काठमाडौंको चाबहिलस्थित सरस्वतीनगरकी भाँडा पसल सञ्चालिका ३५ वर्षीया नीरा पाण्डे आचार्यको बैशाख ७ गते हत्या भयो । उक्त हत्यामा संलग्न एक आशंकित व्यक्तिको तस्बिर समेत फेला पर्यो । तर, ती व्यक्ति को हुन् ? एक्लै वा समूहमा थिए ? हतियार व्यवस्थापनको अवस्था के हो ? जस्ता कुरा खुल्न नसकेको प्रहरीको भनाई छ ।
घटनास्थलमा सिसिटिभी रेकर्ड नभएको, सडकमा जडित सिसिटिभीले घटनास्थलका दृश्य नदेखाएका कारण घटनाको अनुसन्धान जटिल भएको प्रहरीको भनाई छ । हत्यारा पक्राउको माग गर्दै दैनिकजसो सरस्वतीनगरमा आफन्त तथा छिमेकीहरुले प्रदर्शन गरिरहेका छन् । प्रहरीले भने सुक्ष्मरुपमा अनुसन्धान भइरहेको र तत्काल कुनै प्रतिकृया दिने अवस्थामा नपुगेको बताएको छ ।
कसरी भयो घटना ?
बिहीबार नीरा पसलमा एक्लै थिइन् । भाँडा पसलको पछाडि अलि भित्र काउन्टर छ । प्रायः पसलमा ग्राहक नआएका बेला उनी त्यतै बस्थिन् । त्यही बेला नै एकान्तको छेको पारेर उनीमाथी आक्रमण भएको देखिन्छ । पसलको अघिल्लो भागमा छिमेकीले देख्ने भएकाले भित्र गएका बेला पारेर नै आक्रमण भएको प्रहरीको अनुमान छ । काउन्टर पछाडि भएकाले वरपरसमेत घटनाबारे थाहा हुन सकेन । दर्दनाक हत्याको कसैले सुइँको समेत पाएनन् ।
प्रहरीका अनुसार त्यस समय एकजना चिनजानकै महिला उधारो तिर्न पसलमा आएकी थिइन् । पसलमा नीरालाई देखिनन् । त्यसपछि उनका श्रीमान्लाई फोन गरेर कोही छैन दोकानमा भनेर सोधिन् । श्रीमानले पछाडि काउन्टर छ, त्यतैतिर होलिन् भित्र गएर हेर्नु न भन्ने जवाफ दिए । भित्र काउन्टर नजिक गएर हेर्दा एउटा बोरा देखियो । अलि नजिक गएर हेर्दा रगक्ताम्मे अवस्थामा नीरा ढलिरहेकी देखेपछि अत्तालिएर उनले नै प्रहरीलाई खबर गरेकी थिइन्।
प्रहरीका अनुसार नीराको शरीरमा धारिलो हतियार (चक्कु) ले विभिन्न ठाउँमा घोचेको, ठाउँठाउँमा छियाछिया हुने गरी काटेको, हातमा कोपिएको पनि छ । उनले प्रतिकार गर्न खोजेकोसमेत देखिएको अनुसन्धानमा खटिएका प्रहरीको भनाई छ । यसअघिका चक्कु प्रहार भएका घटनामा सिधै घाँटीमा हान्ने, वा अन्य संवेदनशील अंगमा पुग्ने गरी धारिलो हतियार प्रहार भएका पाइने गरेको थियो । तर, नीराको हत्या फरक प्रकृतिले गरिएको प्रहरी बताउँछन् । ठाउँठाउँमा चक्कु हानेर तड्पाएर हत्या गरिएको जस्तो देखिएको छ । रगत बढी आउने ठाउँ खोजेर चक्कु हानिएको छ ।
प्रहरीका अनुसार नीराले पसलबाट राम्रो आम्दानी हुन थालेपछि तीन सय मिटरको दूरिमा अर्को पसल पनि खोलेकी थिइन् । घटना भएको दिन उनका श्रीमान् त्यही पसलमा थिए । नीराले घटना हुने केही घण्टा अघि मात्र आफ्नो पसलमा लामखुट्टे धपाउने ब्याट आएको प्रचार गर्न बनाएको भिडियो हेर्दा पारिवारिक समस्या भए जस्तो नदेखिने अनुसन्धान अधिकृतहरु बताउँछन् । प्रहरी स्रोतले व्यवसायिक रुपमा अपराध गर्नेहरुबाटै घटना भएको अनुमान गरेको छ । आफ्नै व्यवसायमा तल्लीन नीरालाई केही घण्टामै आफ्नो जीवन समाप्त हुँदैछ भन्ने के थाहा । त्यस दिन बिहान ११ बजेर २१ मिनेटमा नीराले फेसबुकमा ‘लामखुट्टे तथा किरा धपाउने ब्याट चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला’ शीर्षक राखेर टिकटकको भिडियो राखेकी थिइन् ।
तर, विडम्बना उनले डेंगुबाट बच्न दिएको सार्वजनिक सन्देश नै अन्तिम भयो । पाण्डेको हत्या प्रकरणमा अनुसन्धानमा ढिलाइ भएको भन्दै पीडित परिवार र आफन्त तथा व्यावसायीहरुले आन्दोलन गर्न थालेका छन् । निरा पाण्डे आचार्य हत्या घटनाका दोषीको अझै पहिचान हुन सकेको छैन । दोषी पत्ता नलाग्दा स्थानीयवासी आक्रोशित भएर आन्दिोलित बनेका हुन् ।





























प्रतिक्रिया