लक्ष्मी पूजा विशेषः महाकवि देवकोटालाई बुझ्न चाहनेहरुले के-के पाउँछन् संग्रहालयमा ? [भिडियाेसहित]

लक्ष्मी पूजा विशेषः महाकवि देवकोटालाई बुझ्न चाहनेहरुले के-के पाउँछन् संग्रहालयमा ? [भिडियाेसहित]


महाकवि लक्ष्मीप्रसाद देवकोटाले १० वर्ष बिताएको काठमाडौं महानगरपालिका–३० मैतीदेवीस्थित घर, जुन घरलाई नेपाल प्रज्ञा प्रतिष्ठानले संग्रहालयको रुपमा परिणत गरेको छ । जहाँ महाकविलाई बुझ्न चाहनेहरुका लागि उनका जीवनकालसँग जोडिएका हिस्साहरु राखिएका छन् ।

करिब एक रोपनी एक दाम जग्गासहितको तीन तले घर निर्माण गरी नेपाल प्रज्ञा प्रतिष्ठानले कविकुञ्जलाई संग्रहालयका रूपमा स्थापित गरेको हो। गत वर्ष सात करोड ११ लाख रुपैयाँ लागतमा स्थापना भएको ‘महाकवि संग्रहालय’ महाकविलाई बुझ्न चाहने नयाँ पुस्ता र उनको सम्झनामा रमाउन चाहने पुराना पुस्ताका लागि केन्द्र बनेको छ ।

संग्रहालय प्रवेशद्धार अनि प्राङ्गणमा राखिएको महाकविको पूर्ण कदको सालिक देख्नेबित्तिकै अवलोकर्ताहरुलाई महाकविको समिपमा पुगेको आवास दिलाउँछ । त्यसबाहेक कम्पाउन्डलाई आकर्षक बनाउन पानी कल–कल बगिरहेको धारा, महाकवि संग्रहालयमा प्रवेश गर्दा प्राकृतिक परिवेशमा प्रवेश गरेको अनुभूति हुन्छ । 

संग्रहालय प्रवेश गर्नेबित्तिकै भुइँतलामा महाकवि देवकोटाका तस्बिरहरूसहित अन्तिम अवस्थामा अस्पतालको शैय्याबाट बाचन गरेका कविताका अंश र अन्तिम अवस्थामा उनले श्रीमतीलाई भनेका कुरा सहितको श्रव्यदृश्य सामाग्रीहरु राखिएका छन् । जसले महाकवि देवकोटाको समिपमा पुगेको अवलोकनकर्ताहरुले आभास पाउँछन् ।

भवनको पहिलो तलामा महाकवि देवकोटाले आफ्नो जीवनकालमा प्रयोग गरेका पोशाक, झोला केही घरायसी सामग्री कविता वाचन गदैँ गरेको सालिक राखिएको छ ।साथमा उनीसँग जोडिएका आफन्त, समकालीन कविहरु र उनका यात्राका फोटाहरु राखिएका छन् ।साथमा दोस्रो तलामा देवकोटाका पुस्तकहरू, देवकोटाले लेखेका कृतिहरूका साथै उपलब्ध भएसम्मका पाण्डुलिपिहरू राखिएका छन् ।

त्यस अतिरिक्त भवनको माथिल्लो तलामा विमर्श कक्षको व्यवस्था गरिएको छ ।त्यहाँ महाकवि देवकोटा संग्रहालयको अवलोकन गरिसकेपछि वा त्यहाँ रहेकोपुस्तकालयमा गएर देवकोटाका बारेमा बुझ्ने प्रयास गरेका व्यक्तिहरूका बीचमा विमर्श वा अन्तक्रिया गर्ने व्यवस्था गरिएको छ ।

संग्रहालय तयार भएसँगै महाकवि देवकोटालाई बुझ्न चाहनेहरुका लागि सहज भएको छ । संग्रहालयमा विशेषगरी विद्यार्थी, उनलाई बुझ्न चाहने, उनको सम्झनागर्ने साथमा साहित्य मनपराउनेहरु पुग्ने गर्छन् ।

महाकवि देवकोटा मुलुकका यस्ता साहित्यिक हस्ती हुन्, जसको चर्चा नेपालमा मात्रै होइन्, विश्वका विभिन्न मुलुकहरूमा पनि हुँदै आएको छ । नेपालीहरुका लागि मात्र नभई महाकवि संग्रहालय भारतलगायतका मूलुकहरुबाट आउने पर्यटकहरुको लागि पनि एउटा दर्विलो साहित्यिक तीर्थस्थल बनेको छ ।

लक्ष्मीप्रसाद देवकोटाको संग्रहालय बनेसँगै उनका परिवारका सदस्यपनि खुसी देखिन्छन् । संग्रहालयमा महाकविदेवकोटाको व्यक्तित्व, कृतित्व र जीवनसँग सम्बद्ध यावत् पक्ष समेटिएको छ । साहित्यमा रुचि राख्ने मात्रै हैनन्, हरेक मानिस, जसले देवकोटा पढेका छन्, देवकोटालाई सुनेका छन्, अझ विस्तृतमा बुझ्न चाहन्छन्। उनीहरुका लागि महाकवि देवकोटालाई बुझ्ने पाठशाला बनेको छ, संग्रहालय ।

Logo