भेनेजुएलाविरुद्ध सिआइएको कारबाहीलाई राष्ट्रपति ट्रम्पको स्वीकृति

भेनेजुएलाविरुद्ध सिआइएको कारबाहीलाई राष्ट्रपति ट्रम्पको स्वीकृति

केन्द्रबिन्दु
15
Shares

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भेनेजुएलाविरुद्ध गोप्य रूपमा केन्द्रीय गुप्तचर एजेन्सी (सिआइए) लाई कारबाही गर्न अनुमति दिएको सङ्केत गरेका छन् । साथै उनले दक्षिण अमेरिकी यस राष्ट्रमा भूमिगत रूपमा रहेका कथित ड्रग कार्टेलहरू विरुद्ध स्थलीय आक्रमण गर्ने विकल्पबारे पनि विचाराधीन रहेको बताए ।

राष्ट्रपति ट्रम्पको उक्त टिप्पणीपछि भेनेजुएलाका वामपन्थी नेता निकोलस मदुरोले तीव्र प्रतिक्रिया जनाउँदै ‘सिआइएले गराएको कू’ को घोर निन्दा गरे र क्यारिबियन क्षेत्रमा अमेरिकी नौसैनिक आक्रमणपछि आफ्ना सेनालाई व्यापक सैन्य अभ्यासको आदेश दिए ।

न्युयोर्क टाइम्सले मदुरोविरुद्ध सिआइएलाई गुप्त रूपमा कारबाहीको स्वीकृति दिएको समाचार प्रकाशित गरेको थियो । उक्त समाचारबारे विस्तृत प्रश्न सोधिँदा राष्ट्रपति ट्रम्पले ‘मैले वास्तवमा दुई कारणले अनुमति दिएँ’ भन्दै मदुरोको सरकारलाई ‘नार्को–आतङ्कवादी शासन’ को संज्ञा दिए । उनले जेलका कैदीहरूलाई मुक्त गरी संयुक्त राज्य अमेरिका पठाएको आरोप दोहोर्‍याए ।

पत्रकारहरूले ‘के उनले सिआइएलाई मदुरोलाई हटाउने अधिकार दिनुभएको हो ?’ भनी सोधेको प्रश्नमा उनले भने, “यो प्रश्न नै हास्यास्पद छ । वास्तवमा हास्यास्पद प्रश्न होइन, तर यसको जवाफ दिनु भनेको हास्यास्पद कुरा हो ।”

राष्ट्रपति ट्रम्पले भेनेजुएलाका कथित लागुऔषध कार्टेलहरू विरुद्ध समुद्रमा भएका घातक नौसैनिक कारबाहीपछि भूमिमा पनि सैन्य अभियान विस्तार गर्ने सम्भावनाबारे विचार भइरहेको जानकारी दिए । “हामी अहिले भूमिगत विकल्प हेर्दैछौँ किनभने समुद्रमा त हामीले राम्रो नियन्त्रण पाइसकेका छौँ”, उनले ओभल अफिसमा पत्रकारहरूलाई भने ।

हालै क्यारिबियनमा अमेरिकी डुङ्गामाथि भएको आक्रमणमा कम्तीमा २७ जनाको मृत्यु भएको बताइएको छ । ट्रिनिडाड एन्ड टोबागोका अधिकारीहरूले मारिएका मध्ये दुई जना आफ्ना नागरिक हुन सक्ने भन्दै अनुसन्धान सुरु गरेको जनाएका छन् ।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले संयुक्त राष्ट्रसङ्घलाई ट्रम्पविरुद्ध ‘आपराधिक प्रक्रिया’ सुरु गर्न आह्वान गरेका छन् । उक्त आक्रमणमा कोलम्बियाली नागरिकहरू पनि मारिएको उनको विश्वास छ । विशेषज्ञहरूले अन्तर्राष्ट्रिय जल क्षेत्रमा बिना रोकथाम वा सोधपुछको कारबाही गर्दै घातक बल प्रयोग गर्नु कानूनी रूपमा विवादास्पद भएको टिप्पणी गरेका छन् । -एएफपी

Logo