वायुसेवा सञ्चालकले बुझाए उद्योगमन्त्री भट्टलाई ज्ञापनपत्र

वायुसेवा सञ्चालकले बुझाए उद्योगमन्त्री भट्टलाई ज्ञापनपत्र


वायु सेवा सञ्चालकहरुले सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयको विरोधमा उद्योगमन्त्री लेखराज भट्टलाई ज्ञापन पत्र बुझाएका छन् । 

बुधबार वायु सेवा सञ्चालकहरुले सोलुखुम्बु जिल्लाको सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रलगायत अन्य निकुञ्ज क्षेत्रमा उडानलाई निषेध गरेको विरोधमा मन्त्री भट्टलाई ज्ञापन पत्र बुझाएका हुन् । वायुसेवा सञ्चालकहरुले मन्त्री भट्टलाई मन्त्रालयमा ज्ञापनपत्र बुझाउदै संरक्षित क्षेत्रहरुमा पूर्ववत रुपमा प्रचलित व्यवस्थानुसार नै सम्पूर्ण प्रकृतिका हेलिकप्टर उडानहरु निर्वाध रुपमा सञ्चालन गर्ने व्यवस्था गरिदिन माग गरेका हुन् । 

हेलिकप्टरहरु निर्वाध रुपले चल्न नपाए आर्थिक अभाव भई सेवा नै बन्द हुने अवस्था आउने भन्दै वायु सेवा सञ्चालकहरुले उडान रोक्का फुकुवा गर्न आवश्यक पहलका लागि मन्त्री भट्टलाई आग्रह गरेका छन् । वायु सेवा सञ्चालकका सचिव सुमन पाण्डेले सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले गरेको निर्णयले हेलिकप्टर उद्योगमा अनिश्चितता आएको बताए । हेलिकप्टरलाई नियन्त्रण गर्न खोजे हेलिकप्टर उद्योग मात्रै नभई पर्यटन उद्योगमा समेत असर गरी आर्थिक उपार्जनमा कमी आउने र धेरैको रोजगारीसमेत गुम्ने सचिव पाण्डेको भनाइ छ । विदेशी बजारमा नेपाली पर्यटन क्षेत्रको विश्वसनीयता प्रति प्रश्न उठ्ने भन्दै हेलिकप्टरलाई निर्वाध रुपमा चल्न दिनुपर्ने उनको भनाइ छ ।

ज्ञापनपत्र बुझ्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले राष्ट्रिय निकुञ्जलाई संरक्षण गर्दै उद्योगलाई पनि सञ्चालन गर्नुपर्ने बताए । ऐन, कानूनको पालना हुनेगरी सन्तुलित ढंगले अघि बढ्नुपर्ने भन्दै उनले सबैलाई बोलाएर व्यवस्थित ढङ्गले छलफल गरी समस्या आउन नदिन दीर्घकालीन उपाय खोज्न पहल गर्ने मन्त्री भट्टले बताए ।

सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले जारी गरेको हेलिकप्टर अवतरण÷होभारिंग नियमनको परिपत्रमा हेलि अवतरण नियमन वा सो क्षेत्रका लुक्ला, स्याङबोचे र नाम्चे स्थितका ३ स्थानबाहेक अन्य स्थानको उडान तथा अवतरण रोक्ने निर्णय गरिएको थियो । यस निर्णयले हेलिकप्टर सञ्चालक कम्पनीहरु तथा समग्र पर्यटन व्यवसाय मर्कामा परेको भन्दै पूर्ववत रुपमा अवतरण गर्नुपर्ने माग गर्दै आइएको छ ।

Logo