ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो निगरानी यन्त्र तोडेर भाग्न खोजेको आरोपमा पक्राउ

ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो निगरानी यन्त्र तोडेर भाग्न खोजेको आरोपमा पक्राउ

केन्द्रबिन्दु
12
Shares

ब्रासिलिया । ब्राजिलका पूर्व राष्ट्रपति जेयर बोल्सोनारोलाई सर्वोच्च अदालतले शनिबार फेरि हिरासतमा लिएको छ ।

सन् २०२२ को चुनावपछि वामपन्थी नेता लुइज इनासिओ लुला दा सिल्भालाई सत्तामा आउन नदिन गरिएको योजनामा २७ वर्षको जेल सजाय पाएका बोल्सोनारो हाल कू–प्रयाससम्बन्धी मुद्दामा अपिल चलिरहेको अवस्थामा नजरबन्दमा रहेका थिए ।

अदालतले उनले आफ्नो खुट्टामा बाँधिएको निगरानी मोनिटर निष्क्रिय पार्न खोजेको ठहर गर्दै यसलाई भाग्ने प्रयासका रूपमा व्याख्या गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसका अनुसार नजरबन्द एउटा निवारक उपाय भए पनि बोल्सोनारोले यसलाई तोडफोड गर्न खोज्नु गम्भीर उल्लङ्घन हो । अदालतले सार्वजनिक गरेको भिडियोमा बोल्सोनारोले ‘जिज्ञासावश’ मोनिटरमा सोल्डरिङ उपकरण प्रयोग गरेको स्वीकार गरेकाे देखिन्छ, जहाँ यन्त्र क्षतिग्रस्त र जलेको देखिए पनि अझै उनको खुट्टामै थियो ।

सन् २०१९ देखि २०२२ सम्म देश चलाएका ७० वर्षीय पूर्व नेतालाई गत अगस्टदेखि ब्रासिलियास्थित एक उच्चस्तरीय कन्डोमिनियमभित्र सीमित गरिएको थियो । न्यायाधीश मोरेसले शनिबार बोलाइएको फ्लेभियो बोल्सोनारोको ‘जागरण’ कार्यक्रमले अशान्ति निम्त्याइ बोल्सोनारोको भाग्ने सम्भावनालाई बढाउन सक्ने बताए । फ्लेभियोले समर्थकहरूलाई ‘आफ्नो देशका लागि लड्न’ आह्वान गरेको र सोही कारण वातावरण थप संवेदनशील बनेको उल्लेख गरिएको छ । मोरेसले बोल्सोनारोका कानूनी प्रतिनिधिहरूलाई २४ घण्टाभित्र घटनाबारे व्याख्या पेश गर्न निर्देशन दिएका छन‍् ।

बोल्सोनारोको घर अमेरिकी दूतावास नजिक रहेको उल्लेख गर्दै न्यायाधीशले उनले राजनीतिक शरण खोज्ने जोखिम बढेको चेतावनी पनि दिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी मानिने बोल्सोनारोको मुद्दालाई ट्रम्पले ‘विच हन्ट’ (राजनीतिक प्रतिशोध) भनेका छन् र पछिल्लो घटनालाई ‘धेरै खराब’भन्दै प्रतिक्रिया दिएका छन् ।

बोल्सोनारोलाई शनिबारै ब्रासिलियाको सङ्घीय प्रहरी मुख्यालय पुर्‍याइयो । त्यहाँ कैदीहरूलाई जेल पठाउनुअघि मेडिकल परीक्षण गरिन्छ । एक स्रोतले उपलब्ध गराएको भिडियोमा टेलिभिजन, सानो फ्रिज र वातानुकूलनसहितको कक्षमा बोल्सोनारो राखिएको देखिन्छ ।

प्रहरी मुख्यालय बाहिर विरोध र समर्थन दुवै देखिएको थियो । केही महिलाले उहाँ पक्राउ परेको खुशीमा वाइन खोलेर उत्सव मनाएका थिए । ४७ वर्षीया दर्शनशास्त्रकी शिक्षिका एना डेनिस सौसाले बोल्सोनारोले विगतमा देश बिगारेको आरोप लगाउँदै अहिले न्यायको समयमा पुगेको बताए । विपरीत रूपमा, पूर्व राष्ट्रपति समर्थकहरूले यसलाई ‘राजनीतिक उत्पीडन’ को संज्ञा दिए ।

बोल्सोनारोको कानूनी सङ्कटले ब्राजिलको ठूलो दक्षिणपन्थी मतदातालाई सन् २०२६ को राष्ट्रपति चुनावअघि नेतृत्वविहीन बनाएको छ । ८० वर्षीय लुलाले अर्काे कार्यकाल खोज्ने घोषणा गरिसकेका छन् । बोल्सोनारोका वकिलहरूले निर्बल स्वास्थ्यका कारण निरन्तर नजरबन्दले ‘जीवन जोखिममा पर्न सक्ने’ भन्दै अपिल गर्ने तयारी जनाएको छ

Logo