१५ दिनको पर्यटक भिसामा नेपाल आएका ज्याक माको भ्रमण तालिका किन खुलाइएन ?[भिडियाेसहित]

१५ दिनको पर्यटक भिसामा नेपाल आएका ज्याक माको भ्रमण तालिका किन खुलाइएन ?[भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

चिनियाँ कम्पनी अलिबाबा ग्रुपका मालिक तथा चिनियाँ धनाढ्य ज्याक मा यो बेला काठमाडौंमा छन्। हङकङको जेट एभिएसन बिजनेस जेटको बोइङ ७३७ म्याक्स चार्टर्ड जहाजमा उनी बंगलादेशको ढाकाबाट मंगलबार दिउँसो उनी काठमाडौं ओर्लिएका हुन्। 

तर ज्याक माको काठमाडौं भ्रमणको उद्देश्यबारे कसैले केही बोलेका छैन। १५ दिने टुरिस्ट भिसामा नेपाल आएका उनी कति दिन नेपाल बस्छन्? कसकसलाई भेट्छन् भन्ने यकिन कुरा न परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेका छ न काठमाडौंमा रहेको चिनियाँ दूताबासले नै केही कुरा बाहिर ल्याएको छ।

कुनै तालिका सार्वजनिक नभए पनि उनले प्रधानमन्त्री पुष्पकमल दाहालसहित केही दलका शीर्ष नेतालाई भेट्ने कार्यतालिका रहेको स्रोतको भनाइ छ।

को हुन् ज्याक मा ?

१० सेप्टेम्बर १९६४ मा चीनको हाङ्जाउमा जन्मिएका ज्याक मा बाल्यकालदेखि नै अंग्रेजी भाषाप्रति लगाव राख्थे। त्यसकै कारण उनी नौ वर्षको हुँदा टुरिस्ट गाइड गर्न २७ किलोमिटर साइकल चलाएर जान्थे। सोही पेसाले चिनियाँ भाषामात्रै प्रयोग हुने चीनभरी ज्याक अंग्रेजी जान्ने व्यक्तिका रुपमा प्रख्यात बने।
 
ग्य्राजुएसनपछि ज्याक माले अंग्रेजी शिक्षकका रूपमा करिअर सुरु गरे। जागिरका लागि ३० पटकभन्दा बढी आवेदन दिँदा पनि उनी सफल बनेनन्। केही सीप नलागेपछि प्रहरीमा भर्ती हुने उनको कोसिस पनि व्यर्थ भयो।

कतिसम्म भने एकपटक चीनमा खुलेको केएफसीको ब्रान्चमा जागिरका लागि ज्याक माले अन्तर्वार्ता दिए। तर, २४ जनामध्येबाट २३ जना छनोट भए, उनी मात्रै फालिए। 

सन् १९९५ मा ज्याक मा आफ्ना केही साथीसहित अमेरिका पलायन भए। त्यहाँ पुगेपछि उनले इन्टरनेटमा चीनबारे सामग्री खोजे। आफूले खोजेको चिज नभेटेपछि पुनः चीन फर्केर इन्टरनेट कम्पनी सुरु गरे। यसमा तुरुन्तै लगानी जुट्यो। ज्याक आफैँलाई कम्प्युटरबारे खासै जानकारी थिएन। 

तर, ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेझैँ उनले अनलाइन बिजनेस थाले। सन् १९९९ मा उनले साथीहरूसँग मिलेर ई–कमर्स कम्पनी अलिबाबाको स्थापना गरे। त्यसको सुरुवाती चरणमा चिनियाँ नागरिकले उनलाई ठग भन्ठाने। तर, बिस्तारै इन्टरनेटको विस्तारबाट अलिबाबाको कारोबार बढ्न थाल्यो।

सन् २०१४ मा अलिबाबाले अमेरिकामा २५ अर्ब डलरको आइपिओ ल्यायो। र, विश्वको मूल्यवान् कम्पनीको सूचीमा सूचीकृत भयो। यो अमेरिकी इतिहासकै सबैभन्दा ठूलो आइपिओ थियो।

विश्वकै सर्वाधिक ठूलो ई–कमर्स कम्पनी अलिबाबा समूहका संस्थापक ज्याक माले आफ्नो ५५औँ जन्मदिनका अवसर (१० सेप्टेम्बर २०१९) मा कम्पनीको अध्यक्षको पदबाट राजीनामा दिएका थिए।

त्यतिवेला अमेरिका–चीन करयुद्धले व्यवसायमा पारेको प्रभावका कारण नै उनले अध्यक्ष पदबाट राजीनामा दिएको बताइएको थियो। 

सन् २०२० मा चीन सरकारको आलोचना गरेपछि ज्याक मा सार्वजनिक जीवनबाट हराएका थिए। उनले चीनको वित्तीय नियम र सरकारी बैंकको विषयमा भाषण दिने क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङको आलोचना गरेका थिए।

यो भाषणपछि चिनियाँ कम्युनिस्ट पार्टीले विरोध गरेको थियो। उनको भाषणलाई पार्टीमाथिको हमलासमेत भनिएको थियो। त्यसपछि उनको व्यापारमा अवरोधसमेत हुन थालेको थियो। पछि उनी जापानमा देखिएका थिए। काठमाडौं उत्रिएका दिन ज्याक माको कुल नेटवर्थ ३३ अर्ब ६० करोड डलर छ। ब्लुमबर्ग बिलिनियर इन्डेक्सका अनुसार उनी विश्वका शीर्षस्थ धनाढ्यको सूचीमा ३९औँ स्थानमा छन्। 

Logo