महाराष्ट्र ।
गएको २४ घन्टा यता भारतमा एक हजार भन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । सोमबार बिहानको तथ्यांक अनुसार भारतमा कोरोना संक्रमितहरूको संख्या १७ हजार २६५ जना पुगेको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
भारतमा देखिएका यी संक्रमितहरूमध्ये २ हजार ५४७ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारी अनुसार हाल १४ हजार भन्दा बढी कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् । भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ३६ जना रहेको छ । योसँगै कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ५४३ पुगेको छ ।
शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । सोमबार पनि यो क्रम जारी नै रहेको छ
महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या ४ हजार २०३ जना पुगेको उक्त मन्त्रालयले बताएको छ । यसैबीच महाराष्ट्रमा २२३ जनाको निधन भएको छ । यसैगरी यस राज्यका ५०७ जना नागरिक उपचारपछि निको भएर घर फर्किएका बताइएको छ ।
महाराष्ट्रपछि कोरोना संक्रमणको दोस्रो स्थानमा दिल्ली रहेको छ । यहाँ मात्र २ हजार ३ जना कोरोना भाइरस संक्रमित रहेका छन् । दिल्लीमा कोरोना भाइरस संक्रमणबाट ४५ जनाको मृत्यु भइसकेको प्राप्त समाचारमा जनाइएको छ । यसैबीच ७२ जना भने उपचारपछि घर फर्किएका छन् । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरू थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।
रासस/एएनआई





























प्रतिक्रिया