काठमाडाैं । युवा प्रदर्शनकारीहरूको विश्वव्यापी “जेन जेड” विद्रोहको केही हप्ताभित्रै अफ्रिकी राष्ट्र मडागास्करका राष्ट्रपति एन्ड्री राजोएलिनाले देश छाडेका छन् । यो सँगै जेन जेड प्रदर्शनका कारण सरकार ढलेको यो दोस्रो घटना हो।
संसदका विपक्षी नेता सिटेनी रान्द्रियानासोलोनीआइकोले रोयटर्सलाई बताएअनुसार सेनाका केही एकाइहरू प्रदर्शनकारीसँग मिलेपछि राष्ट्रपति राजोएलिनाले आइतबार मेडागास्कर छोडेका हुन्।
रान्द्रियानासोलोनीआइकोले भने, “हामीले राष्ट्रपति कार्यालयका कर्मचारीहरूलाई फोन गर्यौं, र उनीहरूले उहाँले देश छाडेको पुष्टि गरे ।” यद्यपि राजोएलिनाको हालको ठेगाना अज्ञात रहेको उनले बताए। राष्ट्रपति कार्यालयले भने टिप्पणीका लागि गरिएको अनुरोधको जवाफ दिएको छैन।
सोमबार राति फेसबुकमा राष्ट्रको नाममा सम्बोधन गर्दै राजोएलिनाले आफ्नो जीवन रक्षाका लागि सुरक्षित स्थानमा जान बाध्य भएको बताएका छन् । उनले आफ्नो ठेगाना खुलाएनन् तर “मेडागास्करलाई ध्वस्त पार्न नदिने” भन्दै आफू अझै पनि अडिग रहेको बताए।
कूटनीतिक स्रोतले उक्त सम्बोधनपछि राजोएलिनाले पद छोड्न अस्वीकार गरिरहेको बताएको छ ।
विरोध प्रदर्शनहरू सेप्टेम्बर २५ मा पानी र बिजुलीको अभावलाई लिएर सुरु भएको थियो तर छिट्टै भ्रष्टाचार, खराब शासन र आधारभूत सेवाहरूको कमीलगायतका व्यापक गुनासोहरूलाई लिएर विद्रोहमा परिणत भएको थियो। यो आक्रोश हालै नेपाल, जहाँ प्रधानमन्त्रीलाई गत महिना राजीनामा दिन बाध्य पारिएको थियो, र मोरक्कोसहितका देशहरूमा शासक वर्गविरुद्ध भएका विरोध प्रदर्शनहरू जस्तै देखिन्छ।
एक सैन्य स्रोतले रोयटर्सलाई बताएअनुसार राजोएलिना आइतबार फ्रान्सेली सैन्य विमानमा पूर्व फ्रान्सेली उपनिवेश मडागास्करबाट उडेका थिए। फ्रान्सेली रेडियो आरएफआईले उनले राष्ट्रपति इमानुएल म्याक्रोनसँग सम्झौता गरेको बताएको छ।
उनले मेडागास्करमा संवैधानिक व्यवस्था कायम राख्नुपर्ने र फ्रान्सले देशका युवाहरूको गुनासो बुझे पनि ती गुनासोहरूलाई सैन्य गुटहरूले प्रयोग गर्नु नहुने बताए।
सैन्य स्रोतले फ्रान्सेली सेनाको ‘कासा’ विमान आइतबार मडागास्करको सेन्टे मारी विमानस्थलमा अवतरण गरेको बताए। स्रोतका अनुसार “पाँच मिनेटपछि, एउटा हेलिकप्टर आइपुग्यो र त्यसले यात्रुलाई कासामा स्थानान्तरण गर्यो,” र राजोएलिना नै ती यात्रु रहेको बताएको छ।
सन् २००९ को कू (सत्तापलट) मा राजोएलिनालाई सत्ता कब्जा गर्न मद्दत गर्ने एलिट इकाई ‘क्यापस्याट’को समर्थन गुमाएपछि राजोएलिना झन् एक्लो देखिएका थिए।
क्यापस्याटले सप्ताहन्तमा प्रदर्शनकारीहरूसँग मिलेर उनीहरूमाथि गोली चलाउन अस्वीकार गरेको बताएको थियो र राजधानी अन्टानानारिभोको मुख्य चोकमा हजारौं प्रदर्शनकारीहरूलाई सहयोग गरेको थियो। यसले त्यसपछि सेनाको जिम्मेवारी लिने र नयाँ सेना प्रमुख नियुक्त गर्ने घोषणा गर्यो, जसले राजोएलिनालाई आइतबार हिन्द महासागरको यस टापु राष्ट्रमा सत्ता कब्जा गर्ने प्रयासबारे चेतावनी दिन बाध्य बनायो।
राष्ट्रपति नभएको अवस्थामा, सिनेटका नेताले चुनाव नभएसम्म पद सम्हाल्छन्।





























प्रतिक्रिया