अष्ट्रेलिया ।
अष्ट्रेलियाली नागरिकहरुलाई आगामी अक्टोबर महिनासम्ममा कोरोना भाइरस विरुद्धको खोप दिइसक्ने अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिससले सोमबार जानकारी दिएका छन् । उनले नेसनल प्रेस क्लबमा सम्बोधनका क्रममा सो जानकारी दिएको क्यानबेराबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी गराएका छन् ।
प्रधानमन्त्री मरिससले भनेका छन्, “अष्ट्रेलियाली नागरिकलाई यसै वर्षको अक्टोबर महिनभित्र खोप दिइसक्ने कार्यक्रम यहाँको सरकारले बनाएको छ र मलाई लाग्छ यो अष्ट्रेलियाको इतिहासमै एउटा गाह्रो काम हुनेछ ।” यसका लागि अष्ट्रेलियाली सरकारले यहाँका सबै नागरिकलाई खोप लिनका लागि उत्साहित गरेको उनले बताए ।
त्यस सम्बोधनका क्रममा प्रधानमन्त्री मरिसनले अष्ट्रेलियाली नागरिकलाई खोप लाउने काममा प्रोत्साहन गर्नु पनि गाह्रो काम भएको तर्क राखेका थिए ।
यस प्रयोजनका लागि प्रधानमन्त्री मरिसनले सरकारले १९ अर्ब अष्ट्रेलियन डलर बराबरको बजेट छुट्याइएको पनि जानकारी दिएका छन् । अष्ट्रेलियाले यो कार्यक्रम अन्तर्गत यहाँका कम्तीमा पनि २ करोड ५० लाख अष्ट्रेलियाली नागरिकलाई खोप दिइने यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
यस प्रयोजनका लागि अष्ट्रेलियाले एक करोड डोज फाइजरको खोप बुकिङ गरिसकेको छ भने यी डोजहरु पहिलो चरणमा लगाइनेछ । त्यसपछि विस्तारै आवश्यकता अनुसार अरु डोजहरु पनि लगाइनेछ । रासस





























प्रतिक्रिया