लमजुङमा पर्यटकले एकापसमा रंग दलेर मनाए होली

लमजुङमा पर्यटकले एकापसमा रंग दलेर मनाए होली


लमजुङमा विदेशी पर्यटकले एकापसमा रंग दलेर होली पर्व मनाएका छन्। अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङको सदरमुकाम बेसीशहरमा रंग दलेर शुभकामना साटासाट गरि होली मनाएका हुन् ।

फ्रान्सबाट नेपाल घुम्न आएकी इभानले पनि होली पर्व रमाइलो लागेको बताइन् । उनले भनिन् 'आफूले दुई तीन वर्षदेखि नेपालीहरुसँगै रंग दलेर नेपालमै होली मनाएको छु।' नेपालीले मनाउने होली पर्व पछिल्लो समय विदेशी पर्यटकले पनि मनाउन थालेको बेसीशहरका दिपक तिमिल्सिना बताउँछन् ।

उनी भन्छन् 'यसवर्षको होली विदेशीसँग पनि रंग दलेर एकापसमा शुभकामना साटेर मनाउन पाइयो ।' अन्नपूर्ण पदमार्गमा अहिले दैनिक ३०/४० जना विदेशी पर्यटक घुम्न आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले बताए। पदमार्गमा विशेषगरि इजरायल, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, बेलायत र अमेरिकाका पर्यटकहरू आउने गरेको एक्यापको तथ्याङ्कमा उल्लेख छ। लमजुङ सदरमुकाम बेसीशहर अन्नपूर्ण पदमार्गको प्रवेशद्वारको रुपमा चिनिन्छ।

बेसीशहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत हुँदै मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङ पास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदयात्रा मार्गको यात्रा पूरा हुन्छ। लमजुङको सदरमुकाम वेसीशहरवाट सुरु हुने अन्नपूर्ण पदमार्गको यात्रा मनाङ हुँदै थोराङपास र मुक्तिनाथ, जोमसोम, बेनी अथवा घोडेपानीबाट पोखरा पुगेर टुङ्गिन्छ।

Logo