कायरो
इजिप्टको अदालतले सन् २०१३ मा भएको विरोध प्रदर्शनमा सामेल भएको आरोपमा ७५ जनालाई मृत्युदण्डको सजायँ सुनाएको छ । अदालतले यो फैसला सन् २०१३ मा इजिप्टका तत्कालीन राष्ट्रपति मोहम्मद मोर्सीको समर्थनमा भएको हिंस्रक विरोध प्रदर्शनमा सामेल भएकाहरु विरुद्ध सुनाएको हो ।
यो प्रदर्शनमा सामेल भएको आरोपमा ७ सय भन्दा बढीलाई अभियुक्त बनाइएको थियो । सन् २०१३ मा इजिप्टको राजधानी कायरोमा भएको विरोध प्रदर्शनका क्रममा सुरक्षाफौजले करिब ८ सय जनाको हत्या गरेको बताइन्छ ।
सो घटनामा संलग्न मध्ये केहीलाई आजीवन काराबासको फैसला सुनाइएको छ । एम्नेस्टि इन्टरनेशनलले अदालतको यो फैसलाको निन्दा गरेको छ । एम्नेस्टिले त्यति धेरै प्रदर्शनकारीको हत्या भएको सो प्रदर्शनमा एक जना पनि प्रहरीलाई सजाय नहुनु हाँस्यास्पद भएको जनाएको छ ।
एम्नेस्टि इन्टरदेशनलका हुसैन बामीले भने, ‘अदालतले अभियुक्तको पक्षमा सबै प्रत्यक्षदर्शी र सबुद पेश गर्न दिएन । तर अर्को पक्षले जे पनि अदालतमा ल्याएको कुरालाई स्वीकार ग¥यो । सबै ७५ जनालाई मृत्युदण्डको सजाय राजनीतिक रुपले प्रेरित छ । यसबाट मानिसहरुलाई सरकारविरुद्ध प्रदर्शन गर्नेलाई यस्तै सजाय दिइन्छ भन्ने संकेत दिन खोजिएको छ । त्यही सुरक्षाकर्मीलाई सजिलै माफी पनि मिलेको छ ।’
सन् २०१३ मा धेरै जसो प्रदर्शनकारी राजधानी कायरोको राबा अल–अदवियामा मारिएका थिए । यी प्रदर्शनकारी पूर्वराष्ट्रपति मोहम्मद मोर्सीका समर्थक र मुस्लिम ब्रदरहुडका सदस्य थिए ।
प्रदर्शनकारीलाई तितरवितर पार्ने सुरक्षाकर्मीको फोटो खिच्ने फोटो पत्रकार महमुद अबु जैदलाई ५ वर्षको जेल सजायँ सुनाइएको छ । यद्यपि उनी चाँडै रिहा हुनेछन् । किनकि उनले मुद्दाको सुनुवाईका क्रममा नै ५ वर्ष जेलमा बिताइसकेका छन् ।





























प्रतिक्रिया