नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतीय नागरिक मोन्टी देसाईलाई नियुक्त गरेको छ । प्रशिक्षक देसाई शनिबार नेपाल आइपुगेका छन् । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा नेपाल, स्कटल्यान्ड र नामिबिया सम्मिलित एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजलाई लक्षित गर्दै क्यानले देसाईलाई प्रशिक्षकमा नियुक्त गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फागुन २ देखि ९ गतेसम्म हुने सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा समेत बोलाइसकेको छ । तर देसाई प्रशिक्षकको रुपमा नेपाल आइसकेको भएपनि क्यानले भने उनलाई सार्वजनिक रुपमा प्रशिक्षक नियुक्त भएको घोषणा भने गर्न सकेको छैन ।
तर राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भने देसाईलाई मुख्य प्रशिक्षकको रुपमा नियुक्तिको लागि अहिलेसम्म अनुमति दिएको छैन । जसका कारण क्यानले औपचारिक रुपमा देसाईको नियुक्तिबारे जानकारी गराउन असमर्थ भएको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले देसाईको नियुक्तिका लागि अनुमति दिएपनि श्रम स्वीकृतिका लागि सहज हुने अपेक्षासहित क्यानले राखेपको अनुमति मागेको थियो । तर राखेपले भने अहिलेसम्म अनुमति दिएको छैन । तर देशाइ आइतबार बिहानै
कीर्तिपुर स्थित टीयू क्रिकेट मैदानमा नेपाली टिमको प्रशिक्षणमा सामेल भएका छन् । देशाइले पहिलो दिन नेपाली क्रिकेट टोलीको कप्तान रोहित पौडेलसँग टिमबारे जानकारी लिँदै खेलाडीलाई नेट अभ्यास गराए । राखेपले केही दिनपछि बोर्ड बैठक राखेर प्रशिक्षकको नाम खेलकुद मन्त्रालयमा बुझाएपछि मात्र औपचारिक रुपमै देशाई नेपाली क्रिकेटको प्रशिक्षक बन्नेछन् ।
को हुन् मोन्टी देसाई ?
सन् १९६८ मा जन्मिएका मोन्टीले एकदिवसीय र टेस्टमा इंग्ल्यान्डविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका थिए । खेल करियर सकेपछि मोन्टी प्रशिक्षक बनेका हुन् । यसअघि नै बलियो एसोसिएट देशको प्रशिक्षक बनिसकेका देशाईले टेस्ट राष्ट्र वेस्ट इन्डिजको टिमलाई पनि प्रशिक्षण दिइसकेका छन् ।
देशाई सन् २०१९ बाट सन् २०२२ को अन्तिमसम्म वेस्ट इन्डिजको ब्याटिङ कोचको रुपमा कार्यरत थिए । उनको प्रशिक्षणमा निकोलस पुरन र सिम्रन हेट्मायरले निकै राम्रो प्रदर्शन गरेका थिए । उनको समयमा वेस्ट इन्डिजले राम्रो ब्याटिङ गर्दै आएको थियो । मोन्टीसँग नेपालको निकट प्रतिद्वन्द्वी यूएईको टिमलाई पनि प्रशिक्षण गराएको अनुभव छ । उनी सन् २०१८ देखि सन् २०१९ को जुलाईसम्म क्यानाडाको मुख्य प्रशिक्षक रहेका थिए । त्यति मात्र होइन, उनले अफगानिस्तान टोलीको ब्याटिङ प्रशिक्षकको पद पनि सम्हालिसकेका छन् । आईपिएलमा गुजरात लायन्स क्लबमा पर्र्फमेन्स प्रशिक्षकको रुपमा पनि मोन्टीले काम गरिसकेका छन् । त्यसअघि उनले सन् २००८ देखि सन् २०१५ मा आईपिएलको टिममा सहायक प्रशिक्षकको काम गरेका थिए ।
देसाईको नेपाल अनुभव
सन् २०१७ मा नेपालले एसीसी अन्डर–१९ एसिया कपमा भारतलाई १९ रनले हराउँदै इतिहास रचेको थियो । जुन नेपाली क्रिकेट इतिहासमै भारतलाई हराएको पहिलो खेल थियो । नेपालले भारतलाई हराउँदा मोन्टी नेपालका ब्याटिङ सल्लाहकार थिए । नेपाली यू–१९ टोलीले खराब प्रदर्शन गरेपछि मोन्टीलाई ब्याटिङ सल्लाहकारको रुपमा भित्र्याइएको थियो । नेपालले त्यो प्रतियोगितामा सानदार प्रदर्शन गर्दै २ खेलमा जित र २ खेलमा हार बेहोर्दै सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । मोन्टीले नै यू–१९ मा प्रशिक्षण दिएका त्यस बेलाका दीपेन्द्रसिंह ऐरी, आसिफ शेख र रोहित पोडैल अहिले सिनियर टोलीको प्रमुख ब्याट्म्यान हुन् । नेपालले २०१४ मा बंगलादेशमा भएको आइसीसी टि–२० विश्वकप पहिलो पटक खेल्दा उनी टोलीमै रहेका थिए । पछिल्लो एक दशकदेखि देशाईले नेपाली क्रिकेटलाई निकै नजिकबाट नियालिरहेका छन् ।
ब्याटिङ मोन्टीको विशेषज्ञता र नेपाली खेलाडीको कमजोरी हो । खराब ब्याटिङकै कारण नेपालले धेरै अवसर गुमाएको सबैलाई थाहा भएकै विषय हो । रन बनाउन नसकेकै कारण नेपाली टोली टी–ट्वेन्टी विश्वकपमा छनोट हुनबाट चुकेको थियो । यस्तै लिग टू मा पनि नेपालले २४ खेल खेलिसक्दा जम्मा ८ खेलमा मात्र जित हात पार्दै तालिकाको छैटौं स्थानमा समेटिएको छ ।
अब नेपालले एकदिवसीय मान्यता बचाउन खेल्न बाँकी रहेका १२ खेलमध्ये ९ खेलमा जित निकाल्नै पर्ने दवाव छ । घरेलु मैदानमा आगामी फागुन महिनामा हुने लिगमा मोन्टीको परीक्षा हुनेछ । दुई गुटमा विभाजित राष्ट्रिय टोली, पूर्वप्रशिक्षक प्रभाकरले औल्याएको अनुशासनको विषय र अहिले सतहमा आएको फिक्सिङ प्रकरणले भने सफलताको लक्ष्य भेटाउन मोन्टीलाई त्यति सहज भने छैन ।





























प्रतिक्रिया