इडाई समुद्री आँधीका कारण मोजाम्बिकमा ज्यान गुमाउनेहरूको सङ्ख्या एक हजार नाघेको हुनसक्ने त्यहाँका राष्ट्रपति फिलिपे नुसीले बताएका छन् ।
प्रतिघण्टा १७७ किलोमिटरको वेगमा आएको आँधीले बन्दरगाह शहर बेयरामा सबैभन्दा धेरै क्षति पुर्याएको छ । बिहीवारदेखि नै त्यहाँ ठूलो वर्षासहितको आँधीले क्षति पुर्याउन थालेको भए पनि सहायताकर्मीहरू भने आइतवारबाट मात्र त्यहाँ पुग्न थालेका हुन् ।
सोही आँधीका कारण अफ्रिकाका दक्षिणी भेगमा १८० जनाको मृत्यु भएको छ । बेयराको निरीक्षणमा गएका राष्ट्रपति नुसीले आँधीले ‘विध्वंसकारी प्रभाव’ पारेको बताएका छन् ।
उनले हवाई निरीक्षणका बेला बाढीको भेलमा मानिसहरूको शव तैरिरहेको देखेको बताए । झण्डै पाँच लाख मानिसको बसोवास रहेको बेयरामा उनीहरूले गरेको हवाई मुल्याङ्कनले ९० प्रतिशत शहर ध्वस्त भएको देखाएको छ ।
विश्व खाद्य कार्यक्रमका एक अधिकारीले आफूले बेयरामा आँधीले क्षति पुर्याउन नसकेको एउटा घर समेत भेट्न नसकेको बताए ।उद्दारकर्ताहरूले शहर बाहिर झनै विकराल समस्या भएको हुनसक्ने बताएका छन् । धेरै ठाउँमा बिजुली र सञ्चार सम्पर्क टुटेको छ। सडकहरू सहित धेरै ठाउँमा जमिन भासिएका छन् जसका कारण राहत कार्य झन चुनौतीपूर्ण हुने बताइएको छ ।
बीबीसीबाट





























प्रतिक्रिया