वार्ताका माध्यमबाट युक्रेन द्वन्द्व अन्त्य गर्न रुससँग चिनियाँ राष्ट्रपतिकाे जोड

वार्ताका माध्यमबाट युक्रेन द्वन्द्व अन्त्य गर्न रुससँग चिनियाँ राष्ट्रपतिकाे जोड

केन्द्रबिन्दु
0
Shares

रुसको दुईदिने राजकीय भ्रमणमा रहेका चीनका राष्ट्रपति सी चीनफिङ र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच क्रेमलिनमा भेटवार्ता भएको छ । साथै वार्ताका माध्यमबाट युक्रेन द्वन्द्व अन्त्य हुनुपर्नेमा चिनियाँ राष्ट्रपतिले जोड दिएका छन् । 

दुई राष्ट्रपतिबीच चीन र रुस सम्बन्ध र आपसी हितका विषयमा गहन छलफल हुनाका साथै पारस्परिक सम्बन्ध अझ सुदृढ तुल्याउने सम्बन्धमा विचार आदानप्रदान भएको थियो ।

राष्ट्रपति सीले समकक्षी पुटिनको निमन्त्रणामा रुसको राजकीय भ्रमण गर्न पाउँदा आफू खुसी भएको उल्लेख गर्दै १० वर्षअघि आफू राष्ट्रपति निर्वाचित भएपछि आफू पहिले रुसको भ्रमणमा आएको तथा उक्त भ्रमणको सम्झना आफ्नो स्मृतिमा आज पनि ताजा रहेका बताए । 

राष्ट्रपति सीले विगत १० वर्षदेखि आफू र राष्ट्रपति पुटिन निकट सम्पर्कमा रहेको तथा चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)को २० औँ राष्ट्रिय अधिवेशनबाट आफू केन्द्रीय समितिको महासचिवमा पुनः निर्वाचित भएपछि रुसी नेता पुटिनले तत्काल बधाई सन्देश पठाएकामा धन्यवाद व्यक्त गरे । साथै उनले आफू केही दिनअघि मात्र चीनको राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि पनि तत्काल बधाई ज्ञापन गरेकामा राष्ट्रपति पुटिनप्रति आभार व्यक्त गरे । 

चिनियाँ राष्ट्रपतिले आगामी वर्ष रुसमा राष्ट्रपतीय निर्वाचन हुने र नेता पुटिनको सबल नेतृत्वमा रुसले देशको विकासका साथै कायाकल्प गर्ने उल्लेख गर्दै राष्ट्रपति पुटिनप्रति रुसी जनताको दृढ समर्थन रहनेमा आफू विश्वस्त रहेको बताए । चीनले जहिले पनि स्वतन्त्र परराष्ट्र नीतिलाई समर्थन गर्दै आएको, चीन–रुस सम्बन्धलाई अझ सुदृढ बनाउन बेइजिङले आफ्नो मौलिक हित र विश्वको प्रचलित प्रवृत्तिका आधारमा रणनीतिक छनौट गरेको उनले स्पष्ट गरे । 

चीन–रुस सम्बन्ध आजको अवस्थामा पुग्नुमा दुई राष्ट्रबीचको ऐतिहासिक सम्बन्धको सुदृढ आधार रहेको तर्क गर्दै चीन र रुस एकअर्काका सबैभन्दा ठूलो छिमेकी एवम् रणनीतिक साझेदार भएका दोहो-याए । दुवै देशले आफ्नो समग्र कूटनीति र विदेश मामिलासम्बन्धी नीतिमा आफ्नो सम्बन्धलाई उच्च प्राथमिकतामा राखेका चिनियाँ राष्ट्रपतिले उल्लेख गरे । 

चीन रुससँगको रणनीतिक सम्बन्ध सुदृढ गर्न दृढ रहेको बताउँदै राष्ट्रपति सीले चीन र रुस दुवै राष्ट्र राष्ट्रिय विकास, विश्व बहुध्रुवतालाई समर्थन तथा अन्तरराष्ट्रिय सम्बन्धमा बृहत्तर लोकतन्त्रका लागि काम गर्न प्रतिबद्ध रहेका उल्लेख गरे । 

चिनियाँ राष्ट्रपतिले दवै देशले विभिन्न क्षेत्रमा व्यावहारिक सहयोगलाई अझ सुदृढ बनाउनका साथै संयुक्त राष्ट्रसङ्घजस्ता बहुपक्षीय मञ्चमा समन्वय र सहयोगलाई बलियो बनाउँदै विश्व शान्ति र स्थायित्वको आधार खडा गर्नुपर्नेमा जोड दिए । 

रुसको राजकीय भ्रमण गरेकामा राष्ट्रपति पुटिनले सीप्रति आभार व्यक्त गर्दै बितेका १० वर्षमा विकासका सबै क्षेत्रमा चीनले गरेको प्रभावशाली एवम् उत्कृष्ट उपलब्धिको सराहना गरे । राष्ट्रपति सीको सबल नेतृत्वमा त्यो संभव भएको भन्दै त्यसले चीनको राष्ट्रिय राजनीतिक प्रणाली र शासन प्रणालीको सामथ्र्यलाई प्रमाणित गरेको रुसी राष्ट्रपतिले बताए । 

राष्ट्रपति सीको नेतृत्वमा चीनले निर्धारण गरेका विकास र समृद्धिका लक्ष्यहरू सफलतापूर्वक हासिल गर्नेमा आफू विश्वस्त रहेको बताउँदै राष्ट्रपति पुटिनले दुवै पक्षको ठोस प्रयासले हालैका वर्षमा रुस–चीन सम्बन्धले विभिन्न क्षेत्रमा फलदायी नतिजा दिएको उल्लेख गरे । उनले द्विपक्षीय व्यावहारिक सहयोगलाई अझ सबल बनाउन, अन्तरराष्ट्रिय मामिलामा सञ्चार र सहकार्य गर्न मस्को सधै प्रतिबद्ध रहेको बताए । 

वार्ताका क्रममा युक्रेन मुद्दामा पनि दुवै पक्षबीच गहन विचार आदानप्रदान भएको थियो । 

राष्ट्रपति सीले युक्रेनको मुद्दामा शान्ति र न्यायका निम्ति आवाज उठिरहेको बताए । विश्वका अधिकांश देशले तनाव कम गर्ने, शान्ति वार्ताको पक्षमा उभिने अभिमत जाहेर गरेका बताउँदै उनले वार्ताको माध्यमबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिए । 

यसैबीच, संयुक्त राज्य अमेरिकाले युक्रेनमा युद्ध अपराध रोक्न चिनियाँ राष्ट्रपतिले रुसी राष्ट्रपतिलाई दबाब दिनुपर्नेमा जोड दिएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ताले राष्ट्रपति सीलाई आफ्ना रुसी समकक्षीलाई युक्रेनबाट आफ्ना सेना फिर्ता बोलाउन आग्रह गरेका छन् । प्रवक्ता जोन किर्बीले युद्धविरामको खोजी पर्याप्त नहुने  पनि बताएका छन् ।

प्रवक्ता किर्बीले भनेका छन् –प्रवपक्ता किर्बीले भनेका छन् –“राष्ट्रपति सीले राष्ट्रपति पुटिनलाई युक्रेनी शहर, अस्पताल र विद्यालयमा बमबारी बन्द गर्न, युद्ध अपराध र अत्याचार रोक्न र आफ्ना सेना फिर्ता गर्न दबाब दिनुहुनेछ भन्नेमा अमेरिका विश्वस्त छ ।” -सिन्ह्वा

Skip This
Skip This
Logo