एकैदिनका खबर एकैपटकः प्रधानमन्त्री प्रचण्डले अब आफ्नो कार्यशैली बदल्ने, राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा दुई सिटमा प्रतिस्पर्धा हुँदै [भिडियाेसहित]

एकैदिनका खबर एकैपटकः प्रधानमन्त्री प्रचण्डले अब आफ्नो कार्यशैली बदल्ने, राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा दुई सिटमा प्रतिस्पर्धा हुँदै [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब आफ्नो कार्यशैली बदल्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब आफ्नो कार्यशैली बदल्ने घोषणा गरेका छन्। 

आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्वोधन गर्दै उनले बाहिरका कार्यक्रममा नभइ नीति कार्यक्रम र बजेटको तयारी तथा नीतिगत काममा केन्द्रित हुने बताएका हुन्।

सरकारले एक वर्षमा हासिल गरेको उपलब्धीको विवरण सुनाउँदै प्रचण्डले यो अवधिमा धेरै काम भए पनि आफू पूर्ण सन्तुष्ट नरहेको उल्लेख गरे।

गत वर्षको पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले एक वर्षको अवधिमा भएका मुख्यमुख्य कामका विवरणसहित सुशासन प्रवद्र्धन तथा सामाजिक न्यायको प्रत्याभूति र मुलुकको आर्थिक विकासका निम्ति भएका प्रयास र आगामी कार्ययाजनाबारे जानकारी दिएका छन्।

सडक ढाकेर कार्यक्रम गरेपछि वैद्य माओवादीको मार्चपासमा प्रहरी हस्तक्षेप

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा आयोजित कार्यक्रममा झडप भएको छ।

माओ दिवसको अवसरमा रत्नपार्क शान्ति बाटिकामा आयोजित क्रान्तिकारी युवा संगठनले आयोजना गरेको वृहत लाल मार्चपासका कारण सडक अवरोध भएपछि प्रहरीले बाटो खुलाउन खोज्दा झडप भएको हो।

प्रहरीले सडक खुलाउन खोज्दा कार्यक्रममा सहभागी युवाहरूले अवरोध गरेका थिए। सोक्रममा प्रहरीसँग कुर्सीसमेत हानाहान भएको थियो। केही समय कार्यक्रम बिथोलिएको थियो।  

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा दुई सिटमा प्रतिस्पर्धा हुँदै

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा दुई सिटमा प्रतिस्पर्धा हुँदैछ। खस आर्य १ (रमेशजंग रायमाझी) र खस आर्य महिला १ जना (बिना पोखरेल)को पदावधि आगामी फागुन २० गते सकिँदैछ। 

सोही पदका लागि हुने निर्वाचनमा नेपाली काँग्रेस र नेकपा (माओवादी) केन्द्र कोशी प्रदेश समितिले सम्भावित उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको हो। काँग्रेसले दुई पदका लागि ७० जना उम्मेदवारको नाम सिफारिस गरेको बताएको छ।

जुम्ला विमानस्थलमा यात्रुलाई कोटा प्रणालीमार्फत हवाई टिकट दिइने

जुम्ला विमानस्थलबाट हुने उडानमार्फत् यात्रा गर्ने यात्रुलाई कोटा प्रणालीमार्फत हवाई टिकट दिइने भएको छ। विमानस्थलबाट वितरण गरिने हवाई टिकटमा मनपरी भएको गुनासोपछि बसेको सर्वपक्षीय बैठकले कोटा प्रणाली लागु गर्ने सहमति गरेको हो। 

विमानस्थलमा टिकट वितरण प्रक्रिया पारदर्शी हुनुपर्ने, प्रत्येक वायुसेवा कम्पनीले आपसमा सहकार्य गरेर टिकट वितरण सहज बनाउनुपर्ने, हरेक विमान कम्पनीले १० सिट सर्वसाधारणका लागि उपलब्ध गराउनुपर्ने निर्णय भएको छ।

साढे १ प्रतिशतको सस्तो ब्याजदरमा राष्ट्र बैंकले १ खर्ब २७ अर्ब तरलता उठायो

बजारमा अधिक तरलता हुँदा सस्तो ब्याजदरमा नै केन्द्रीय बैंकले १ खर्ब बढी निक्षेप उठाएको छ। मङ्सिर महिनामा औसत १.५३ प्रतिशत ब्याजदरमा केन्द्रीय बैंकले कूल १ खर्ब २७ अर्ब २५ करोड रुपैयाँ निक्षेप उठाएको हो।

सिन्धुलीमा बिजुलीको पोलमा बाँधेर एक महिलामाथि तीनदिनसम्म निर्घात कुटपिट

सिन्धुलीमा बिजुलीको पोलमा बाँधेर एक महिलामाथि तीनदिनसम्म निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार कमलामाई नगरपालिका वडा नम्बर ४ ढकाल गाउँकी शारदा थापामाथि बिजुलीको पोलमा बाँधेर अमानवीय तरिकाले कुटपिट भएको हो। 

आइतबार अपरान्ह प्रहरी घटनास्थलमा पुगेर प्रहरीले शारदाको उद्धार गरेको थियो। उद्धार पश्चात्, अचेत अवस्थामै फेला परेकी शारदालाई उपचारको लागि सिन्धुली अस्पताल पुर्याइएको थियो। हाल उनका श्रीमान्सहित ७ जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको छ।
 
बिरामीको मृत्यु भएपछि झापाको मनमोहन अस्पतालमा प्रदर्शन

झापाको बिर्तामोडस्थित मनमोहन अस्पतालमा बिरामीको मृत्यु भएको विषयलाई लिएर प्रदर्शन गरिएको छ। अस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल घेराउ गर्दै तोडफोड गर्न खोजेपछि तनाव भएको हो। 

अष्ट्रेलिया क्रिसमसको रातमा भीषण आँधीसहित चट्याङ आउँदा ठूलो दुर्घटना

अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको दक्षिणपूर्वी भागमा क्रिसमसको रातमा भीषण आँधीसहित चट्याङ आउँदा ठूलो दुर्घटना निम्तिएको छ। चट्याङका कारण एक महिलाको मृत्यु भएको छ। सातै आँधीबाट १ लाख २० हजारभन्दा बढी घरहरू बिजुलीविहीन भएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार उल्लेख गरेका छन्।

स्थानीय अखबार द कुरियर-मेल’ का अनुसार सडकमा हिँड्दै गर्दा  रुख ढलेपछि गोल्ड कोस्ट शहरको उपनगर हेलेन्सभेलमा ५० वर्षकी महिलाको मृत्यु भएको थियो।

पर्सालाई हराएको पुलिसको तेस्रो जित

नेपाल प्रो क्लब च्याम्पिनसिपमानेपाल पुलिस क्लबले तेस्रो जित हात पारेको छ। वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा भएको खेलमा आरिफ शेखको कप्तानीमा रहेको पुलिसले सन्दीप लामिछाने सम्मिलित घरेलु टिम पार्सा क्लब ११ लाई २५ रनले पराजित गरेको हो। जितसँगै पुलिस क्लब ६ अंकका साथ दोस्रो स्थानमा छ।

Logo