फेसबुकको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत जुकरबर्ग नै

फेसबुकको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत जुकरबर्ग नै

केन्द्रबिन्दु
0
Shares

सान फ्रान्सिस्को,

मार्क जुकरबर्गलाई फेसबुकको अध्यक्षमा पुनः चयन गरिएको छ । यससँग फेसबुकका कतिपय लगानीकर्ताले उहाँलाई फेसबुक सञ्चालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी पदमा रहँदा यसका गतिविधिलाई हेर्न समस्या भएको र यसका कारण फेसबुकको साखमा समस्या आउन सक्ने विचार राख्दै अध्यक्ष पद छाड्न सुझाब दिएका थिए ।

फेसबुकको वार्षिक साधारणसभा गत बिहीवार भएको थियो । साधारण सभाले जुकरबर्ग प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक समितिका अध्यक्ष दुवै रहिरहने गरी अनुमोदन गरेको हो ।

फेसबुकमा जुकरबर्गको ६० प्रतिशत शेयर छ र उहाँले मतदानमा आफैँले आफूविरुद्ध मत हालेको भए मात्रै हार्ने सम्भावना रहेको थियो । साधारणसभाको परिणामले जुकरबर्ग थप समय पनि दुबै जिम्मेवारी सम्हाल्न तयार रहेको देखिएको छ । जुकरबर्गलाई अध्यक्षबाट हटाउन खोज्ने लगानीकर्ताहरू मध्येका एक ७० लाख डलर बराबरको शेयर भएको ट्रिलियम एसेट म्यानेजमेन्ट पनि हो ।

“संसारको एउटा विशाल कम्पनीमा अहिले उहाँले जुकरबर्गले दुईवटा महत्वपूर्ण पद ओगट्नु भएको छ । यदि प्रमुख कार्यकारी अधिकृतको भूमिकामा केन्द्रित भएर अरूलाई स्वतन्त्रतापूर्वक सञ्चालक समितिको अध्यक्षता गर्न दिए त्यो धेरै राम्रो स्थिति हुन्छ,“ ट्रिलियमका वरिष्ठ उपाध्यक्ष जोनस क्रोनले भन्नुभयो ।

तर जुकरबर्गले गत अप्रिलमा आफ्नो नेतृत्वको बचाउ गर्दै भन्नु भएको थियो, “हामीले त्रुटिबाट सिकेका छौँ कि छैनौँ त्यसबाट मानिसहरूले हामीलाई उत्तरदायी बनाउनुपर्छ भन्ने मलाई लाग्छ ।”

उहाँले साधारण सभापछि संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो, “अबका दिनमा फेसबुकले आफ्ना प्रयोगकर्ताहरूको तथ्याङ्कलाई थप गोप्य बनाउने प्रयास गर्नेछ ।”
रासस

Logo