काराकस,
पश्चिम भेनेजुएलाको ग्रामीण इलाकामा भएको एक बस दुर्घटनामा कम्तीमा १८ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । यस दुर्घटनामा १४ जनाको दुर्घटनास्थलमा नै मृत्यु भएको थियो । सोही दुर्घटनामा घाइते भएका ३३ जना भिल्ला डेल रसारियो अस्पतालमा उपचारको लागि भर्ना गरिएको र ती मध्ये पनि चार जनाको मृत्यु भएपछि सो सङ्ख्या १८ पुगेको प्रहरीले जनाएको छ ।
कोलोम्बियाको सीमा क्षेत्रमा पर्ने जुलिया राज्यको ग्रामीण इलाकामा यो दुर्घटना भएको थियो । सो दुर्घटनाको अनुसन्धान भइरहेको र द्रुतगतिमा सवारी साधन चलाएका कारण नै उक्त दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । बसमा ५८ जना यात्रु सवार रहेका प्रत्यक्षदर्शीले जानकारी दिएको स्थानीय पत्रिका पानोरामाले जनाएको छ ।
भेनेजुएलामा सडक मर्मत सम्भारमा कमी, जीर्ण सवारी साधन, चालकको लापर्वाही जस्ता कारणले बारम्बार सडक दुर्घटना हुने गरेको पाइन्छ । विश्व स्वास्थ्य संगठनले जारी गरेको एक प्रतिवेदनका अनुसार भेनेजुएलामा सन् २०१६ मा १० हजार ६ सय व्यक्तिको सडक दुर्घटनामा परी मृत्यु भएको थियो ।
रासस/एएफपी





























प्रतिक्रिया