ढोरपाटन (बागलुङ) । हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बागलुङको तल्लो क्षेत्रमा निकै गर्मी छ । जसका कारण समुन्द्री सतहदेखि तीन हजार २०० मिटरको उचाइमा रहेको रिगताल क्षेत्रमा सितल छ । यहाँ पुस माघ महिनाको जस्तो चिसो सिरेटो चिलिनै रहन्छ । गर्मी छल्न आन्तरिक पर्यटक दिनहुँ यहाँ पुग्छन् ।
उच्च पहाडी हावापानी, शान्त वातावरण र प्राकृतिक सुन्दरताको रसास्वादन गर्न आउने पर्यटकका कारण रिग क्षेत्रमा चहपहल बढेको हो । बर्खा याममा फूलेका भुइँफूल र अहिया पालुवाले यहाँ पुग्ने जोकोहीलाई आकर्षित गर्ने गरेको छ । बागलुङको निसीखोला गाउँपालिका–६ मा पर्ने रिग ताल एक दशक अगाडिसम्म ओझेलमा थियो । तर पछिल्लो समय प्रचारप्रसार हुँदा पर्यटक आकर्षणको केन्द्र बनेको हो ।
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको नजिकै पर्ने रिग क्षेत्रमा प्रकृतिसँगै गोठाले जनजीवन, हजारौँ संख्याका वस्तुभाउ र वन्यजन्तुसँग रमाउन आउनेको संख्या बढी छ । बागलुङ, रोल्पा र पूर्वी रुकुम जिल्लाको सङ्गम स्थल पातीहाल्नेदेखि १५ मिनेटको पैदल यात्रामा पुग्न सकिने रिगतालसम्म सडक पनि पुगेको छ । जसले पर्यटकलाई सवारी साधानमै तालसम्म पुग्न सहज बनाएको छ ।
पछिल्लो सात वर्षमा रिग ताल क्षेत्रमा आउने पर्यटकको सङ्ख्या ह्वातै बढेको निसीखोला गाउँपालिका–६ का पूर्णबहादुर घर्ती मगरले बताए । पहिले गोठालाले चरन क्षेत्रका रुपमा प्रयोग गर्दै आएको रिगतालमा अहिले दैनिक पर्यटक आउने गरेका छन् । असारको पहिलो सातादेखि नै दैनिक एक सयभन्दा बढी पर्यटक रिग क्षेत्रमा आउने गरेको घर्ती मगरले सुनाए ।
उनले भने “सडकको विकासले गोठाला बस्ने ठाउँमा पर्यटक आउन थाले, पहिले त निसी, भल्कोट गाउँका गोठालाहरु भेडाबाख्रा, गाईभैँसी लिएर बर्खा भरि बस्ने ठाउँ हो, तर अहिले रिग डाँडाभरी मान्छेहरुको भिड लाग्छ, ठाउँ पनि राम्रो छ ।”
अरु बेलाभन्दा बिदाको दिन ५०० बढी पर्यटक रिग तालमा आउने गरेको घर्तीले बताए । पर्यटकले गोठमै आएर दूध, दही र घ्यूसमेत खरिद गर्दा आम्दानी राम्रो हुने गरेको बताए । पर्यटकले प्लास्टिकका बोटल, बियरका सिसा र अन्य प्लास्टिकजन्य फोहोर जथाभावी गर्ने गरेको उहाँले गुनासो गरे ।
खासगरी बुटवल, दाङ, नेपालगञ्ज, चितवन, भैरहवा लगायतका ठाउँबाट पर्यटकहरु गर्मी छल्न यतिबेला रिगताल आउने गरेका छन् । नेपालगञ्जबाट घुम्न आउनुभएका रितेश ताम्राकारले तराईमा निकै गर्मी बढेको हुँदा एक साता सितल खोज्दै पहाड उक्लिएको बताए । पहाड आएको समयमा चौरीखर्क, ढोरपाटन, निसेलढो र रिगतलामा घुमेको उनले बताए ।
भैरहवाका प्रवेश पौडेलले पहाड घर गुल्मी आएको बेला साथीहरुसँग रिगताल घुम्न आएको बताए । भैरहवामा अत्यधिक गर्मी बढेको सुनाउँदै उहाँले रिगताल आएपछि यहाँको प्रकृति र हावापानीसँग रमाउँदै आनन्द आएको बताए ।






























