काठमाडौं । अमेरिकाले शनिबार इरानका तीन मुख्य आणविक केन्द्र फोर्डो, नातान्ज र इस्फहानमा हवाई आक्रमण गर्याे । इजरायलले इरानमाथि गरिरहेको हमलामा अमेरिका पहिलाेपटक प्रत्यक्ष रूपमा जोडिएको हाे ।
यस आक्रमणले क्षेत्रीय तनाव र युद्धको सम्भावना बढाएको छ। यस घटनाले विश्व अर्थतन्त्र र तेल कारोबारमा पनि प्रभाव पार्ने सम्भावना रहेको विश्लेषकहरूले बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल मार्फत भने, “सबै विमानहरू अहिले इरानको आकाशबाट बाहिर छन्। फोर्डोमा मुख्य स्थलमा पूर्ण बमबारी गरियो।” यस घटनाले विश्वव्यापी रुपमा नयाँ तनाव सिर्जना भएको छ।
अमेरिका र इजरायलकाे त्रासकाे कारण बनेकाे इरानका फोर्डो, नातान्ज र इस्फहानमा के छ ?
१. फोर्डो
फोर्डो इरानको सबैभन्दा गोप्य र अत्यधिक सुरक्षित आणविक सुविधा हो, जुन पहाडभित्र करिब ३०० फिट गहिराइमा गाडिएको छ। यसको सुरक्षाका लागि सशक्त हवाई प्रतिरक्षा प्रणाली जडान गरिएको छ ।
यसको यो भूमिगत र सुदृढिकृत संरचनाले गर्दा यसलाई परम्परागत हतियारले नष्ट गर्न असम्भव प्रायः मानिन्छ। विज्ञहरूका अनुसार, यसलाई ध्वस्त पार्न अमेरिकामा निर्मित जीबीयु- ५७ एमओपीजस्ता “बंकर-बस्टर” बमको आवश्यकता पर्न सक्छ, जुन केबल अमेरिकी बी-२ बमवर्षक विमानले मात्र बोक्न सक्छ। जसले ३०,००० पाउन्डको ‘बंकर बस्टर’ बम बोक्न सक्षम छन् र फोर्डोजस्ता भूमिगत सुविधालाई निशाना बनाउन सक्ने एक मात्र हतियार मानिन्छन्।
२०१५ को आणविक सम्झौतामा हस्ताक्षर गर्दा फोर्डोको संवर्धन गतिविधि रोकिएको थियो र यसलाई शान्तिपूर्ण वैज्ञानिक प्रयोगका लागि पुनः प्रयोग गर्ने योजना थियो। तर, २०१८ मा ट्रम्पले सम्झौताबाट बाहिरिएपछि, इरानले फोर्डोमा संवर्धन पुनः सुरु गरेको थियो। २०२५ सम्ममा, लगभग २ हजार सेन्ट्रीफ्युजहरू, जसमा उन्नत आईआर -६ मोडेलहरू पनि समावेश छन्, यसले प्रत्येक तीन महिनामा लगभग १६६ किलोग्राम ६० प्रतिशत समृद्ध युरेनियम उत्पादन गरिरहेको बताइएको थियो।
सन् २०२३ को सुरुमा, आईएईएले फोर्डोमा करिब ८४ प्रतिशत शुद्धताको युरेनियम कणहरू फेला पारेको बताएको थियो। यो आणविक हतियारका लागि आवश्यक ९० प्रतिशत शुद्धताको धेरै नजिक छ । यसले इरान आणविक हतियार निर्माणको लागि आवश्यक संवर्धनको साथ “प्रयोग” गरिरहेको संकेत गर्छ। तर, हालको अमेरिकी हमलाले यसको अवस्थामा ठूलो परिवर्तन ल्याएको देखिन्छ ।
२. नातान्ज
इरानको युरेनियम संवर्धनको ‘मुकुट मणि’ भनेर चिनिने नातान्ज अर्को प्राथमिक युरेनियम संवर्धन स्थल हो । याे आणविक भट्टी तेहरानबाट करिब २२० किलोमिटर दक्षिणपूर्वमा अवस्थित छ । यो स्थान लामो समयदेखि इजरायल र पश्चिमी राष्ट्रहरूको प्रमुख चासोको विषय बनेको छ। हालै यहाँ इजरायली हमलाको निशाना बनेको थियो, जसले गर्दा यसको माथिल्लो भागमा क्षति पुगेको थियो ।
आईएईएअनुसार, इजरायली हमलाले यहाँका अधिकांश सेन्ट्रीफ्युजहरू नष्ट गरेको थियो तर वरिपरिको क्षेत्रमा प्रदूषण नभएको बताइएको थियो । नातान्जमा ५०,००० भन्दा बढी सेन्ट्रीफ्युजहरू सञ्चालनमा थिए, जसमध्ये धेरै भूमिगत छन् ।
यहाँ युरेनियमलाई ६० प्रतिशत शुद्धतासम्म संवर्धन गरिन्छ । यो स्तर आणविक हतियारको लागि आवश्यक ९० प्रतिशत शुद्धताबाट थोरै मात्र टाढा छ । यो रेडियोधर्मी स्तर हो तर यो हतियार-ग्रेड युरेनियमको नजिक पुगेको मानिन्छ। हालैका समाचारहरूका अनुसार, नातान्ज पनि अमेरिकी हवाई हमलाको निशाना बनेको छ । पहिले इजरायलले यसको माथिल्लो भागमा आक्रमण गर्दा भूगर्भीय सेन्ट्रीफ्युज सुविधामा कुनै असर परेको थिएन, तर विद्युत आपूर्ति अवरुद्ध भएको थियो।
३. इस्फाहान
इस्फाहानमा इरानको सबैभन्दा ठूलो आणविक अनुसन्धान केन्द्र, युरेनियम रूपान्तरण सुविधा र आणविक इन्धन निर्माण प्लान्ट छन्। इजरायलले इस्फाहान आणविक स्थलमा रहेका भवनहरूमा हमला गरेको थियो, जसमा युरेनियम रूपान्तरण सुविधा पनि समावेश छ । याे आणविक प्रविधि केन्द्र सन् १९८४ मा चीनको सहयोगमा स्थापना भएको मानिन्छ । जहाँ हजाराैं वैज्ञानिकहरू कार्यरत छन्।
जुलाई २०२२ मा, इरानले इस्फाहान साइटमा एउटा नयाँ आणविक अनुसन्धान रिएक्टर निर्माण गर्ने योजना घोषणा गरेको थियो, यसले इरानको आणविक क्षमता विस्तार गर्ने महत्वाकांक्षालाई थप बल पुर्याएको थियो ।
हालै सार्वजनिक भएका रिपाेर्टहरूले इस्फाहान पनि अमेरिकी हवाई हमलाको निशाना बनेको पुष्टि गरेका छन्। इजरायली सेनाले यस क्षेत्रमा दुईवटा सेन्ट्रीफ्युज उत्पादन स्थललाई निशाना बनाएको र त्यहाँबाट धुवाँ उठेको देखिएको बताएको थियो। स्थानीय अधिकारीहरूले हमलाले सुविधालाई क्षति पुर्याए पनि मानवीय क्षति नभएको र विकिरण नफुटेको बताएका छन्। इजरायलले इस्फाहानमा गरेको यो दोस्रो हमला भएको र यसको उद्देश्य इरानको आणविक कार्यक्रमलाई नष्ट गर्नु रहेको बताएको छ।
स्याटेलाइट तस्बिर विश्लेषणले यो सुविधामा क्षति पुगेको पुष्टि गरे पनि, यसको वास्तविक सञ्चालन स्थितिबारे भने हालसम्म अस्पष्ट रहेको छ।





























प्रतिक्रिया