बिजुली काटिएका उद्योगमा लाइन जोड्न सरकारको निर्देशन, अब कोरियामा कुकुरको मासु खान नपाइने [भिडियाे]

बिजुली काटिएका उद्योगमा लाइन जोड्न सरकारको निर्देशन, अब कोरियामा कुकुरको मासु खान नपाइने [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

सरकारले डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद समाधानका लागि  बनायाे आयोग

सरकारले डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद समाधानका लागि आयोग बनाएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्व-न्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा छानबिन आयोग बनाएको हो।

आयोगमा उर्जा मन्त्रालयका सहसचिव र उद्योग मन्त्रालयका सहसचिव जिवलाल भुसाल सदस्य रहनेछन्। साथै सरकारले उद्योगीहरूको काटिएको विद्युत् लाइन जोड्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ।

सहिद घोषणा भएका र विवरण फरक परेका सहिदहरुको विवरण सच्याउ मन्त्रिपरिषद्काे निर्णय

सरकारले मन्त्रिपरिषद्बाट विभिन्न मितिमा सहिद घोषणा भएका र विवरण फरक परेका सहिदहरुको विवरण सच्याउने निर्णय गरेको छ ।आज बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल राजपत्रमा छुट भएका सहिदहरुको नाम प्रकाशित गर्ने र थप केहीलाई सहिद घोषणा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताएकी छन्।

उनले राष्ट्रिय विकास परिषद्मा नेपाल सरकार मनोनयन हुने विभिन्न जिल्ला समन्वय समिति, स्थानीय तह, विभिन्न पदाधिकारी व्यक्तिहरुबाट २५ जना सदस्यहरुको मनोनयन गर्ने निर्णय भएको समेत बताइन्।

श्रमिकमाथि आर्थिक भार थप्ने गरी कुनै निर्णय नगर्न  प्रधानमन्त्रीकाे निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रमिकमाथि आर्थिक भार थप्ने गरी कुनै निर्णय नगर्न र भएका निर्णयको कार्यान्वयन समेत नगर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएका छन् ।मंगलबार सिंहदरबारमा श्रममन्त्री शरतसिंह भण्डारी, सचिव केबलप्रसाद भण्डारी लगायतलाई यस्तो निर्देशन दिएका हुन् । वैदेशिक रोजगारीमा जाने युवा अनुचित लेनदेन र दलालबाट ठगिएका उल्लेख गर्दै प्रधानमन्त्रीले उनीहरुलाई सरकारले नै सस्तो ब्याजमा ऋण दिने व्यवस्था मिलाउनुपर्ने बताए ।

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन्। मंगलबारको प्रदेश सभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्ट निर्विरोध सभामुख चयन भएको घोषणा गरेकी हुन्।

प्रदेशस्थित सत्ता गठबन्धनका दलहरूले सभामुखका रूपमा अघि सारेपछि समानुपातिक सांसद विष्टलाई प्रमुख विपक्षी नेकपा एमालेले पनि समर्थन गरेको थियो। तर, राप्रपामा भने विरोध भएको छ। डा. प्रकाशचन्द्र लोहनीले निर्देशक समितिको बैठक राखेर फिर्ता गर्न निर्देशन दिएका छन्। 

नक्कली बाबु बनेर नागरिकता प्रदान

नक्कली बाबु बनेर वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले झुटो विवरणका आधारमा एक जना किशोरीलाई नागरिकता दिएको भेटिएको छ । सिंहविरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा नागरिकता कीर्ते गरेको भन्दै जाहेरी समेत परेको छ।  

२०७५ साल साउन १३ गते वीरगञ्ज महानगर वडा नं ३ बस्ने रुविना श्रेष्ठले जिल्ला प्रशासन कार्यालय पर्साबाट पहिलो पटक लिएको नागरिकता प्रमाणपत्रमा बुबाको नाम राजेशमान सिंह उल्लेख छ । 

परराष्ट्रमन्त्री एनपी साउद रूस जाने

परराष्ट्रमन्त्री एनपी साउद रूस जाने भएका छन् । रूसमा रहेका नेपालीहरूको अवस्थाबारे बुझ्न मन्त्री साउद रुस जान लागेका हुन् । उनको भ्रमणको मिति भने तय भइसकेको छैन् ।परराष्ट्र स्रोतका अनुसार मन्त्रालयले उनको भ्रमणको तयारी तिब्र बनाएको छ ।

न्याय सेवा आयोगले एकैपटक दुई सयभन्दा बढी कर्मचारीलाई गर्याे सरुवा

न्याय सेवा आयोगले एकैपटक दुई सयभन्दा बढी कर्मचारीको सरुवा गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको आजको बैठकले अदालतका दुई सयभन्दा बढी कर्मचारीको सरुवा गरी जिम्मेवारी हेरफेर गरेको हो । सात उपसचिवसहित दुई सय १२ शाखा अधिकृतस्तरका कर्मचारी सरुवा गरिएको हो।

हिमालय एयरलाइन्सले  गर्याे‘आयोसा’ प्रमाणपत्र प्राप्त

हिमालय एयरलाइन्सले ‘आयोसा’ प्रमाणपत्र प्राप्त गरेको छ। उड्डयन क्षेत्रको सुरक्षा मापदण्ड सुदृढीकरणमा गरेको पहलकदमी स्वरुप एयरलाइन्स आयोसामा दर्ता हुने पहिलो नेपाली वायुसेवा कम्पनी बनेको छ।

गत डिसेम्बर २८ मा अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ (आईएटिए)ले सन् २०२५ मार्च ३ सम्म मान्य हुने गरी आयोसा प्रमाणीकरण गरेको हो। योसँगै हिमालय एयरलाइन्स विश्वका विमान कम्पनीसरह सुरक्षा मापदण्ड कायम गर्ने विमान कम्पनीका  रुपमा दर्ज भएको छ।

सेयर बजार परिसूचक ५६ अंकले बढ्याे

पछिल्लो दुई दिनको अवधिमा सेयर बजार परिसूचक ५६ अंकले बढेको छ । साताको पहिलो कारोबार दिन आइतबार २६ अंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेपनि त्यसयता निरन्तर उच्च अंकले बढेको हो ।

आइतबार २६ अंकले घटेको परिसूचक हिजो सोमबार ३६ अंकले बढेको थियो। यस्तै, आज २० अंकले बढेर बन्द भएको हो। कारोबार सुरु भएदेखि नै निरन्तर बढ्न थालेको नेप्से परिसूचक अन्तिमसम्ममा १ प्रतिशतले बढेर बन्द भयो।

हिजो सोमबार नेप्से ३६ अंकले बढ्दा ४ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो। हिजो र आजको कारोबार रकम जोड्दा १० अर्ब ७७ करोड रुपैयाँभन्दा बढी हुन्छ। आज परिसूचक २० अंकले बढ्दा ६ अर्ब ११ करोड रुपैयाँको कारोबार भएको छ।

दक्षिण कोरियाले कुकुरको मासु सेवनको पुरानो प्रथा अन्त्य गर्याे

दक्षिण कोरियाले कुकुरको मासु सेवनको पुरानो प्रथा अन्त्य गरेको छ। कुकुरको मासु खाने चलनले पशुमाथि क्रुर व्यवहार भैरहेको भनेर देशभित्र र अन्तर्राष्ट्रिय जगतमा चर्को आलोचना खेपिरहेको दक्षिण कोरियाले अन्ततः दशकौं लामो यो प्रथालाई विधिवत अन्त्य गरिदिएको हो। राष्ट्रिय सभाको मंगलबारको बैठकमा सत्तारुढ र प्रमुख विपक्षी दलले एक स्वरले विधेयक पारित गरेपछि कोरियाले कुकुर खाने विवादास्पद परम्पराको अन्त्य गरेको हो। 

बङ्गलादेश क्रिकेट टिमका कप्तान शकिब अल हसन सांसदमा निर्वाचित

भर्खरै सम्पन्न आम निर्वाचनबाट बङ्गलादेश क्रिकेट टिमका कप्तान शकिब अल हसन सांसदमा निर्वाचित भएका छन्। बङ्गलादेशमा आइतबार भएको आम निर्वाचनमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान शकिबले जित हासिल गरेका हुन्। मगुराको पश्चिमी सहरमा अवामी लिग पार्टीबाट उम्मेदवार बनेका शकिब १ लाख ५० हजार मतान्तरले विजयी भएका हुन्।  

Logo