मधुमेह, मोटोपना र दिर्घरोग लागेकालाई अमेरिकाले भिसा नदिने

मधुमेह, मोटोपना र दिर्घरोग लागेकालाई अमेरिकाले भिसा नदिने

केन्द्रबिन्दु
78
Shares

काठमाडौं । अमेरिकाले अब देखि मधुमेह, मोटोपनाजस्ता स्वास्थ्य समस्या भएका विदेशी नागरिकलाई भिसा अस्वीकार गर्न सकिने व्यवस्था लागू गरेको छ । ट्रम्प प्रशासनले नयाँ निर्देशन जारी गरी अमेरिका प्रवेशमा थप कडाइ गर्दै यस्तो व्यवस्था लागु गरेको हो ।

सीबीएस न्युजका अनुसार यो निर्देशन अमेरिकी विदेश मन्त्रालयले दूतावास तथा वाणिज्य दूतावासहरूलाई पठाएको हो । निर्देशनमा भिसा आवेदकले ‘पब्लिक चार्ज’ अर्थात् सरकारको आर्थिक बोझ बन्न सक्ने सम्भावना देखिएमा उनीहरूलाई अयोग्य मान्न अधिकारीहरूलाई सुझाइएको छ ।

निर्देशनमा भनिएको छ,‘आवेदकको स्वास्थ्य अनिवार्य रूपमा विचार गर्नुपर्छ । कार्डियोभास्कुलर रोग, श्वासप्रश्वाससम्बन्धी रोग, क्यान्सर, मधुमेह, मेटाबोलिक तथा स्नायु रोगदेखि मानसिक स्वास्थ्य समस्यासम्मले अत्यधिक महँगो उपचार आवश्यक पर्न सक्छ ।’ यससँगै भिसा मूल्यांकनमा संक्रामक रोग वा खोप अभिलेख मात्र होइन, दीर्घरोग तथा उमेरसम्बन्धी जोखिम पनि प्रमुख तत्वका रूपमा समावेश गरिएका छन् ।

मोटोपनाले दम, स्लीप एपनिया तथा उच्च रक्तचाप उत्पन्न गराउन सक्ने भएकाले यसलाई पनि पब्लिक चार्जको जोखिमसँग जोडेर मूल्यांकन गर्न निर्देशनमा उल्लेख छ । विश्वको करिब १० प्रतिशत जनसंख्या मधुमेहबाट पीडित रहेको र मुटुरोग विश्वमै मृत्युको प्रमुख कारण बनेको पृष्ठभूमिमा यो कदम थप कठोर मानिएको छ ।

यस्तै, आवेदकसँग उपचार खर्च सम्हाल्न पर्याप्त आर्थिक स्रोत छ कि छैन भन्ने आंकलन गर्न अधिकारीहरूलाई भनिएको छ । विशेष गरी सरकारी खर्चमा दीर्घकालीन उपचार वा सेवामा निर्भर हुनुपर्ने सम्भावना छ कि छैन भन्नेबारे प्रश्न उठाइनेछ ।

निर्देशनले आवेदकका परिवार सदस्यहरूको स्वास्थ्य अवस्थालाई पनि मूल्यांकनमा समावेश गर्ने व्यवस्था मिलाएको छ । ‘आश्रित परिवारमा दीर्घरोग वा विशेष हेरचाह आवश्यक पर्ने सदस्य छन् भने, त्यसले आवेदकको रोजगारीमा असर पार्छ कि पार्दैन ?’ यो निर्देशनबारे अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले कुनै टिप्पणी गरेका छैनन् ।

Logo