तस्विरमा भाइरल डोटीको छहरा झरना, दैनिक लाग्छ हजारौंको भिड

तस्विरमा भाइरल डोटीको छहरा झरना, दैनिक लाग्छ हजारौंको भिड


डोटीको छहरा झरना पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। जिल्लाको जोरायल गाउँपालिका–२ छतिवनमा रहेको झर्नामा दैनिक हजारौं मानिसहरू पुग्ने गरेका छन्। 

झर्ना हेर्न कैलाली, कञ्चनपुरलगायत पहाडका डोटी, डडेल्धुरा, बैतडी, बाँके र बर्दियाबाट समेत मानिसहरू आउने गरेको स्थानीय बताउँछन्। छहरामा तराईका जिल्लाबाट गर्मी छल्नका लागि आन्तरिक पर्यटकहरू पुग्ने गरेका छन्।

हरियाली जंगलको माथि चट्टान छ त्यसै चट्टानबाट पानी तल झर्छ। सुन्दर र अनुपम आकर्षक छहरा झरना हेर्ने मानिसहरूको भीड लाग्ने गरेको छ। कोरोनाको जोखिमका बीच  झरनामा रमाउनका लागि आउने पर्यटकको संख्या दिनहुँ बढ्दै गएको छ। 

झरनासम्म पुग्न सडक बाटोको व्यवस्था भएपनि हजारौंको संख्यामा मानिसहरू गाडी, मोटरसाइकल लगेर पुग्ने भएकोले सडकमा दिनहुँ जाम लाग्ने गर्दछ। यो झरना टीकटकका कारण भाइरल भएको कतिपयको भनाइ छ।  

झरनामा रमाइलो गर्न आउने पर्यटक तथा यहाँका स्थानीयबासीले झरनामा रमाइरहेको फोटो तथा भिडियो सामाजिक सञ्जाल फेसबुक र टीकटकमा पोस्ट गर्दै यसको प्रचारप्रसारमा समेत जुटेका छन्। 

कोरोनाले यहाँका होटेल सुनसान थिए। तर, छहरा झरना अवलोकन तथा भ्रमणका लागि आउने पर्यटकका कारण अहिले यहाँका होटेल व्यवसाय फस्टाएका छन्। 

Logo