मोदीको शपथग्रहण आज हुने

मोदीको शपथग्रहण आज हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण आज हुने कार्यक्रम छ । नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलि सो समारोहमा सहभागी हुन आज भारत जादैछन् । समारोहमा आठ मध्ये पाँच छिमेकी मुलुकलाई मात्रै निमन्त्रणा गरिएको छ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) सदस्यसमेत रहेका नेपाल, भुटान, बंगलादेश, म्यानमार र श्रीलंकालाई अतिथिका रूपमा निमन्त्रणा छ । तर, छिमेकी पाकिस्तान, अफगानिस्तान र चीनलाई निम्ता छैन ।

बिमस्टेक सदस्य थाइल्यान्डका कार्यकारी प्रमुखलाई पनि अतिथिका रूपमा निमन्त्रणा छ । सांघाई कोअपरेसन अर्गनाइजेसन (एससिओ) को अध्यक्षराष्ट्र किर्गिस्तान र भारतीय मूल बाहुल्य रहेको मोरिससका कार्यकारी प्रमुखलाई पनि शपथग्रहणमा निम्ता गरिएको छ । भारतीय विदेश मन्त्रालयले छिमेक प्रथम नीति अनुसार छिमेकी मुलुकलाई प्रधानमन्त्रीको शपथग्रहणमा बोलाएको जनाएको छ ।

मोदीले पहिलो कार्यकालका लागि १२ जेठ ०७१ मा शपथग्रहण गर्दा सार्कका सदस्य मुलुक डाकिएका थिए । तर, अहिले बिमस्टेक सदस्य राष्ट्रलाई प्राथमिकतामा राखिएको छ । अघिल्लो सपथमा पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज सरिफ शपथग्रहणमा सहभागी थिए ।

०७३ कात्तिकमा पाकिस्तानमा सार्क शिखर सम्मेलन हुन नसके पनि गत वर्ष भदौ दोस्रो साता काठमाडौंमा बिमस्टेकको चौथो शिखर सम्मेलन भएको थियो । मोदीले बिमस्टेक मुलुकका सरकार प्रमुखलाई शपथग्रहणमा निम्ता गर्नुलाई सार्कको अनिश्चित भविष्यका रूपमा हेर्न थालिएको छ ।
एजेन्सी

Logo