मानिसका मलमुत्र थुप्रिएका छन् । त्यही क्षेत्र क्याम्प-२ मा सगरमाथा आरोहणको यस सिजनमा ५३ वर्षका निग्मा वाङ्चुले हप्तौं बिताए । समुद्री सतहबाट ६ हजार ४०० मिटर हाराहारीको यस क्षेत्रमा उनले फोहोर व्यवस्थापन नियमन, आरोहीहरूलाई सिकाउने र आपत्‌कालीन आवस्थामा सहयोग गरे ।

‘टाढाबाट पहिलोपल्ट देख्दा आरोहीहरूले आफुजस्तै अर्को पथ प्रदर्शक ठान्थे । तर, उनीहरूमध्ये धेरैजना म भएको ठाउँ नजिक आउनै तर्कन्थे । किनकि मेरो ज्याकेटमा ‘माउन्टेन रेन्जर’ लेखिएको थियो,’ उनले हाँस्दै भने, ‘यस सिजनबाट मलाई धेरै आरोहीले चिन्न थाले । म उनीहरूलाई तर्साउन चाहन्न । तर, उनीहरूका गतिविधिलाई प्रहरीजस्तै निगरानी गरिरहेको अनुभूति गराउन चाहन्थें ।’

सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)ले माउन्टेन रेन्जर कार्यक्रम यसै सिजनदेखि सुरु गरेको हो । विश्वको सर्वोच्च शिखरमा फोहोरको थुप्रो जम्मा भएको भनेर आलोचना बढेपछि यो पहल सुरु भएको हो ।पहिलो पटक एसपीसीसीले क्याम्प–२ मा एभरेस्ट रेन्जर्स बेस स्थापना गरेको हो ।

आरोहीहरूले क्याम्प–२ भन्दामाथि (विशेषगरी क्याम्प–३ र क्याम्प–४)बाट कम्तीमा २ किलो फोहोर बोकेर ल्याउनुपर्छ । त्यसैको निगरानी गर्ने जिम्मेवारी चार पटकका सगरमाथा आरोही निग्मा वाङ्चु शेर्पाले पाएका छन् ।

‘आरोहीहरूले ल्याउने फोहोरलाई हामी संकलन गर्छौं, तौल गर्छौं र यसलाई झोलाहरूमा राख्छौं । अनि, क्लियरेन्स चिट जारी गर्छौ,’ उनले भने, ‘यसरी संकलन गरिएको फोहोरलाई क्याम्प–१ मा लगिन्छ र त्यहाँबाट ड्रोनमार्फत आधार शिविरमा झारिन्छ ।’

‘रेन्जरका रुपमा यो मेरो पहिलो अनुभव हो । हामीले फोहोर संकलन गर्ने मात्रै होइन । आरोहीहरूलाई सगरमाथा सफा राख्न पनि प्रोत्साहन गर्छौ,’ उनले भने, ‘हामी आपत्‌कालीन अवस्थामा सेवा पनि दिन्छौं । माथिल्ला क्याम्पहरूमा रहेका वा उद्धार गर्नुपर्ने आरोहीहरूलाई अक्सिजनका बोतल आपूर्ति गर्छौ । यहाँ चुनौती असंख्य छन् ।’

सगरमाथा आरोहणको रेकर्ड राख्न थालिएयता यहाँ ३०० भन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । त्यसमध्ये झन्डै २०० शव ‘डेथ जोन’ भनेर चिनिएको ८ हजार मिटरमाथिको क्षेत्रमा छ । प्लास्टिक यहाँ सबैभन्दा ठूलो खतरा बनेको छ । चकलेटका खोल, इनर्जी जेल प्याकेटस् वा आरोहणका क्रममा प्रयोगपछि फालिएका अन्य सामग्री बिस्तारै तीव्र अल्ट्राभ्वाइलेट रेडियसन, अति चिसो र शक्तिशाली हावाका कारण च्यातिन थाल्छन् । यसरी धुँजाधुँजा हुँदा माइक्रोप्लास्टिक बन्छन् । जसले खुम्बु क्षेत्रका हिउँ, झरना वा खानेपानीको स्रोतलाई प्रदूषित गर्छ ।फोहोरको सानोभन्दा सानो टुक्राले पनि दीर्घकालमा ठूलो क्षति निम्त्याउँछ ।

सगरमाथा सफाईको चुनौती फालिएका टेन्ट, अक्सिजन सिलिन्डर वा खाद्यान्नका प्याकेटमा मात्रै सिमित छैन । सगरमाथा आरोहणको रेकर्ड राख्न थालिएयता यहाँ ३०० भन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । त्यसमध्ये झन्डै २०० शव ‘डेथ जोन’ भनेर चिनिएको ८ हजार मिटरमाथिको क्षेत्रमा छ । अति उचाई, कठोर मौसम र कठिन भूगोलका कारण यहाँबाट शव ल्याउनु आरोहणकै खतरनाक कार्यमध्ये एक हो ।

सन् २०२४ मा एसपीसीसीका अधिकारीहरूले सगरमाथामा आरोहणको मुल्याङ्कन गरेपछि रेन्जरको अवधारणा सुरु गरिएको हो । ‘दशकौंसम्म हामीले फोहोरबारे चर्चा गर्‍यौं,’ छिरिङ शेर्पाले भने,‘मानिसहरूले सामाजिक सञ्जालमा सगरमाथाको प्रदूषणलाई लिएर आलोचना गरे । हामीलाई आफैं त्यहाँ गएर अवस्था बुझ्नुपर्छ भन्ने लाग्यो,’ उनले भने, ‘क्याम्प–२ भन्दा माथि फोहोर छ ।

कति भयावह छ भन्ने संकेत एसपीसीसीले संकलन गरेको फोहोरको तथ्याङ्कले देखाउँछ ।बसन्तकालीन यो सिजनमा एसपीसीसीले १.२२ टन पुनः प्रयोग नहुने फोहोर क्याम्प-३ र साउथ कोलबाट संकलन गर्‍यो । टोलीहरूले २१० वटा रित्ता ग्यासका क्यान, एउटा पोर्टेबल स्टोभ र १.७६ टन मानव मलमुत्रको ब्याग पनि माथिल्लो क्षेत्रबाट तल झारिएको छ ।

यसबाहेक ६.५२ टन फोहोर (प्लास्टिक, मेटल क्यान, कागज, किचेन रिफ्युज, टेन्ट, डोरी र अन्य आरोहण सामग्री ) एसपीसीसीको खुम्बु आईसफल चेकपोइन्टाट ल्याएको छ । ‘बेसक्याम्पमा संकलन गरिएको फोहोरको अझै मापन हुन बाँकी छ,’ छिरिङले भने ।

यो समस्या कुनै एक सिजनको मात्रै होइन । सन् २०२४ मा एसपीसीसीले ८५ टन फोहोर संकलन गरेको थियो । जसमा झन्डै २८ टन मानव मलमुत्र थियो । यसबाहेक नेपाली सेनाले थप ११ टन फोहोर हटाएको थियो । सन् २०२५ मा एसपीसीसीले संकलन गरेको फोहार ११० टन पुगेको थियो ।

नयाँ नियमअनुसार हरेक आरोही र उचाईका कामदारले क्याम्प–२ भन्दा माथिका क्षेत्रबाट कम्तीमा २ किलो फोहोर फिर्ता ल्याउनुपर्छ । यो फोहोर क्याम्प-२ बाट तल झर्नुअघि त्यहाँ रहेका माउन्टेन रेन्जरलाई बुझाउनुपर्छ । यो कार्यक्रम सुरुवातमात्रै हो ।

‘हामीले यस वर्ष २ रेन्जरबाट सुरु गर्‍यौं,’ छिरिङले भने,‘अर्को वर्ष रेन्जरको संख्यालाई ७ वा ८ पुर्‍याउने योजना बनाएका छौं ।’दशकौंदेखि फोहोर थुप्रिएको क्याम्प–४ र त्यसभन्दा माथिका क्षेत्रलाई लक्षित गरेर संस्थाले सफाई अभियान बिस्तार गर्ने योजना बनाएको छ ।

आरोहीले सगरमाथाको आधार शिविरमा कुल ८ किलो फोहोर फिर्ता ल्याउनुपर्ने विद्यमान नियमलाई पनि रेन्जर कार्यक्रमले सहयोग गरेको छ । अनुमति लिनुअघि आरोहीहरुले फोहोर–व्यवस्थापनबापत ४ हजार डलर धरौटी जम्मा गर्नुपर्ने हुन्छ । फोहोर–व्यवस्थापन मापदण्डहरू पूरा गरेमा यो पैसा फिर्ता पाइन्छ ।

Logo