त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा २१ दिनको मात्र सीसीटीभी फुटेज स्टोरेज
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा २१ दिनको मात्र सीसीटीभी फुटेज स्टोरेज हुने गरेको भेटिएको छ। तर, नेपालको कानूनअनुसार ३ महिनाको सीसीटीभी फुटेज सुरक्षित राख्नुपर्ने व्यवस्था छ।
मंसिर २१ गते दुबईबाट नेपाल तस्करी भएर आएको १४ किलो सुनको अध्ययन गर्ने क्रममा भन्सार कार्यालयमा २१ दिनको मात्रै सीसीटीभी फुटेज भेटिएको हो। सो दिन पक्राउ परेको गिरोहले १ सय ३८ केजी सुन नेपाल भित्र्याइसकेको पाइएको छानबिन समितिको निष्कर्ष छ।
सांसद पदको निलम्बन फुकुवा गर्न लक्ष्मी महतो कोइरीले दिए निवेदन
नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले जनता र विकासको मुद्दा संसदमा दह्रोसँग उठाउने बताएका छन्।
सांसद पदको निलम्बन फुकुवा माग गर्दै आइतबार संघीय संसद सचिवालयमा निवेदन दिएपछि सञ्चारमाध्यममाउनले भने, ‘निर्वाचित भएर पनि यस अगाडि सदनमा भूमिका देखाउने अवस्था बनेन्। अदालतले न्याय दिलाएको छ। निलम्बन फुकुवाको लागि संसद सचिवालयमा निवेदन दिएको छु।’
सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसला बहस सकिएन
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसला बहस आज सकिएन। जाहेरीकर्ताको तर्फबाट चार जना वकिलको बहसपश्चात न्यायाधीश शिशिरराज ढकालले मुद्दालाई हेर्दाहेर्दैमा राखेका छन्।
सात महिनादेखि सर्दै आएको सन्दीपको मुद्दाको फैसला बहस आज सुरु भएको हो। अब यसले निरन्तरता पाउने छ। भोलि र पर्सि सार्वजनिक बिदा भएकाले अबको सुनुवाइ बुधबार हुनेछ।
विद्युतको बक्यौता उठाउन उद्योगीहरुको लाइन काटेकोप्रति ओलीको असन्तुष्टि
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विद्युतको बक्यौता उठाउन उद्योगीहरुको लाइन काटेकोप्रति असन्तुष्टि जनाएका छन्।मध्यपहाडी यात्राका उपलब्धिबारे जानकारी गराउने क्रममा उनले भने,‘सरकारले डेडिकेटेड लाइनको नाममा पुरानो बिलअनुसार असुल गर्न खोज्दैछ।
डेडिकेडेट लाइन जोडेर बिजुली दिएको छैन भने केको पैसा तिर्ने? उद्यमी व्यवसायी तड्पिरहेको समयमा लाइन काटेर विद्युत बन्द गर्ने काम उचित होइन।
क्रिसमस मनाउन ३ दिन सार्वजनिक बिदा दिने निर्णय
मकवानपुरको राक्सिराङ गाउँपालिकाको क्रिसमस मनाउन ३ दिन सार्वजनिक बिदा दिने निर्णय छ। सो गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै इसाई धर्मावलम्बीहरुको महान पर्व क्रिसमस मनाउन ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
गाउँपालिकाले आइतबारदेखि मंगलबारसम्म सार्वजनिक बिदा दिने निर्णय गर्दै सो अवधिभर गाउँपालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, शिक्षण संस्था, सरकारी कार्यालय एवम् बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने जानकारी दिएको छ।
नौ किलोको एउटै काउली
बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीको खत्री एग्रो फार्ममा नौ किलोको एउटै काउली फलेको छ।
विसं २०६६ मा एउटा प्लाष्टिक टनेलबाट तरकारी खेती थालेका बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका खत्री यतिबेला यस क्षेत्रकै सफल कृषकमा गनिन्छन्।
विसं २०६६ सालअघि ज्यालामजदुरी गर्दै आएका खत्रीको कृषि क्षेत्रको लगाव, मेहनत र निरन्तरताका कारण अहिले १८ रोपनी जग्गामा फैलिएको तरकारी फार्मको मालिक भएका छन्।
उनको फार्ममा यसपटक नौ किलोको एउटै काउली फलेको छ। खत्रीको अहिले सानाठूला गरी आठ प्लाष्टिक टनेलमा तरकारी खेती छ।
सेयर बजार परिसूचक नेप्से २१ सयभन्दा तल
साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से २१ सयभन्दा तल झरेको छ। अघिल्लो दिनको तुलनामा नेप्से २१ अंक घटेर २०८८ मा कायम भएको हो।कारोबार रकम भने करिब १ वर्षकै उच्च भएको छ।
दिनभर कुल ७ अर्ब ११ करोडको कारोबार भयो। यो कारोबार रकम २६ पुस २०७९ यताकै उच्च हो। यसअघि बिहीबार ६ अर्ब २७ करोडको कारोबार भएको थियो।
७९ कम्पनीको मूल्य बढ्दा १६१ को घट्यो भने ६ को स्थिर रह्यो। हाइड्रोपावर ०.०८, जीवन बीमा ०.५२, निर्जीवन बीमा ०.५६ र अन्य समूह ०.९७ प्रतिशत बढेको छ।
पुटिनलाई चुनौती दिनेको मनोनयन नै रद्द
रुसमा मार्च हुन लागेको राष्ट्रपति पदको चुनावका लागि उम्मेदवारी दिएकी पूर्व पत्रकार येकातेरिना डुन्त्सोभाको मनोनयन रद्द गरिएको छ। वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनलाई चुनौती दिने अपेक्षा गरिए पनि उनको मनोनयन नै रद्द गरिएको हो।
रुसको निर्वाचन आयोगका अनुसार उनको मनोनयन पत्रमा एक सय भन्दा धेरै गल्ती भएकाले रद्द भएको जनाइएको छ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब
सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लबहरुले पुस १५ गते भित्र आफूले पाउनुपर्ने बक्यौता रकम नपाए अखिल नेपाल फुटबल सङ्घ एन्फाले आयोजना गर्ने कुनैपनि प्रतियोगितामा नखेल्ने चेतावनी दिएका छन्।
क्लबहरुले आइतबार एन्फा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई ध्यानकर्षण पत्र बुझाउँदै एन्फाले आयोजना गर्ने प्रतियोगिता बहिस्कार गर्ने चेतावनी दिएका हुन्।
‘ए’ डिभिजनका ६ क्लब फ्रेन्ड्स, न्युरोड टिम (एनआरटी), सातदोबाटो युवा, मनाङ मर्साङ्दी, चर्च ब्वाइज र खुमलटार युवा क्लबले ध्यानाकर्षण पत्रमा हस्ताक्षर गरेका छन्।





























प्रतिक्रिया