काठमाडौं । डेमोक्रेटिक सोसलिस्ट जोहरान क्वामे ममदानी न्यूयोर्क सहरको १११औँ मेयर बनेका छन् । उनी न्यूयोर्क सहरका पहिलो मुस्लिम, पहिलो दक्षिण एसियाली र १९औँ शताब्दीदेखिका सबैभन्दा युवा मेयर बनेका हुन्।
ममदानीको यो मेयर यात्रा कुनै सपना भनदा कम छैन । केही महिनाअघि सर्वेक्षणमा एक प्रतिशत मात्र मत पाउने अनुमान गरिएका उनले अन्ततः ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरेर मेयर पदमा विजयी भएका छन् । यस पटक न्यूयोर्क सहरको चुनावमा २० लाखभन्दा बढी मतदाताले भोट हालेका थिए, जुन १९६९ यताकै उच्च सहभागिता पनि हो ।
ममदानीका मुख्य प्रतिद्वन्द्वी तथा स्वतन्त्र उम्मेदवार पूर्व गभर्नर एन्ड्र्यू कुओमोले ४१ प्रतिशत मत पाए भने रिपब्लिकन कर्टिस स्लिवाले ७.१ प्रतिशत मात्र भोट पाएका थिए ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेपका कारण यो चुनावलाई राष्ट्रिय स्तरमा ध्यान दिइएको थियो । ट्रम्पले ममदानीलाई ‘यहूदी विरोधी’ र ‘कम्युनिस्ट’ भन्दै बारम्बार आक्रमण गरिरहेका थिए । चुनावको पूर्वसन्ध्यामा ट्रम्पले ट्रुथ सोसलमा ‘यदि कम्युनिस्ट उम्मेदवार जोहरान ममदानीले न्यूयोर्कको मेयर चुनाव जिते भने, म संघीय कोष न्यूयोर्कलाई न्यूनतमभन्दा बढी दिन्नँ । यो सहर कम्युनिस्टको हातमा परेपछि सफलता वा अस्तित्वको कुनै सम्भावना छैन ।’ भनी लेखेका थिए । त्यति मात्र होइन ट्रम्पले ममदानीको अमेरिकी नागरिकता नै खोस्ने धम्की पनि दिएका थिए ।
पहिलो मुस्लिम युवा मेयर जोहरान क्वामे ममदानी को हुन् ?
सन् १९९१ मा युगान्डाको राजधानी कम्पालामा जन्मिएका जोहरान ममदानीको नाम ‘क्वामे’ हो । यो नाम घानाका एक क्रान्तिकारी नेता क्वामे नक्रुमाहबाट राखिएको थियो । उनका बुबा महमूद ममदानी कोलम्बिया विश्वविद्यालयका प्रख्यात प्राध्यापक र अफ्रिकी अध्ययनका विज्ञ हुन्, भने आमा मीरा नायर भारतीय–अमेरिकी फिल्म निर्देशक हुन् । बाल्यकाल कम्पाला र दक्षिण अफ्रिकामा बिताएका ममदानी सात वर्षको उमेरमा न्यूयोर्क आएका थिए । उनले ब्रोन्क्स हाई स्कूल अफ साइन्सबाट शिक्षा लिए र बोवडोइन कलेजबाट अफ्रिकी अध्ययनमा स्नातक गरे । सन् २०१८ मा अमेरिकी नागरिक बनेका उनी राजनीतिमा आउनुअघि हिप–हप पनि ¥यापर थिए ।
राजनीतिमा प्रवेशपछि उनी क्वीन्सका फोरक्लोजर सल्लाहकार बने, जसमा कम आय भएका परिवारहरूलाई उनले घर गुमाउनुबाट बचाउने काम गर्थे । त्यस्तै सन् २०२० मा डेमोक्रेटिक सोसलिस्ट अफ अमेरिकाको टिकटमा न्यूयोर्क स्टेट असेम्बलीमा निर्वाचित भए । सन् २०२२ र २०२४ मा निर्विरोध जितेका उनले भाडा नियन्त्रण, न्यूनतम ज्याला ३० डलर प्रतिघण्टा र सार्वजनिक यातायात निःशुल्क गर्ने विधेयकहरूमा समर्थन गरेका थिए । त्यस्तै उनले ब्ल्याक लाइभ्स म्याटर आन्दोलनमा पनि समर्थन जनाएका थिए । उनले धनीहरूमाथि कर लगाएर कोठा भाडा मूल्य कम गर्ने, निःशुल्क बस सेवा सुरु गर्ने, विश्वव्यापी बाल हेरचाह र पुलिस फन्डिङ कटौतीका वाचा गरेका थिए । यो वामपन्थी एजेन्डाले युवा र अल्पसंख्यक मतदातालाई आकर्षित गर्यो । अर्कोतर्फ अर्बपति एलन मस्क र राष्ट्रपति ट्रम्पले भने उनलाई ‘आतंकवाद समर्थक’ भन्दै आरोप पनि लगाउँदै आएका थिए । यस्तोमा जोहरान ममदानीको यो जीत अमेरिकामा विविधता, युवा ऊर्जा र प्रगतिशील राजनीतिको जित हो । उनी जनवरी १ मा पदभार ग्रहण गर्दा न्यूयोर्क नयाँ युगमा प्रवेश गर्नेछ ।





























प्रतिक्रिया