काराकास । भेनेजुएलामा सुरक्षा अवस्था गम्भीर बन्दै गएपछि राष्ट्रपति निकोलस मादुरोले देशभर आपतकालीन व्यवस्था लागू गरेका छन्। सरकारका अनुसार अमेरिकाले भेनेजुएलाको भू–भागलाई लक्षित गर्दै सैन्य कारबाही गरेपछि राष्ट्रिय सुरक्षा जोखिममा परेको ठहर गरिएको हो।
सरकारी विज्ञप्तिमा राजधानी काराकास आसपास भएको हवाई गतिविधिलाई “अस्वीकार्य बाह्य हस्तक्षेप” को संज्ञा दिइएको छ। यसले देशको सार्वभौमिकता र आन्तरिक स्थिरतामाथि प्रत्यक्ष चुनौती दिएको भेनेजुएलाको दाबी छ ।
आपतकालीन व्यवस्थाअन्तर्गत सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ भने रणनीतिक पूर्वाधार, तेल उद्योग र प्रमुख सरकारी संरचनाको सुरक्षा कडा पारिएको छ। राष्ट्रपति मादुरोले सेना र सुरक्षा संयन्त्रलाई आवश्यक परे तुरुन्त प्रतिक्रिया दिन तयार रहन निर्देशन दिएका छन्।
सरकारले अन्तर्राष्ट्रिय समुदायलाई घटनाबारे जानकारी गराउँदै कूटनीतिक माध्यमबाट अमेरिकाको कदमविरुद्ध दबाब सिर्जना गर्न पहल थालेको जनाएको छ। भेनेजुएलाले यस घटनालाई क्षेत्रीय शान्तिका लागि गम्भीर खतरा भन्दै संयुक्त राष्ट्रसंघ र मित्र राष्ट्रहरूको ध्यानाकर्षण गराएको छ ।
हालसम्म अमेरिकी पक्षबाट विस्तृत प्रतिक्रिया सार्वजनिक भइसकेको छैन। तर भेनेजुएलाभर जनजीवनमा सतर्कता बढाइएको छ र सरकारको थप निर्णयको प्रतीक्षा भइरहेको छ ।





























प्रतिक्रिया