काठमाडौं । अमेरिकामा आज राष्ट्रपतिको निर्वाचन हुँदैछ । नोभेम्बर ५ का लागि तय भएको निर्वाचनमा अमेरिकीहरु आफ्नो मत जाहेर गर्न ब्यस्त छन् । राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीका तर्फबाट उपराष्ट्रपतिसमेत रहेकी कमला ह्यारिस र रिपब्लिकन पार्टीका तर्फबाट पूर्वराष्ट्रपति डाेनाल्ड ट्रम्प चुनावी मैदानमा छन् ।
अमेरिकाका अधिकांश राज्यहरुमा अर्लि भोटिङ अर्थात निर्वाचनको मिति भन्दा एक महिनाअघि देखि मत हाल्ने क्रम जारी छ । त्यही भएर पनि आजको दिन वुथहरुमा त्यति भिड लाग्दैन । अमेरिकीहरु अर्लि भोटिङ गर्न रुचाउँछन् । अमेरिकामा हुलाक, ईमेलमार्फत पनि आफ्नो मत जाहेर गर्न सकिन्छ ।
यस पटकको अमेरिकी राष्ट्रपतिको निर्वाचन रोचक र धेरै अर्थमा महत्वपूर्ण छ । दुई उम्मेदवारबीच अत्यन्तै प्रतिस्पर्धा देखिएको छ । निर्वाचनमा जसले इलेक्ट्रोल कलेज (निर्वाचन मण्डल) मत २७० कटाउँछ उही नै अमेरिकामा राष्ट्रपति निर्वाचित हुन्छ । कुल ५ सय ३८ इलेक्ट्रोल कलेजमध्ये बहुमतका लागि २७० जित्नै पर्ने हुन्छ ।
अमेरिकाको सबै ५० राज्यमा जनसंख्याका आधारमा कम्तीमा ३ देखि ५४ इलेक्ट्रोल कलेजको मतभार हुन्छ । सबैभन्दा बढी क्यालिफोर्निया राज्यमा ५४ छ भने तीन राज्यहरु वासिगंटन डीसी, भरमन्ट र डेलावेयरमा तीन—तीन इलेक्ट्रोल कलेज मत रहेको छ । अमेरिकी राष्ट्रपतिको निर्वाचन प्रत्यक्ष प्रणालीमार्फत नभई यही प्रतिनिधी मण्डल अर्थात इलेक्ट्रोल कलेजले गर्ने गर्छ । त्यसैले लोकप्रिय मत पाउने उम्मेदवार पनि राष्ट्रपति नबन्न सक्छ । यसअघि सन् २०१६ मा डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनले ट्रम्पभन्दा साढे ६ लाख बढी मत पाउँदा समेत राष्ट्रपति बन्न सकेकी थिइनन् ।
अमेरिकी निर्वाचनमा यसपटक १६ करोड १४ लाख मतदाता मताधिकारका लागि दर्ता भएका छन् । कानून बमोजिम १८ वर्ष उमेर पुगेका अमेरिकी नागरिक मतदानका लागि योग्य ठहरिन्छ ।
निर्वाचनको अघिल्लो दिनसम्म राष्ट्रपतिका दुई उम्मेदवार केही महत्वपूर्ण राज्यहरुमा केन्द्रित रहे । स्विङ स्टेट भनिने पेन्सिलभेनिया, मिचिगन, नर्थ क्यारोलाइना जस्ता राज्यमा ट्रम्प र ह्यारिस एकअर्काविरुद्ध आरोप प्रत्यारोपमा उत्रिएका थिए । स्विङ स्टेट अर्थात निर्वाचनको अन्तिम घडीसम्म अर्निर्णित राज्यहरु जसले जित्न सक्यो, राष्ट्रपति उही बन्ने निश्चित हुन्छ ।
मंगलवारको मतदानअघि अमेरिकाभर सात करोडभन्दा बढीले अर्लि भाेटिङमार्फत मतदान गरिसकेका छन् । अमेरिकाका विभिन्न मत सर्वेक्षणहरुले ट्रम्प र ह्यारिस बराबरीको अवस्थामा रहेको र अन्तिम परिणामका लागि स्विङ स्टेटको नतिजामा निर्भर रहेको देखाइरहेको छ ।
चुनावी अभियानका क्रममा रिपब्लिकन उम्मेदवार ट्रम्प आप्रवासी मुद्धामा बढी केन्द्रित देखिएका छन् । उनी आप्रवासीमाथी कडा नीति लागु गर्नू पर्ने पक्षमा छन् । डेमोक्रेटिक उम्मेदवार ह्यारिस भने मध्य वर्गको उत्थान, अर्थतन्त्र, विदेश नीतिलगायतका महत्वपूर्ण मुद्धामा केन्द्रित छिन् ।
ह्यारीसले निर्वाचन जिते उनी अमेरिकी इतिहासमै पहिलो महिला राष्ट्रपति बन्ने अवसर पाउनेछिन् । हालका राष्ट्रपति जो बाइडेनले आफ्नो घट्दो मानसिक क्षमता तथा पार्टीको चर्को दबावका बीच राष्ट्रपतिको प्रतिस्पर्धा छाड्दै ह्यारिसलाई अघि सारेका थिए । के अमेरिका इतिहास बनाउन तयार छ त ? अहिले यही प्रश्नको उत्तरको पर्खाईंमा सारा विश्व रहेको छ ।































प्रतिक्रिया