च्याम्पियन्स लिग फाइनलः अपराजित सिटीलाई रोक्ला त मिलानले ? [भिडियाे]

च्याम्पियन्स लिग फाइनलः अपराजित सिटीलाई रोक्ला त मिलानले ? [भिडियाे]


युरोपकै सबैभन्दा प्रतिष्ठित क्लवहरुको महायुद्ध अर्थात च्याम्पियन्स लिगको फाइनल खेल आज राति टर्कीको इस्तानबुलमा हुँदैछ । जारी सिजन सो लिगको ट्रफीका लागि इङ्लिस क्लब म्याचेष्टर सिटी र इटालियन क्लब इन्टर मिलान आपसमा भिड्दै छन् । 

७८ क्लबहरुलाई उछिन्दै फाइनलसम्मको यात्रा तय गरेको प्रिमियर लिग विजेता म्यानचेष्टर सिटी र इटालियन जाइन्ट इन्टर मिलानले आज राति १२ः४५ मा ७५ हजार दर्शकअघि युरोपकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । 

समूह चरणबाटै आक्रामक खेल प्रदर्शन गरिरहेको सिटीले बलियो रक्षात्मक खेल खेल्दै आइरहेको इन्टरलाई फाइनलमा प्रतिद्वन्द्वीका रुपमा पाएको छ। इङ्लिस पावरहाउस म्यानचेष्टर सिटीले गत सिजन लिग च्याम्पियन बन्दै च्याम्पियन्स लिगमा स्थान बनाउँदा अर्कोतर्फ इटालियन जायन्ट इन्टर मिलान लिगमा दोस्रो हुँदै च्याम्पियन्स लिगका लागि छनौट भएको थियो । इन्टरले समूह चरणमा जर्मन क्लब बार्यन म्युनिखलाई पराजित गरेको थियो । यस्तै राउण्ड अफ १६ र सेमिफाइनलमा १ गोल पनि नखाएको इन्टरले क्वाटरफाइनलमा भने बेन्फिकाविरुद्ध दोस्रो लेगमा ३ गोल खाएको थियो । समग्रमा इन्टरले क्वाटरफाइनलमा बेन्फिकाविरुद्ध ५–३ गोल अन्तरको जित हासिल गरेकोे थियो । 

च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानको उपस्थितिले युरोपियन क्लबहरुका सामु इटालियन फुटबलको वर्चस्व स्थापित गर्न सफल भएको छ । इटालियन क्लब युभेन्टसले ७ वर्षअघि च्याम्पियन्स लिगको फाइनल खेलेको थियो । यस्तै, अर्को इटालियन क्लब इन्टरले १२ वर्षअघि सन् २०१० मा जोसे मोरिन्होको नेतृत्वमा बायर्न म्युनिखलाई पराजित गर्दाे च्याम्पियन्स लिगको उपाधि जितेको थियो । 

यसरी हेर्दा पछिल्लो केही वर्ष च्याम्पियन्स लिगमा इटालियन क्लबहरुको अस्तित्व हराएकै बराबर थियो । तथ्याङ्कलाई हेर्ने हो भने युभेन्टसलगायत अन्य इटालियन क्लबहरू च्याम्पियन्स लिगका लागि छनौट भए पनि अन्य युरोपियन क्लबहरुका सामु कमजोर प्रदर्शन देखाउँदै आएका छन् । सोही कारण जारी सिजन इन्टरले पाएको उपलब्धिलाई निकै ठुलो महत्वका साथ हेरिएको छ ।  

यस्तै, अर्कोतर्फ म्यानचेस्टर सिटीले फाइनलसम्मको यात्रा तय गर्दा कुनै खेलमा हार व्यहोरेको छैन । उसले आरामसँग आफ्नो समूहमा जित हात पारेको थियो ।  जहाँ सिटीले बोरुसिया डर्टमन्ड, सेभिया र कोपेनहेगनलाई पराजित गरेको थियो । समूह चरणको एक खेल बाँकी छँदै राउन्ड अफ १६ मा प्रवेश गरेको सिटीले जर्मन क्लब लाइपजिगलाई दुबै लेगमा गरी सात गोल गर्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो । अन्तिम आठमा बायर्न म्युनिखलाई प्रतिद्धन्द्धीका रुपमा पाएको सिटीले घरेलु मैदानमा ३–० गोल गर्दै समग्रमा ४–१ गोलअन्तरले पाखा लगाउँदै सेमिफाईनलको यात्रा तय गरेको थियो ।

सेमिफाइनलमा सिटीले अघिल्लो वर्षको डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडलाई दुबै लेगमा गरी समग्रमा ५–१ गोलले हराउँदै फाइनल प्रवेश गरेको छ । यसरी दुबै क्लबको समुह चरणदेखि फाइनलसम्मको यात्राको समीक्षा गर्दा म्याचेष्टर सिटीले इन्टर मिलानको दाँजोमा बलियो देखिन्छ । सोही कारण सिटीले फाइनलमा जादूमय प्रदर्शन गर्नेमा उसका समर्थक आशावादी छन् ।   

अहिलेसम्म च्याम्पियन्स लिगको उपाधि जित्न नसकेको म्यानचेस्टर सिटीले पहिलो पटक युरोपियन कप जित्ने ठुलो अवसर प्राप्त गरेको छ । इन्टर मिलानले यो उपाधि तीन पटक उचालिसकेको छ ।  

सन् २००५ मा इन्टर मिलानले च्याम्पियन्स लिगको फाइनलमा अर्को इङ्लिस क्लब लिभरपुलको सामना इस्तानबुलको अतातुर्क स्टेडियममा नै गरेको थियो । सो खेलमा इन्टर मिलान लिभरपुलसँग पेनाल्टी सुटआउटमा पराजित हुन पुग्यो । त्यही हारको बदला लिने उद्देश्यसहित इन्टर सिटीलाई फाइनलमा हराउन हरसम्भव प्रयास गर्नेछ । त्यस्तै सिटी पनि पहिलो पटक युरोपियन कप जित्ने मौकालाई कुनै पनि हालतमा गुमाउन चाहँदैन । के म्यानचेस्टर सिटीले अन्ततः पहिलो युरोपेली कप जित्ला वा इन्टर मिलानले आफ्नो शानदार इतिहासमा अर्को ट्रफी थप्ला ? यस प्रश्नको जवाफका लागि फाइनल खेलकै नजिता पर्खिनुपर्ने छ । 

Logo