काठमाडौँ। अमेरिकाले उत्तर–पश्चिम नाइजेरियामा सक्रिय इस्लामिक स्टेट (आइएसआईएस) विरुद्ध हवाई आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सैन्य कारबाही इसाइ समुदायमाथि भइरहेका क्रुर हत्या र हिंसात्मक गतिविधिको जवाफस्वरूप गरिएको बताएका छन्।
अमेरिकी प्रशासनका अनुसार नाइजेरियाली सुरक्षा निकायहरूको औपचारिक अनुरोधपछि सोकोतो राज्यमा आइएसआईएससँग सम्बन्धित ठूला अखडा र लडाकुहरूको उपस्थितिलाई लक्षित गर्दै हवाई हमला गरिएको हो। आक्रमण अत्यन्त सटीक र प्रभावकारी भएको दाबी गरिए पनि हालसम्म मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
पछिल्ला वर्षहरूमा नाइजेरियाको उत्तर र उत्तर–पश्चिम क्षेत्रमा इस्लामिक स्टेटसँग आबद्ध सशस्त्र समूहहरूको गतिविधि बढ्दै गएको छ। ती समूहहरूले इसाइ समुदायसहित सर्वसाधारण नागरिकलाई लक्षित गरी अपहरण, हत्या र आतङ्क फैलाउने कार्य गर्दै आएका छन्। यसै सन्दर्भमा अमेरिकी सैन्य सहयोगलाई नाइजेरियाली सरकारले महत्वपूर्ण कदमका रूपमा हेरेको छ।
सुरक्षा विश्लेषकहरूका अनुसार अमेरिकाको यो कारबाहीले नाइजेरियामा आतङ्कवादी समूहविरुद्धको लडाइँलाई नयाँ मोड दिन सक्छ। तर, दीर्घकालीन शान्तिका लागि सैन्य कारबाहीसँगै स्थानीय सुरक्षा संयन्त्र सुदृढीकरण, गुप्तचर समन्वय र सामाजिक स्थिरतामा पनि ध्यान दिनुपर्ने उनीहरूको सुझाव छ ।
हवाई आक्रमणपछि सोकोतो र आसपासका क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ। नाइजेरियाली सेनाले अमेरिकी सहयोगले आतङ्कवादी सञ्जाल कमजोर पार्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। अन्तर्राष्ट्रिय समुदायले भने नागरिक सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमहरुले उल्लेख गरेका छन् ।































प्रतिक्रिया