महासंघकाे निर्वाचनमा के गर्न पाइन्छ, के गर्न पाइँदैन ? [भिडियाेसहित]

महासंघकाे निर्वाचनमा के गर्न पाइन्छ, के गर्न पाइँदैन ? [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५७औं वार्षिक साधारणसभा काठमाडौंमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज एक कार्यक्रमबीच साधारणसभाको उद्घाटन गरेका हुन् ।

बुधबारसम्म चल्ने साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ ।

महासंघको निर्वाचन समितिले सबै उम्मेदवारलाई मतदान अबधिमा कुनै पनि भड्किलो कार्य नगर्न निर्देशन दिएको छ । मतदान केन्द्रभित्र कुनै पनि उम्मेदवार वा समूहको फ्लेक्स, ब्यानर टाँस्न र भड्किलो प्रदर्शन गर्न पाइने छैन । मतदान गर्न जाँदा मत संकेत गर्ने कोठामा मोबाइल, क्यामेरा, सलाइ, लाइटर, प्रज्वलनशील पदार्थ र तरल पदार्थ लैजान निषेध गरिएको छ । 

मतदान गर्न जाँदा मुख्य प्रतिनिधि परिचय पत्रका साथै आफ्नो परिचय खुल्ने फोटो सहितको परिचयपत्र अनिवार्य साथमा लैजानु पर्नेछ । 

मतगणना स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला गरेमा हलबाहिर पठाइने निर्वाचन समितिको कार्यालयले स्पष्ट पारेको छ । मतदान र मतगणना स्थलमा वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारले तीन–तीन जना प्रतिनिधि राख्न सक्नेछन् ।

जिल्ला–नगर तथा वस्तुगत संघ समूहका लागि १–१ वटा मतदान केन्द्र बनाइएको छ । यस्तै एसोसिएटका लागि ३ वटा मतदान केन्द्र कायम गरिएको निर्वाचन समितिको कार्यालयले जनाएको छ । जिल्ला–नगर समूहका सबै पदका लागि रातो रंगको मतपत्र, वस्तुगत समूहका सबै पदका लागि निलो रंगको मतपत्र र एसोसिएट समूहका सबै पदका लागि सेतो रंगको मतपत्र निर्धारण गरिएको छ । प्रदेश सदस्य र संस्थागत समूह सदस्य पदको मतपत्र पहेँलो रंगको रहेको निर्वाचन समितिले जनाएको छ ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने मतदान बुधबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म चल्नेछ । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्षका कुनै पनि उम्मेदवारले निर्वाचित हुन पहिलो चरणमा ५० प्रतिशत मत ल्याउनपर्छ । विधानअनुसार ५० प्रतिशत मत ल्याउन नसके दोस्रो चरणको मतदान चैत ३० गते बिहान ११ बजेदेखि ५ बजेसम्म हुने महासंघले जनाएको छ ।

Logo