दुर्गा प्रसाईंमाथि छानविन गर्न रवि लामिछानेले बनाए समिति, निजीविद्यालयको नाम फेर्न बालेनको अल्टिमेटम[भिडियाेसहित]

दुर्गा प्रसाईंमाथि छानविन गर्न रवि लामिछानेले बनाए समिति, निजीविद्यालयको नाम फेर्न बालेनको अल्टिमेटम[भिडियाेसहित]

केन्द्रबिन्दु
84
Shares

दुर्गा प्रसाईंलाई हतियार राख्न अनुमति दिएकोबारे छानबिन समिति गठन
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हतियार राख्न अनुमति दिएकोबारे अनुसन्धान गर्न ४ सदस्यीय छानबिन समिति गठन गर्न भएको छ । गृह मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको नेतृत्वमा ४ सदस्यीय छानबिन समिति गठन भएको हो ।दुर्गा प्रसाईंले गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, काठमाडौं र झापाको ‘समन्वय’ मै कानूनले निषेध गरेको हतियारको इजाजतपत्र पाएको खुलेको छ। समितिलाई १५ दिनभित्र छानबिन प्रतिवेदन बुझाउन समय दिइएको छ ।

८४ मा हाम्रो दल सबैभन्दा ठूलो बन्नेः प्रधानमन्त्री ‘प्रचण्ड’
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ को आम निर्वाचनमा आफ्नो पार्टी सबैभन्दा ठूलो दल बन्ने उद्घोष गरेका छन्। माओवादी धारका पार्टीहरूबीच एकता प्रक्रिया अगाडि बढेको भन्दै मकवानपुरमा आज माओवादी केन्द्रका कार्यकर्तासँगको भेटमा प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा माओवादीहरू एकताबद्ध हुने विश्वास व्यक्त गरेका हुन्। माओवादी निकट दलहरुको एकताले नै आफ्नो पार्टीलाई सबैभन्दा ठूलो दल बनाउने उनको भनाई छ ।

टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्नुः सर्वोच्च अदालत
नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । भ्रष्टाचार मुद्दामा आफूलाई जरिवाना मात्रै भएको तर कैद सजाय नभएको भन्दै गुरुङले सांसद पद निलम्बन फुकुवाको मागसहित रिट दायर गरेका थिए । आज सर्वोच्चले गुरुङको निलम्बन फुकुवा गर्न अन्तरिम आदेश दिएको हो । गुरुङको निलम्बन फुकुवा भएसँगै कांग्रेसमा अब एक सांसद थपिएको छ ।

राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा स्वीकृत
राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा स्वीकृत भएको छ । आज(शुक्रबार) बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष नारायण दाहालले उपाध्यक्ष अर्यालले दिएको राजीनामा स्वीकृत भएको जानकारी गराएका हुन् । माओवादीबाटै २०७९ माघ २३ गते उपाध्यक्ष बनेकी अर्यालले हालै फेरिएको सत्ता समिकरणका कारण राजीनामा दिएकी हुन् ।

रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेश सरकार छाड्न संसदीय दलका नेतालाई निर्देशन दिइन
रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेश सरकार छाड्न नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेश सरकार छाड्न संसदीय दलका नेतालाई निर्देशन दिएकी छन् । चौधरीले शुक्रबार प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीलाई लिखित निर्देशन दिएकी हुन् । १४ चैतमा टीकापुरमा बसेको पार्टी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको उनको भनाई थियो । सरकारमा सहभागी हुने विषयमा नाउपामा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्ष र संरक्षक रेशमलाल चौधरी पक्षबीच विवाद चर्किएको छ ।

बाँदर नियन्त्रण अभ्यास सिकेर नेपाल फर्किए प्राविधिक टाेली
बाँदरकै कारण तरकारी, फलफूल र अन्नबाली उत्पादनमा कमी आएको र राष्ट्रिय अर्थतन्त्रमा व्यवधान खडा भएको भन्दै संघीय संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको पहलमा नेपाली प्राविधिकहरु भारतमा बाँदर नियन्त्रणको प्रभावकारी विधि बन्ध्याकरणको अभ्यास सिकेर फर्किएका छन् । भारतको हिमाञ्चल प्रदेशमा बाँदरलाई समातेर बन्ध्याकरण गर्दा सफलता पाएपछि कृषिसमिति र भारतीय दूतावासको सक्रियतामा पहिलो चरणमा १० जना पशु चिकित्सक र ५ जना रेञ्जरले तालिम लिएका हुन् ।नेपालको सुदूरपूर्वदेखि पश्चिम तराई पहाडी जिल्लामा बाँदरको उपद्रो गणना गरिनसक्नु नै छ ।

एम महिनाभित्र निजी विद्यालयको नाममा नेपालीपन झल्किनेगरी राख्नुः काठमाडौं महानगरपालिका
काठमाडौं महानगरपालिकाले निजी विद्यालयको नाम फेर्न एक महिनाको अल्टिमेटम दिएको छ ।महानगरपालिकाको शिक्षा विभागद्वारा जारी सूचनामा शिक्षा नियमावली २०५९ को नियम १५४ (१) तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० मा व्यवस्था भए बमोजिम नेपालीपन झल्किने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था रहेको उल्लेख छ।

पशुपति क्षेत्रभित्र सवारीसाधन चल्ने कुनैपनि बाटो नखोल्नुः सर्वोच्चको आदेश
पशुपति क्षेत्र पूरातात्विक महत्वका साथै धार्मिक, सांस्कृतिक सम्पदा भएको भन्दै सर्वोच्चले पशुपति क्षेत्रभित्र सवारीसाधन चल्ने कुनैपनि बाटो नखोल्न सरकारका नाममा आदेश दिएको छ । साथै खोलिसकेको भए बाटो बन्द गर्न र त्यस्तो बाटोमा इञ्जिनबाट चल्ने सवारीसाधन नचल्ने सुनिश्चितता गर्न पनि आदेश दिएको छ ।

उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन
त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । त्रिभुवन विश्वविद्यालयले पूर्वरजिष्ट्रार प्राडा चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो । समितिलाई ३० दिन भित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ । २०८० वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत जनसङ्ख्या तथा स्वास्थ्य, र शिक्षा शास्त्र सङ्कायतर्फ शिक्षाका आधार विषयका उत्तरपुस्तिकाहरू हराएको थियो।

धनिराम शर्माको नेतृत्वमा बजेट लेखन समिति गठन
अर्थमन्त्री वर्षमान पुनले अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माको नेतृत्वमा आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट लेखन समिति गठन गरेका छन् । राजस्व महाशाखा प्रमुख शर्माको नेतृत्वमा गठित समितिमा अन्य सहसचिवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन् । संयोजक शर्माका अनुसार शनिबार नै बैठक बसेर बजेट लेखनको काम सुरु गर्ने साथै विषयगत मन्त्रालयहरुसँग समन्वय गरेर बजेट लेखनको कामलाई गति दिइने बताइएको छ।

सुनको मूल्यले राख्यो नयाँ रेकर्ड
आज शुक्रबार सुनको भाउले नयाँ इतिहास रचेको छ । सुनको मुल्यमा लगातार वृद्धि हुदै नँया रेकर्ड कायम गर्ने क्रम जारी छ । बिहीबार प्रतितोलाएक लाख २७ हजार नौ सयमा कारोबार भएको छापावाल सुन शुक्रबार एक लाख ३० हजार रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढिरहेकाले त्यसको असर नेपालमा पनि देखिएको व्यवसायी र अर्थशास्त्रीहरू बताउँछन्।

चीन सरकारले शिक्षालाई बढावा दिन एआई अभियान शुरु गर्यो
चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौद्धिकता अर्थात् ’आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) अभियान शुरु गरेको छ । विशेषज्ञले एआई प्रविधिबारे छलफल गर्ने, सिकाउने र चिनियाँ दृष्टिकोणलाई योगदान दिन डिजिटल शिक्षाको विकासका लागि अन्तर्राष्ट्रिय प्लेटफर्म निर्माण गर्ने गरी अभियान शुरु भएको चिनियाँ अधिकारीलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

आयरल्यान्ड ‘ए’सँग नेपाल २१ रनले पराजित
लोकेश बमको विष्फोटक शतकका बाबजुद नेपाल ‘ए’ पहिलो टी–२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए’सँग पराजित भएको छ । नेपाल आयरल्यान्ड ‘ए’सँग २१ रनले पराजित भएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्यान्ड ‘ए’ले दिएका २२३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा सबै विकेट गुमाउँदै २०१ रन मात्रै जोड्न सक्यो । हिजोका लागि तय भएको उक्त खेल वर्षाका कारण स्थगित भएको थियो ।

Logo