भारतका पाँच राज्यको विधानसभा चुनाव अहिले अन्तिम चरणमा पुगेको छ। तर यस अवधिमा राजनीतिका भाषणमा पछिल्लो समय प्रयोग भएका शब्दहरूले फेरि भारतीय राजनीतिक सियासतमा चर्चा कमाइ रहेको छ।
पछिल्लो समय शब्दको चक्रव्यूहमा ‘पनौती’ देखि ‘मूर्खको सरदार’ र ‘आरएसएसको अन्डरवियर’ देखि ‘खाकी चड्डी’ सम्मका शब्दहरू प्रयोग भएका छन्। तर, अहिले राजनीतिक भाषणमा कांग्रेस आइका नेता राहुल गान्धिले प्रयोग गरेको ‘पनौती’ शब्दमा सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) अड्किएको छ।
भाजपाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई संकेत गरेर राहुल गान्धीले प्रयोग गरेको शब्दलाई लिएर अहिले काँग्रेसमाथि नै प्रहार गर्न सुरु गरेको भारतीय सञ्चारमाध्यमहरुले नै जनाएका छन्। भाजपाले काँग्रेसलाई ‘पप्पु’, ‘मुर्खोका सरदार’, ‘राहुकाल’ जस्ता शब्द प्रयोग गरेको छ।
वास्तवमा, भारत र अष्ट्रेलियाबीचको फाइनलमा प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुँदा देशको राजनीतिमा ‘पनौती’ शब्द सबैभन्दा चर्को मुद्दा बनेको थियो। विश्वकप फाइनलको दिन र त्यसको भोलिपल्ट सामाजिक सञ्जालमा ‘पनौती’ शब्द पनि चल्न थाल्यो। काँग्रेस नेता राहुल गान्धीले सार्वजनिक सभामा विगत केही दिनदेखि प्रचलनमा रहेको ‘पनौती’ शब्दको उल्लेख गरेपछि स्थिति राजनीतिक रूपमा चर्किएको हो।
यो सम्पूर्ण मामिलामा भारतीय जनता पार्टी आक्रामक बनेपछि काँग्रेसले पनि यो सम्पूर्ण मामिलामा भारतीय जनता पार्टीलाई घेरा हाल्न थाल्यो। काँग्रेसका प्रवक्ता पवन खेडाले भारतीय जनता पार्टीका नेताहरूले काँग्रेसका नेताहरूलाई राहुकाललगायतका पप्पु र मुर्खको सरदार जस्ता शब्द प्रयोग गरिरहँदा भाषाको इज्जत कहाँ रह्यो भन्दै प्रश्न पनि गरेका छन्।
वास्तवमा लामो समयदेखि राजनीति बुझेका विज्ञहरू राजनीतिमा भाषाको गरिमाको ख्याल नगरेको यो पहिलो पटक नभएको बताउँछन्। भारतका वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक रमेश शाक्य भन्छन्,‘यो राजनीतिक युगमा हेर्ने हो भने भारतीय जनता पार्टी र काँग्रेसका नेतालगायत अन्य धेरै राजनीतिक दलका नेताहरूले यस्तो शब्द छनोट गरेका छन्, जुन भन्न गाह्रो छ। बोल्न पनि गाह्रो।’तेलंगानामा काँग्रेस र एआईएमआईएमका नेताहरूले अभद्र शब्द प्रयोग गरेको उनको भनाई छ। काँग्रेस नेता पी रेवन्त रेड्डीले असदुद्दीन ओवैसीलाई शेरवानी मुनि खाकी सर्ट लगाएको बताए। यो भनाई पछि ओवैसीले रेड्डीलाई आरएसएसको अन्डरवियर लगाएर लाठी प्रयोग गरेको बताए।
वरिष्ठ पत्रकार रमेश शाक्यले ठूला नेतामाथि आरोप–प्रत्यारोप गर्दा अभद्र शब्दको आगो झनै तितो हुने बताउँछन्। तर राजनीतिक मैदानमा यस्ता शब्दहरू चुनावको समयमा धेरै बोलिन्छन्।
राजनीतिमा यस्तो भाषा प्रयोग भएको यो पहिलो पटक नभएको राजनीतिक विज्ञहरू बताउँछन्। यसअघि पनि राजनीतिक मञ्च र विभिन्न कार्यक्रममा धेरै कठोर शब्दको प्रयोग भइसकेको छ। वरिष्ठ पत्रकार जफर अहमद भन्छन् कि उत्तर प्रदेशमा चुनावको समयमा मुलायम सिंहका लागि मुल्ला मुलायम जस्ता शब्दहरू प्रयोग गरिएको थियो।
त्यसैगरी नेताहरूका लागि जोकर जस्ता शब्दहरू पनि खुलेर प्रयोग हुन थालेका छन्। वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक बृजेश शुक्ला राजनीतिमा शब्दको छनोट निकै महत्वपूर्ण हुने बताउँछन्।
राजनीतिमा धेरै पटक यस्ता शब्दहरू प्रयोग गरिन्छ, जसबाट कुनै राजनीतिक फाइदा हुँदैन तर राजनीतिमा चर्चाको विषय अवश्य बन्ने गर्छ। लामो समयदेखि सबै राजनीतिक दलले राजनीतिमा यस्ता शब्द प्रयोग गर्दै आएको उनको विश्वास छ।
राजनीतिमा यस्ता शब्दहरू प्रयोग हुने मात्रै नभएर धेरै नाराहरू पनि यस्तै तरिकाले तयार पारेर राजनीतिमा प्रयोग हुने गरेको उनको भनाइ छ। स्वतन्त्रताको समयदेखि अहिलेसम्म राजनीतिमा जुन ढंगले नाराहरू लोकप्रिय भएका छन् र ती नाराहरूलाई प्रयोग गरेर राजनीति सञ्चालन भएको छ, त्यो फरक युग हो।
भाषाविज्ञान र यसको प्रभाव केन्द्रका राष्ट्रिय संयोजक जेपी लोढा राजनीतिमा भाषा, भाषाशैली र देहबोलीको ठूलो महत्त्व रहेको बताउँछन्। तपाईंले शरीरको भाषा र भाषाको माध्यमबाट धेरै हदसम्म मानिसहरूलाई प्रभावित गर्नुहुन्छ। धेरै पटक नकारात्मक रुपमा बाहिर आए पनि राजनीतिमा यसको चर्चा धेरै हुन्छ। यो भाषाशैलीले राजनीतिमा कत्तिको प्रभाव पार्छ वा चुनाव जित्ने वा हार्दा कति असर गर्छ भन्ने कुराको मूल्याङ्कन हुन नसकेको उनको विश्वास छ।





























प्रतिक्रिया