एयर फोर्स वन (अमेरिका) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार संविधानमा तोकिएको सीमा स्वीकार गर्दै आफूलाई तेस्रो कार्यकालका लागि चुनाव लड्ने अनुमति नभएको स्पष्ट रूपमा बताएका छन् ।
संविधानअनुसार अमेरिकी राष्ट्रपतिलाई अधिकतम दुई कार्यकालसम्म मात्र शासन गर्न सकिने प्रावधान छ । यही सीमालाई स्वीकार गर्दै ट्रम्पले भने, “मसँग इतिहासकै सबैभन्दा उच्च जनमत छ, तर मैले पढेको आधारमा मलाई तेस्रो पटक चुनाव लड्न अनुमति छैन । यो साँच्चै निकै नराम्रो कुरा हो ।”
७९ वर्षीय राष्ट्रपति ट्रम्प र उनका समर्थकबीच सन् २०२८ को चुनावमा पुनः उम्मेदवारीबारे चर्चाले अमेरिकामा लामो समयदेखि ध्यान आकर्षित गरिरहेको छ । उनका विरोधीहरूले यसलाई चिन्ताको रूपमा लिँदा समर्थकहरूले भने जयजयकार गर्दै उनलाई निरन्तर शासनको आग्रह गर्दै आएका छन् ।
सन् २०१७ देखि सन् २०२१ सम्म पहिलो कार्यकाल पूरा गर्नुभएका ट्रम्पले हालै जनवरीमा दोस्रो कार्यकाल सुरु गरेका हुन् । संवैधानिक प्रतिबन्ध हुँदाहुँदै पनि उनका केही कट्टर समर्थकहरूले उनलाई हालको कार्यकालपछि पनि शासनमा रहिरहन आग्रह गर्दै आएका छन् ।
पूर्व रियालिटी टेलिभिजन स्टार ट्रम्पले केही समयअघि ओभल अफिसको डेस्कमा ‘ट्रम्प २०२८’ लेखिएको रातो टोपी प्रदर्शन गरेका थिए, जसले पुनः तेस्रो कार्यकालको चर्चा चुल्याएको थियो ।
उनका समर्थकमाझ एउटा लोकप्रिय धारणा छ कि उपराष्ट्रपति जेडी भान्स सन् २०२८ मा ट्रम्पसँगै राष्ट्रपति पदका लागि संयुक्त टिकटमा उम्मेदवार बन्न सक्छन् । तर ट्रम्पले यस विचारलाई अस्वीकार गर्दै बुधबार पुनः भने, “म पुनः चुनाव लड्न नसक्ने कुरा अत्यन्त स्पष्ट छ, तर हाम्रो देशमा धेरै महान व्यक्तिहरू छन् ।”
यसैबीच, अमेरिकी सदनका सभामुख माइक जोनसनले पनि क्यापिटलमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पसँगको वार्ताको प्रसङ्ग उल्लेख गर्दै भने, “मैले राष्ट्रपतिसँग तेस्रो कार्यकालबारे कुरा गरेको छु तर त्यसका लागि कुनै वैधानिक बाटो देखिँदैन ।”
जोनसनले संविधानको २२औँ संशोधनको व्याख्या गर्दै भने, “संविधान स्पष्ट छ—राष्ट्रपतिले दुई कार्यकालभन्दा बढी शासन गर्न सक्दैन । संविधान संशोधन गर्न प्रयास गरे पनि त्यो प्रक्रिया निकै लामो हुन्छ; यसका लागि कङ्ग्रेसको दुई तिहाइ र राज्यहरूको तीन चौथाइ अनुमोदन आवश्यक पर्छ, जुन अहिले असम्भवजस्तै देखिन्छ ।”





























प्रतिक्रिया