अफगानिस्तानको भूकम्पमा मृत्यु हुने २४ पुगे

अफगानिस्तानको भूकम्पमा मृत्यु हुने २४ पुगे

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । उत्तरी अफगानिस्तानमा सोमबार बिहान गएको ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ । भूकम्पका कारण मान्छेहरु घाइते हुनुका साथै कतिपय स्थानमा पहिरो खसेको र घरहरू ध्वस्त भएका छन र प्रमुख यातायात मार्ग अवरुद्ध भएका छन् ।

समानगन प्रान्तको खुल्म क्षेत्रमा केन्द्रविन्दु रहेको भूकम्प २८ किलोलमिटरको गहिराइमा गएको थियो । कम्पनका कारण बाल्ख, समानगन, सार–ए–पोल, बागलान र कुन्दुजसहित पाँच प्रान्तमा ठूलो क्षति पुगेको अधिकारीहरूले जनाएका छन् ।

काबुल र उत्तरको प्रमुख शहर मजार–ए–शरीफको बीचमा पर्ने समानगनका पहाडी क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएको बताइएको छ । त्यहाँका अधिकांश घरहरू माटो–इँटाले बनेका कम तल्लाका संरचना भएकाले धेरै घरहरू भत्किएका छन् । धेरै नागरिकहरू भग्नावशेषमा पुरिएका छन् ।

भूकम्पमा आफ्नो घरसँगै बुहारी गुमाएका स्थानीय गुलाबुद्दिनले आफूहरूको अवस्था एकदम नाजुक रहेको बताए । “राति करिब १ बजेतिर भूकम्प गएपछि म बाहिर निस्किन भ्याएँ तर मेरी बुहारी ज्यान जोगाउन सकिन् । उनी गर्भवती थिइन, बिहे भएको १० महिना मात्र भएको थियो । सबै नष्ट भयो, अब जान पनि कहीँ छैन, घर बनाउन पनि केही छैन,” उनले भावुक हुँदै भने ।

चाइना मिडिया ग्रुपका पत्रकारहरूले खिचेका दृश्यहरूमा काबुल–मजार राजमार्गमा ठूलाठूला चट्टान र भग्नावशेषले सडक अवरुद्ध भएको देखिन्छ । कतिपय सवारी साधन पुरिएका छन् र धेरै यात्रुहरू बीचमै अलपत्र परेका छन् ।

Logo