जाजरकोटमा एकै विद्यालयका २५ विद्यार्थी बिरामी

जाजरकोटमा एकै विद्यालयका २५ विद्यार्थी बिरामी

केन्द्रबिन्दु
0
Shares

जाजरकोट ।

यतिबेला कोरोना भाइरसको संक्रमणले विश्वलाई सताई रहेका बेला जाजरकोटमा सिजनल फ्लु अर्थात् मौसमी विरामी भेटिएका छन् । भेरी नगरपालिका ७ पुन्मास्थित सरस्वती माध्यमिक विद्यालयका २५ विद्यार्थी केहि दिन अघिदेखि मौसममा आएको परिर्वतनसँगै एकैसाथ बिरामी परेका छन् ।

विद्यार्थीमा रुघाखोकी, ज्वरो र टाउको दुख्ने समस्या देखिएको प्रधानाध्यापक धिरेन्द्र शाहले जानकारी दिए । विद्यालयमा अहिले बार्षिक परीक्षा चलिरहेको छ । विरामी मध्ये ७ जना सिकिस्त विरामी रहेका छन् । ज्वरो, रुघाखोकी र टाउको दुख्ने रोगले विद्यार्थीहरु विरामी परेको विद्यालयले जनाएको छ । अन्य विद्यार्थीलाई सामान्य रुघाखोकी लागेको छ ।

बार्षिक परीक्षा चलिरहेका बेला सोमवार विद्यार्थीहरु विरामी परेका हुन् । धेरै विद्यार्थी शनिवारदेखि नै विरामी भएपनि बार्षिक परीक्षा छुट्ने डरले परीक्षामा सहभागी भएको स्थानीय दीपबहादुर शाहीले जानकारी दिए। उनले केही दिन अघि परेको बर्षातका कारण गाउँमा रुघाखोकीका विरामी बढेको जानकारी दिए।

विद्यार्थी विरामी भएको जानकारी पाएपछि भेरी नगरपालिकाले स्वास्थ्य शाखा प्रमुख निशा थापाको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली औषधीसहित विद्यालयमा पठाएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दलबहादुर घर्तीले जानकारी दिए ।

स्वास्थ्य शाखाको टोली रुघाखोकी प्रभावित क्षेत्र पुन्मा पुगेपछि ११७ जनाको स्वास्थ्य परिक्षण गरेको थियो । स्वास्थ्य परिक्षण गरेका ११७ जना मध्ये १०४ जनालाई सामान्य रुघाखोखी, टन्सिल भएको त्यहाँको अवस्था बुझ्न र उपचार गर्नको लागी पुगेको भेरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख निशा थापाले जानकारी दिइन् ।नेपाल समाचारपत्रबाट

Logo