महशा अमिनीको हत्यापछि इरानमा झण्डै एक महिनादेखि जारी आन्दोलनलाई रोक्न सरकारले पूर्ण शक्ति लगाएको छ । कडाइका बाबजुद पनि मानिसहरु ठूलो संख्यामा सडकमा उत्रिएका छन् । देशैभर इन्टरनेट बन्द भएपनि हजारौं मानिस सडकमा उत्रिएर सरकार र धार्मिक नेताविरुद्ध नाराबाजी गरिरहेका छन्।
तेहरानको कुख्यात एभिन जेलमा आइतबार बिहान अमिनीको समर्थनमा कैदीहरूले सुरक्षाकर्मीसँग झडप गरेका थिए। जसमा चार कैदीको मृत्यु भएको छ भने ६१ जना घाइते भएका छन् । आन्दोलनको नेतृत्व कलेजका युवतीहरुले गरिरहेका छन् ।
तेहरानस्थित शरियाती प्राविधिक तथा व्यावसायिक कलेजका विद्यार्थीहरूको भिडियो सामाजिक सञ्जालमा आइरहेको छ । जसमा युवतीहरूले हिजाब नलगाई मुल्लाहरूविरुद्ध नारा लगाइरहेका छन्।
एक मानव अधिकार समूहले इरानका १११ सहरमा एक महिना लामो प्रदर्शनमा २ सय ४० भन्दा बढी प्रदर्शनकारी मारिएको दाबी गरेको छ । आठ हजारभन्दा बढी पक्राउ परेका छन् । मृत्यु हुनेमा अधिकांश बालिका रहेका छन् ।
समाचार एजेन्सी इर्नाका अनुसार सेप्टेम्बर १७ मा सुरु भएको प्रदर्शनमा ८५० भन्दा बढी सैनिक घाइते भएका छन् भने २६ जनाको मृत्यु भएको छ ।





























प्रतिक्रिया