नयाँ दिल्ली
भारतमा जारी लोकसभा निर्वाचनका क्रममा मंगलबार तेस्रो चरणको निर्वाचन भएको छ । लोकसभाको तेस्रो चरणको मतदान अन्तर्गत मंगलबार १३ राज्य र दुई केन्द्रशासित प्रदेशमा गरी ११६ लोकसभा सिटका लागि मतदान सम्पन्न भएको हो ।
निर्वाचन आयोगका अनुसार तेस्रो चरणमा देशभर करिब ६५ प्रतिशत मत खसेको प्रारम्भिक विवरण आएको छ । यो सुरुवाती विवरण भएकाले यसमा फेरबदल हुनसक्ने आयोगको भनाई छ । यो चरणमा मतदान भएको ७४ सिट निर्णायक मानिएको छ ।
चुनावका क्रममा पश्चिम बंगालको मुर्शिदाबादमा काँग्रेस र टीएमसी कार्यकर्ताबीच हिंसात्मक झडप भएको छ । सो झडपमा परी एक युवाको मृत्यु भएको छ । निर्वाचन आयोगले यसबारेमा प्रशासनसँग रिपोर्ट माग गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनकी ९० वर्षीया आमा हीराबेन मोदीले गुजरातको अहमदाबादबाट मतदान गरेका छन् । प्रधानमन्त्री मोदीले अहमदाबादको रनिप क्षेत्रको निशान उच्च माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेका थिए । गुजरातमा बिहान ७ बजे नै मतदान केन्द्र खुलेका थिए ।
भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह पनि प्रधानमन्त्री मोदीसँगै मतदानस्थल पुगेका थिए । शाह पनि गुजरातको गान्धीनगर निर्वाचन क्षेत्रबाट लोकसभा सदस्यमा उम्मेदवार बनेका छन् । शाहले पनि गुजरातमै मतदान गरेका थिए ।
एजेन्सी































प्रतिक्रिया