काठमाडौं । चीनको हुवेइ प्रान्तको वुहान शहरबाट गत डिसेम्बरको अन्तिमतिर फैलिएको कोरोना भाइरस (कोभिड– १९) अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । भाइरसबाट यो सामाग्री तयार पार्दासम्म विश्वभर ४३ लाख ६१ हजार ७ सय ७९ जना संक्रमित भएका छन् । जसमा २ लाख ९३ हजार २ सय ९२ जनाले ज्यान गुमाइसकेको छन् भने १६ लाख १२ हजार ९ सय ९५ जना निको भएका छन् । मृत्यु हुनेहरुमा अधिकांश ६० वर्ष भन्दा माथिका छन् । एक अनुसन्धानले कोरोना भाइरस वृद्धहरुका लागि घातक साबित भएको देखाएको छ । तर, संसारमा सय वर्ष नाघेका वृद्धहरु पनि छन् जसले कोरोनालाई जित्न सफल भएका छन् । त्यसैमध्येका केही व्यक्तिको चर्चा गर्दैछौ ।
स्पेनकी १ सय १३ वर्षिया मारिया ब्रियोनेसले कोरोना भाइरसलाई पराजित गरेकी छिन् । उनी संक्रमणबाट मुक्त हुने विश्वकै पाको उमेरकी महिला समेत साबित भएकी छिन् । अप्रिलमा उनलाई कोरोनाको सामान्य लक्षणहरु देखिएको थियो । त्यस लगत्तै उनलाई आइसोलेसनमा राखिएको थियो । यो जानकारी उनको परिवारका सदस्यहरुले मारियाको ट्वीटरमा उल्लेख गरेका छन् ।
हाल उनी आफ्नो परिवारका सदस्यहरुसँग सम्पर्कमा आएकी छिन् । मे को पहिलो हप्तामा डाक्टरले उनी संक्रमण मुक्त भएको पुष्टि गरेका थिए । मारिया स्पेनकी १ सय ५ वर्ष भन्दा माथिको दोस्रो महिला हुन् । जो कोरोना भाइरसको सिकार भइन् । सन् २०१९ पछि मारिया स्पेनको सबैभन्दा पाको महिला हुन् । उनको जन्म सन् १९०७ मा सान फ्रान्सिस्कोको स्पेनी आप्रवासी परिवारमा भएको थियो । उनी जन्मिएको केही दिनपछि उनको परिवार स्पेन फर्किएका थिए ।
सन् १९३१ मा मारियाको विवाह एक डाक्टरसँग भएको थियो । उनीहरुका तीन सन्तान सहित ११ नाति नातिनाहरु र १३ पनाति पनातिनाहरु छन् ।
यस्तै यस भन्दा पहिले १ सय ७ वर्षकी आना डेल कोरोना संक्रमणबाट निको भएकी थिइन् । आना डेल ५ वर्षको उमेरमा स्पेनिस फ्लुलाई पनि जितेर आएकी थिइन् । आनाले सन् १९१८ को स्पेनिस फ्लु र सन् १९३६ देखि १९३९ सम्मको सिविल वार पनि देखेकी थिइन् । उनी विगत २० वर्षदेखि जीरोना शहरको एक नर्सिङ होममा बसिरहेकी छिन् ।
त्यस्तैगरी नेदरल्याण्डकी १ सय ७ वर्षिया महिला कार्नेलियाले पनि कोरोनालाई जितेकी छिन् । उनी आफ्नै देशको टापुको यात्रामा निस्किदा कोरोनाबाट संक्रमित भएकी थिइन् । उनीसँगै अन्य ४० जना पनि यात्रामा निस्केका थिए । पछि उनीहरु पनि कोरोना संक्रमित भएको पुष्टि भएको थियो । ती मध्ये १२ जनाले ज्यान गुमाएका थिए । यद्यपी कार्नेलिया भाइरसलाई पराजित गर्न सफल भइन् । उनलाई चर्चमा प्रार्थना गरेर आएपछि संक्रमणको लक्षण देखिएको थियो । एजेन्सीको सहयोगमा





























प्रतिक्रिया