गाजा र सुडानलगायत क्षेत्रमा स्वास्थ्य अवस्था नाजुक

गाजा र सुडानलगायत क्षेत्रमा स्वास्थ्य अवस्था नाजुक

केन्द्रबिन्दु
27
Shares

जेनेभा, स्विजरल्याण्ड । विश्व स्वास्थ्य संगठनले सन् २०२६ मा विश्वभर देखिएका गम्भीर स्वास्थ्य आपतकालीन अवस्थाहरूको सामना गर्न करिब एक अर्ब अमेरिकी डलर बराबरको सहयोग आवश्यक रहेको भन्दै अन्तर्राष्ट्रिय समुदायसँग आपतकालीन आह्वान गरेको छ ।

सङ्गठनका अनुसार युद्ध, आन्तरिक द्वन्द्व, प्राकृतिक प्रकोप, रोगको फैलावट तथा कमजोर स्वास्थ्य प्रणालीका कारण करोडौँ मानिसहरू अत्यन्त जोखिमपूर्ण अवस्थामा जीवन बिताइरहेका छन् । धेरै देशहरूमा स्वास्थ्य संरचना ध्वस्त भएका छन् भने अस्पताल, औषधि, स्वास्थ्य उपकरण र दक्ष स्वास्थ्यकर्मीको अभावका कारण सामान्य उपचारसमेत प्रभावित भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले गाजा, सुडान, कंगो लोकतान्त्रिक गणराज्य, हाइतीलगायतका क्षेत्रहरूलाई अत्यन्त संकटग्रस्त क्षेत्रका रूपमा चिनाएको छ । ती स्थानहरूमा गर्भवती महिला, बालबालिका, वृद्ध तथा दीर्घरोगीहरू सबैभन्दा बढी जोखिममा रहेका छन्। कुपोषण, संक्रामक रोग, मानसिक स्वास्थ्य समस्या, मातृ तथा नवजात शिशुको मृत्यु दर तीव्र रूपमा बढिरहेको संगठनले जनाएको छ । साथै सुरक्षित खानेपानी, सरसफाइ र खोप सेवाको पहुँच कमजोर हुँदा रोग फैलिने सम्भावना झन् बढ्दै गएको छ ।

सङ्गठनका अनुसार आवश्यक आर्थिक सहयोग समयमै जुटाउन नसकिएमा जीवनरक्षक उपचार, रोग नियन्त्रण कार्यक्रम, आपतकालीन स्वास्थ्य सेवा र स्वास्थ्य प्रणाली पुनःस्थापनामा गम्भीर असर पर्नेछ । यसले लाखौँ मानिसको ज्यान जोखिममा पार्न सक्ने भएकाले विश्व स्वास्थ्य संगठनले सरकारहरू, दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदारहरूलाई मानवीय आधारमा तत्काल सहयोग गर्न आग्रह गरेको छ । समयमै सहयोग प्राप्त भएमा सङ्कटग्रस्त क्षेत्रका जनताको जीवन रक्षा गर्न र स्वास्थ्य प्रणालीलाई पुनःसुदृढ बनाउन ठूलो योगदान पुग्ने सङ्गठनको विश्वास छ । -सिन्ह्वा

Skip This
Skip This
Logo