रमेश खरेलले छाडे रास्वपा, दुर्गा प्रसाईंमाथि टोली बनाएर अनुसन्धान गर्ने तयारी[भिडियाेसहित]

रमेश खरेलले छाडे रास्वपा, दुर्गा प्रसाईंमाथि टोली बनाएर अनुसन्धान गर्ने तयारी[भिडियाेसहित]

केन्द्रबिन्दु
84
Shares

सहकारी प्रकरणमा मेरो नामबाहेक केही छैनः रवि लामिछाने
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो नामबाहेक अरु केही पनि नभएको बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिमा बसेको बैठकमा सांसदहरुले सहकारीको रकमबारे उठाएको प्रश्नमा गृहमन्त्री लामिछानेले उक्त जवाफ दिएका हुन् । सहकारी ठगीमा आफ्नो नाम जोडिए पनि कुनै पनि प्रमाणले त्यसको पुष्टि गर्न नसक्ने उनको भनाई छ । यस विषयमा बैठकमा प्रहरी महानिरीक्षक बसन्त कुँवरले पनि प्रहरी समक्ष जाहेरी परे पनि उक्त जाहेरीमा उपप्रधानमन्त्री लामिछानेको कुनै संलग्नता नरहेको पुष्टि गरेका छन् ।

रमेश खरेलले त्यागे रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता रमेश खरेलले पार्टी परित्याग गरेका छन् । उनले बुधबार राजीनामा बुझाएका हुन् । केही दिनअघि एक टिभी कार्यक्रम चलाउँदै खरेलले पार्टी सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि आलोचनात्मक टिप्पणी गरेपछि पार्टीको अनुशासन समितिले स्पष्टीकरण सोधेको थियो । तर खरेलले पछिल्लो घटनाक्रम, पार्टीको नीति र सिद्धान्तहरूसँग आफ्नो विचार र प्राथमिकता मिल्न नसकेको भन्दै राजीनामा बुझाएका हुन् ।

उपचुनावमा सत्तारुढ गठबन्धनका दलले छुट्टाछुट्टै उम्मेदवारी दिने
वैशाख १५ गते हुने उपचुनावमा सत्तारुढ गठबन्धनका दलले छुट्टाछुट्टै उम्मेदवारी दिने भएका छन् । नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले यसअघि उम्मेदवारी दिने निर्णय गरिसकेकोमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पनि आफ्नै उम्मेदवारी दिने निर्णय गरेका हुन् । वैशाख १५ गते इलामको प्रतिनिधिसभा क्षेत्र नम्बर–२ र बझाङमा प्रदेश सभा निर्वाचन क्षेत्र १ को (क) क्षेत्रमा चुनाव हुँदैछ ।

भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउनुः सुमना श्रेष्ठ
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन काठमाडौंका विद्यालयहरुको प्रिन्सिपलको ध्यानाकर्षण गराएकी छन् । नयाँ शैक्षिक सत्रका लागि ती विद्यालयले भर्ना आह्वान गरेका बेला प्रिन्सिपलहरुलाई मन्त्रालयमै बोलाएर मन्त्री श्रेष्ठले भनसुन र पहुँचका आधारमा नभई विद्यालयले निर्धारण गरेको विधि र प्रक्रियालाई थप विश्वासिलो बनाएर योग्यताका आधारमा विद्यार्थी भर्ना लिन जोड दिएकी हुन् । सो क्रममा प्रिन्सिपलहरुले भर्ना छनोट प्रक्रियाबारे जानकारी गराउँदै विगतमा प्रधानमन्त्रीसम्मको तहबाट दबाब आएको सुनाएका थिए ।

महामन्त्री थापाले चैत्र १५ गतेबाट पुनः ‘संवाद यात्रा’ सुरु गर्ने
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चैत्र १५ गतेबाट ‘संवाद यात्रा’ पुनः सुरु गर्ने भएका छन् । महामन्त्री थापाले संवाद यात्राको तालिका सार्वजनिक गर्दै नवलपरासीको गोपीगञ्जबाट यात्रा सुरु गर्न लागेका हुन् । गत माघ २३ मा स्थगित भएको संवाद यात्रा बिहीबार १५ चैत बाट सुरु गर्न लागिएको थापाको सचिवालयले जनाएको छ ।

सुनकोशीमा बेपत्ता भएका थप २ जना बालबालिकाको शव फेला
आइतबार होली मनाएर पौडी खेल्न जाँदा सुनकोशीमा बेपत्ता भएका थप २ जना बालबालिकाको शव पनि भेटिएको छ । धाप्लाङ घाटभन्दा केही करिब १ किलोमिटर तल थप ८ वर्षीय चोकलचन्द्र मगर र ११ वर्षीया रेखा मगरको शव उत्रिएको अवस्थामा भेटिएको हो । मंगलबार ९ वर्षीय रिदम मगरको शव फेला भेटिएको थियो ।

नागरिक उन्मुक्ति पार्टीले गठबन्धन सरकारलाई समर्थन गर्ने
नागरिक उन्मुक्ति पार्टीले एमाले–माओवादी र रास्वपासहितको सत्ता गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ । बुधबार टीकापुरमा बसेको नाउपा संस्थापक केन्द्रीय सदस्यको बैठकले संघ र प्रदेश सरकारमा नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको हो । २१ जना केन्द्रीय सदस्य मध्ये बैठकमा १२ जना सहभागी थिए । सरकारमा सहभागी हुने विषयमा नाउपामा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्ष र संरक्षक रेशमलाल चौधरी पक्षबीच विवाद चर्किएको छ ।

दुर्गा प्रसाईंका गार्डलाई घरबाहिर हतियार बोक्ने अनुमति छैन्ः गृह मन्त्रालय
मेडिकल व्यवसायी दुर्गा प्रसाईंका सुरक्षागार्डलाई घरको कम्पाउण्डबाहिर आधुनिक हतियार बोकेर हिँड्ने अनुमति नरहेको गृह मन्त्रालयले जनाएको छ । प्रसाईंका सुरक्षागार्डबाट गत चैत ५ गते बरामद भएको आधुनिक हतियार सार्वजनिक ठाउँमा बोकेर हिँड्न नपाइने गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले बताएका हुन् । उनले यसबारे गृहले अनुसन्धान गर्न छुट्टै टोली बनाउन लागेको जानकारी गराएका छन् ।

आजदेखि एसइई सुरु
आजदेखि एसइई सुरु भएको छ । आजदेखि देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइई परीक्षाको अन्तिम तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षामा कूल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुनेछन् । यस वर्ष पनि जापानबाट २३ जना परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ ।

अनलाइन फार्मेसी सञ्चालन नगर्नुः औषधि व्यवस्था विभाग
औषधि व्यवस्था विभागले अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन दिएको छ। विभागका महानिर्देशक नारायणप्रसाद ढकालका अनुसार अनलाइन फार्मेसीबाट औषधिको झुटा तथा भ्रामक प्रचार गरी बिक्रीवितरण गरेको पाइएकाले अनलाइन फार्मेसी बन्द गर्न निर्देशन दिएको हो । अनलाइन फार्मेसी सञ्चालन गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने विभागले जनाएको छ।

डब्लुएचओ तथा सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च इन्सिच्युटले बालबालिकामा हुने क्यान्सर रोगको लागि निःशुल्क औषधि दिन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओ तथा सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च इन्सिच्युटबीच बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराउने सहमति भएको छ । आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा स्वास्थ्य सचिव डा. रोशन पोखरेल र डब्लुएचओ नेपालका प्रमुख डा. राजेश संभाजीराव पाण्डवबीच सोसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारीले नेपालमा क्यान्सरबाट पीडित बालबालिकाको उपचारमा सुधार ल्याउन ठूलो योगदान पुर्याउने विश्वास लिइएको छ ।

बुधबार दोहोरो अंकले झर्यो सेयर बजार
बुधबार सेयर बजार दोहोरो अंकले झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १०।८३ अंक घटेर २०३० मा झरेको छ । २ अर्ब २३ करोडको कारोबार भयो । ५१ कम्पनीको मूल्य बढ्दा १८८ को घट्यो भने ६ को स्थिर रह्यो । उत्पादन बाहेकका सबै समूह घटेका छन् ।

जर्मनीमा बाल गरिबीको दर उच्च
जर्मनीमा बाल गरिबीको दर उच्च देखिएको छ । सन् २०२२ मा पाँचमध्ये एक बालबालिका गरिबीबाट प्रभावित भएको जर्मनीको कल्याणकारी सङ्घले उल्लेख गरेको छ । जर्मनीका छ वटा केन्द्रीय स्वैच्छिक कल्याणकारी सङ्घहरूमध्ये एक ‘परितातिशे जेसमट्वरब्यान्ड’ को प्रतिवेदनका अनुसार युरोपमा करिब एक करोड ४२ लाख मानिस गरिबीमा बाँचिरहेका छन् । यसको प्रत्यक्ष असर एकल अभिभावक, ठूलो परिवार र थोरै शैक्षिक योग्यता भएका वा जर्मन नागरिकता नभएका मानिसहरूमा परिरहेको छ ।

त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र स्कोर बोर्ड निर्माणका लागि बोलपत्र आह्वान
राष्ट्रिय खेलकुद परिषदले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र स्कोर बोर्ड निर्माणका लागि छुट्टाछुट्टै बोलपत्र आह्वान गरेको छ । यसपटक २१ दिन समय राखेर बोलपत्र आह्वान गरिएको राखेप स्रोतले जनाएको छ । राखेपले फ्लडलाइटका ८२ करोड ६१ लाख र स्कोर बोर्डका लागि ७ करोड २० लाख रुपैयाँ अनुमानित लागत राखेको छ । त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट नभएको भन्दै आलोचना हुँदै आएको छ । यसअघि ४ वटा कम्पनीले फ्लडलाइट जडानका लागि दरखास्त पेश गरेपनि एउटाले मात्रै पाएपछि अरुले मुद्धा हालेका थिए ।

Logo