काठमाडौं ।
सन् २०२० समाप्त भइसकेको छ । वर्ष २०२० यस्तो वर्ष हो जुन भविष्यमा सायद बिर्सन गाह्रो होला । वर्ष २०२० एकदमै अशान्त, आक्रान्त, वर्ष रह्यो । यो वर्ष संसारभरिका व्यक्तिहरुका लागि कष्टपूर्ण साबित भयो । समग्रमा वर्ष २०२० विश्वकै लागि कष्टकर बन्यो ।
गत वर्षको डिसेम्बरमा पुष्टि भएको कोरोना भाइरस अर्थात् कोभिड–१९ को संक्रमणले विश्वलाई प्रभावित बनाएको छ । सायदै कुनै भाइरसले विश्व परिवर्तन गर्ला भन्ने अनुमान कसैले गरेको थिएन होला तर, कोभिडले विश्वलाई मात्र होइन मानब जीवनलाई पनि परिवर्तन गरिदिएको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको यस भाइरसलाई गत वर्षको मार्चमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले महामारीको रुपमा घोषणा गरेको थियो । यस्तै गत अक्टोबरसम्ममा विश्वको १० प्रतिशत जनसंख्या कोरोना भाइरसबाट संक्रमित भइसकेको तथ्यांक सार्वजनिक भइसकेको छ । त्यस्तै लाखौं मानिस गरिबीको रेखा मुनी धकेलिएको तथ्य पनि अगाडि छ ।
विश्वमा शक्तिशाली मानिएका राष्ट्रहरुले समेत कोरोना भाइरस नियन्त्रण गर्न नसकेको अवस्था छ । न्युजिल्यान्ड र भियतनाम जस्ता मुलुकले भने भाइरस संक्रमणलाई नियन्त्रण गर्ने कार्यमा तुलनात्मक सफलता हासिल गरेका छन् । विश्वकै शक्तिशाली राष्ट्र अमेरिका भाइरसबाट बढी प्रभावित भएको छ । अमेरिका लगायतका मुलुकमा अवस्था अझै भयावह छ ।
कोरोना भाइरसले विश्वका धेरै मुलुकका सरकारको अर्कमण्यतालाई उदाङ्गो बनायो । यस महामारीका विरुद्ध लड्न विकास गरिएको खोपलाई अनुमति दिएर प्रयोग सुरु गर्ने काम अघि बढे पनि तल्लो तहसम्म कहिलेदेखि उपलब्ध हुने भन्ने टुङगो छैन । यस किसिमको भाइरसले विश्वलाई फेरि पनि अक्रान्त बनाउने नै छ । त्यसको नियन्त्रणका लागि अहिलेको विश्वले कति पाठ सिकेको छ । त्यो भविष्यले अवश्य बताउने नै छ ।































प्रतिक्रिया