ट्रम्पको दोस्रो ह्वाइट हाउस यात्राः क्यासिनो अपरेटरदेखि अमेरिकी राष्ट्रपतिसम्मको नालीबेली [भिडियोसहित]

ट्रम्पको दोस्रो ह्वाइट हाउस यात्राः क्यासिनो अपरेटरदेखि अमेरिकी राष्ट्रपतिसम्मको नालीबेली [भिडियोसहित]

केन्द्रबिन्दु
54
Shares

काठमाडौँ । डोनाल्ड ट्रम्पका हजुरबुबा फ्रेडरिक ट्रम्प जर्मनीका एक हजाम थिए, ८ वर्षको हुँदा उनको बुवाको मृत्यु भयो । बाल्यकालदेखि नै कमजोर भएका कारण खेतीपाती गर्न सकेनन् ।

त्यसपछि उनकी आमाले उनलाई हजाम बन्ने तालिम दिइन् । तर, जर्मनीमा हरेक व्यक्तिले कम्तीमा ३ वर्ष सेनामा भर्ती हुनुपर्ने कानूनबाट डराएर फ्रेडरिकले १६ वर्षको उमेरमा देश नै छाडेर अक्टोबर १८८५ मा न्यूओर्क पुगे । अमेरिका आएपछि फ्रेडरिकले हजामकै कामलाई निरन्तरता दिन थाले ।

केही पैसा जम्मा गरेपछि उनले अलास्कामा सुन खानी व्यवसायमा हात हाले । यो व्यापार फस्टाउँदैे गएपछि फ्रेडरिक केही वर्षमै धेरै धनी भए र जर्मनी फर्किए । सन् १९०२ मा एलिजाबेथ क्राइस्ट नामकी केटीसँग विवाह गरे । पछि दुबै अमेरिका फर्किए । र एलिजाबेथले डोनाल्ड ट्रम्पका बुवा फ्रेड ट्रम्पलाई जन्म दिइन् ।


फ्रेडले कडा परिश्रम गरेर ट्रम्प साम्राज्यको निर्माण गरे । उनले अमेरिकामा ट्रम्प परिवारको प्रतिष्ठा निर्माण गर्न निकै मेहनत गरे । सन् १९२७ मा फ्रेडले आफ्नी आमाको नाममा ‘एलिजाबेथ ट्रम्प एन्ड सन्स’ नामक रियल स्टेट कम्पनी सुरु गरे । फ्रेड ट्रम्प ठूलो मात्रामा घर निर्माणमा संलग्न थिए, र छोटो समयमा उनी न्यूओर्कका सबैभन्दा सफल युवा व्यापारीमध्ये एक भए । सन् १९३६ मा फ्रेडले मेरी एनी म्याकलोड नामक स्कटिश महिलासँग विवाह गरे । र सन् १९४६ जुन १४ मा न्यूयोर्कमा डोनाल्ड ट्रम्पको जन्म भयो ।

डोनाल्ड फ्रेडका पाँच सन्तानमध्ये चौथो हुन् । डोनाल्ड ट्रम्पले न्यूओर्कमा ७ कक्षासम्म पढे ।स्कुल पढ्दादेखि नै आक्रामक व्यवहारबाट हैरान भएका उनका बुवाले उनलाई न्यूयोर्क मिलिटरी स्कूलमा भर्ना गराए । १३ वर्षको उमेरमा डोनाल्ड मिलिटरी स्कुल जान बाध्य भए ।

सन् १९६४ मा सैन्य विद्यालयबाट उत्तीर्ण भएपछि ट्रम्पले फोर्डहम विश्वविद्यालयमा दुई वर्ष अध्ययन गरे । त्यसपछि उनी पेन्सिलभेनिया विश्वविद्यालयमा गए । यहाँ उनले घर जग्गा कार्यक्रममा शिक्षा प्राप्त गरे । यसपछि ट्रम्पले सन् १९६८ मा इकोनोमिक साइन्समा डिग्री लिए ।

सन् १९६० को दशकको उत्तरार्धमा अमेरिका भियतनाम युद्धमा फसेका समयमा अमेरिकामा प्रत्येक जवान मानिसलाई अमेरिकी सेनामा सेवा गर्न आवश्यक थियो । तर, ट्रम्पले त्यसलाई बेवास्ता गरिरहे । खुट्टाको रोग र मेडिकल अध्ययनको बहाना बनाएर उनले ५ पटक सेनाको सदस्य हुन अस्वीकार गरे । भियतनाम युद्धको अन्त्यसँगै अमेरिकामा अनिवार्य सैन्य सेवाको अभ्यास पनि समाप्त भयो ।

त्यतिबेलासम्म ट्रम्प जवान भइसकेका थिए र सन् १९७७ मा चेकोस्लोभाकियाकी मोडेल इभानासँग विवाह गरे । तर, यो सम्बन्ध धेरै टिकेन । उनीहरुको सम्बन्धविच्छेद सन् १९९० को डिसेम्बरमा भएको थियो । त्यतिबेला ट्रम्पले इभानालाई करिब ५० करोड रुपैयाँ तिर्नुपरेको थियो । त्यसपछि ट्रम्पले मोडल मार्ला म्यापल्ससँग विवाह गरे । यो सम्बन्ध पनि ३ वर्ष मात्र टिक्यो । दुबैले सन् १९९७ मा सम्बन्धविच्छेद गरेका थिए । त्यसपछि स्लोभेनियाली मोडल मेलानियासँग सन् २००५ मा विवाह गरे । ट्रम्पका ५ छोराछोरी छन् ।

उनै ट्रम्प अहिले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनी अमेरिकाका धनी नेताहरूमा पनि गनिन्छन् । यसको श्रेय डोनाल्डका जेठो दाई फ्रेड जूनियरलाई जान्छ । जुनियरले आफ्नो बुबाको व्यवसायमा सामेल हुन अस्वीकार गरेर पाइलट बनेका थिए । जसका कारण ट्रम्प परिवारको व्यापार सम्हाल्ने सम्पूर्ण जिम्मेवारी कान्छो भाइ डोनाल्ड ट्रम्पको काँधमा पुगेको थियो । यस समयमा उनी केवल १८ वर्षका थिए ।

ट्रम्पका अनुसार पिताले उनलाई कम्पनीमा आबद्ध हुनुअघि १० लाख डलर ऋण दिएका थिए । कम्पनीमा आबद्ध भएपछि ट्रम्पले आफ्नो बुबालाई न्यूयोर्क शहरमा आवासीय परियोजनामा मद्दत गर्न थाले।

उनले कम्पनीको नाम परिवर्तन गरेर द ट्रम्प अर्गनाइजेसन राखे । २५ वर्षको उमेरमा डोनाल्ड ‘द ट्रम्प अर्गनाइजेसन’को अध्यक्ष बने । राष्ट्रपति बनेपछि सन् १९७० र १९८० को दशकमा ट्रम्प महत्वाकांक्षी घरजग्गा व्यवसायीको रूपमा उभिए । ट्रम्पले कम्पनीलाई आवासीय परियोजनाका साथै लक्जरी होटल, क्यासिनो र गगनचुम्बी भवन निर्माणमा लगानी गरेका थिए ।

सन् १९७६ मा ट्रम्पले आफ्नो व्यावसायिक जीवनको सबैभन्दा ठूलो निर्णय लिएका थिए । उनले न्यूओर्कको टाट पल्टिएको कमोडोर होटल किने र त्यसको ठाउँमा विलासी होटल निर्माण गर्न हयात समूहसँग सम्झौता गरे । तर, त्यसबेला ट्रम्पसँग यसका लागि पर्याप्त पैसा थिएन ।

यस समयमा उनले आफ्नो बुबाको राजनीतिक प्रभावको फाइदा उठाए । बुबा डेमोक्रेटिक पार्टीसँग आवद्ध थिए। उनले न्यूओर्कका मेयरसँग सम्झौता गरे र होटल करमा ४० वर्षको छुट पाए । त्यसपछि ट्रम्पको बारेमा भनिएको थियो कि उनी न्यूयोर्कमा जे चाहन्छन् त्यही हासिल गर्छन् । यसपछि सन् १९८३ मा ट्रम्पले न्यूयोर्क शहरको म्यानह्याटनको फिफ्थ एभिन्यूमा ५८ तले भवन निर्माण गरेका थिए । यसलाई ट्रम्प टावर भनिन्छ ।

ट्रम्प ८० को दशकमा क्यासिनो व्यवसायमा प्रवेश गरेका उनले सन् १९८४ मा ट्रम्प प्लाजा र १९९० मा ट्रम्प ताजमहल जस्ता क्यासिनो बनाएका थिए । ट्रम्पले ताजमहल क्यासिनो बनाउन १ अर्ब डलर खर्च गरेका थिए । त्यसपछि उनले यसलाई संसारको आठौं आश्चर्य भने । तर, टाट पल्टिए । ट्रम्पले सन् १९९६ मा मिस युनिभर्स, मिस यूएसए र मिस टिन युएसए गरी तीनवटा सौन्दर्य प्रतियोगिता किनेका थिए । यसैबाट उनी विश्व स्तरमा चिनिए ।

ट्रम्पले हलिउड फिल्म र सिरिजमा पनि अभिनय गरेका छन् । ट्रम्पले पहिलो पटक सन् १९८९ मा ‘गोस्ट्स कान्ट डु इट’ मा अभिनय गरेका थिए । यसबाहेक उनले ‘होम अलोन २ लस्ट इन न्यूयोर्क’, ‘द लिटिल रास्कल’, सेक्स एन्ड द सिटी जस्ता करिब ३० फिल्म र सिरिजमा काम गरे । ट्रम्पले कुस्तीको संसारमा पनि आफूलाई चिनाएका छन् । न्यूओर्क टाइम्सकाअनुसार, उनले १९८८ र १९८९ मा रेसल मनिया प्रायोजित गरे । उनी १९९१ र २००४ मा डब्ल्यूडब्ल्यूईमा पनि देखा परेका थिए । यस बाहेक उनी सन् २००७ मा डब्ल्यूडब्ल्यूईका पूर्व सीईओ भिन्स म्याकमोहनसँग बिलियनेयरको युद्धमा पनि लडेका थिए ।

यतिबेलासम्म ट्रम्पले रिपब्लिकन पार्टीका सदस्य लिँदै राजनीतिमा आफ्नो उपस्थिती जनाइसकेका थिए । तर, सन् २००० मा ट्रम्पले रिपब्लिकन पार्टीको सट्टा रिफर्म पार्टीमा दर्ता गराए र उनले आफूलाई रिफर्म पार्टीबाट राष्ट्रपतिको उम्मेदवार घोषणा गरे । तर, चार महिनापछि नाम फिर्ता लिए । ट्रम्प पछि फेरि रिपब्लिकन पार्टीमा सामेल भए । सन् २०१२ मा ट्रम्पलाई एक पटक फेरि राष्ट्रपति पदको उम्मेदवारको लागि बलियो दावेदार मानिएको थियो ।

ट्रम्पले राष्ट्रपतीय चुनाव लड्ने कुनै घोषणा नगरेपनि बारम्बार तत्कालीन राष्ट्रपति बाराक ओबामाको अमेरिकी जन्मको बारेमा प्रश्न उठाएका थिए । ट्रम्प सन् २०१५ मा आधिकारिक रूपमा अमेरिकी राजनीतिमा प्रवेश गरेका थिए । उनले रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवारको रुपमा चुनाव लड्ने घोषणा गरे । ट्रम्पले ‘मेक अमेरिका ग्रेट अगेन’ भन्ने नाराका साथ चुनावी अभियान सुरु गरेका थिए । योपटक पनि उनको यही नारा जीतको भागिदार बन्यो ।

२०१६ मा ट्रम्प उनका अन्तिम दुई प्रतिद्वन्द्वी टेड क्रुज र जोन कासिच दौडबाट बाहिरिएपछि रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार बने । निर्वाचनमा ट्रम्पले डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टनसँग प्रतिस्पर्धा गरेका थिए । उनले चुनावमा हिलारीको तुलनामा करिब २८ लाख कम भोट पाएका थिए तर, धेरै इलेक्टोरल भोट ट्रम्पको पक्षमा आएका थिए । जसका कारण सन् २०१७ मा ट्रम्प अमेरिकाको ४५औं राष्ट्रपतिमा चुनिए ।

राष्ट्रपति हुँदा ट्रम्पलाई दुई पटक महाभियोग लगाइएको थियो । यी परिस्थितीको सामना गरे र पछि निर्दोष सावित भए ।
तर, जनताले ट्रम्पलाई दोस्रोकार्यका लागि २०२० मा चुनेनन् । डेमोक्र्याटिक पार्टीका जो बाइडेनले उनलाई पराजित गरेका थिए ।
विभिन्न आलोचनाका बीच यो चार वर्षमा उनले राम्रै पुनरागमन गरे । २०२० को चुनाव हारे पनि कुनै पनि रिपब्लिकन नेताले ट्रम्पलाई राष्ट्रपतिको उम्मेदवारको रूपमा बदल्न सकेनन् । उपराष्ट्रपति कमला ह्यारिसलाई हराउँदै ४७औं अमेरिकी राष्ट्रपतिमा निर्वाचित भए र दोस्रोपटक ह्वाइट हाउस यात्रा तय गरेका छन् ।

७८ वर्षीय ट्रम्प अमेरिकी इतिहासका सबैभन्दा पाका राष्ट्रपति पनि बनेका छन् । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उनले १३२ वर्षपछि नयाँ रेकर्ड बनाएका छन् । उनी अमेरिकी इतिहासमा १३२ वर्षपछि पहिलो प्रयासमा राष्ट्रपति बनेर दोस्रो निर्वाचन हार्दै तेस्रो प्रयासमा फेरि राष्ट्रपति निर्वाचित भएका हुन् ।

ट्रम्पको दोस्रो सत्तारोहणसँगै फेरि पनि विश्वको नजर अमेरिका र ट्रम्प माथी नै अडिएको छ । चुनावी अभियानका दौरान अमेरिकी विदेश नीतिमा व्यापक परिवर्तनको आवश्यकता औंल्याउँदै आएका ट्रम्प अब विदेश नीतिमा बदलाव गर्नसक्ने भूमिकामा आइपुगेका छन् । अघिल्लो कार्यकालमा ट्रम्पको चाहनालाई सिनेटबाट रोक्ने विकल्प बाँकी थियो ।

यसपटक शक्तिशाली मानिने माथिल्लो सदन अर्थात सिनेटमा रिपब्लिकन पार्टीको बलियो बहुमत छ । यो सिनेटले महाभियोग र विदेशी सम्झौता जस्ता महत्वपूर्ण मुद्दामा निर्णय गर्ने अधिकार राख्छ । ट्रम्पको उदयले युक्रेन र रसियाको युद्ध, इजरायल र प्यालेस्टाइनको युद्धको भविष्य अनिश्चित बनेको छ । यहाँ वर्तमान राष्ट्रपति बाइडेनले सघाइरहेका थिए ।

अमेरिकीहरूले निर्वाचनमा ट्रम्पमाथि खास गरी आप्रवासनको मुद्दा र अर्थतन्त्र दुईवटा विषयमा जनताले भरोसा गरेको देख्न सकिन्छ –। यसमा पनि ट्रम्पकै कार्ड चल्नेछ । अघिल्लो कार्यकालमा उत्तर कोरियासँग वार्ता होस् वा चीनसँग व्यापार युद्ध हुँदै सम्झौता, अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्ती होस् वा इरान सम्झौता खारेज, ट्रम्पका निर्णयहरू परम्परागत अमेरिकी नीति र अभ्यासको प्रतिध्रुवीय निर्णय थियो । योपटक केके गर्लान् त्यो त हेर्नै बाँकी छ ।

Skip This
Skip This
Logo