मानव एकता र सहअस्तित्वको सन्देश दिँदै आज अन्तरराष्ट्रिय मानव भ्रातृत्व दिवस मनाइँदै

मानव एकता र सहअस्तित्वको सन्देश दिँदै आज अन्तरराष्ट्रिय मानव भ्रातृत्व दिवस मनाइँदै

केन्द्रबिन्दु
30
Shares

काठमाडौं। विश्वभर आज अन्तरराष्ट्रिय मानव भ्रातृत्व दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संवाद, सहिष्णुता र सहअस्तित्वलाई प्रवद्र्धन गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०२० डिसेम्बर २१ मा प्रस्ताव पारित गरी प्रत्येक वर्ष फेब्रुअरी ४ मा यो दिवस मनाउने निर्णय गरेको थियो । सोहीअनुसार सन् २०२१ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो ।

यो दिवसले संस्कृति, धर्म र विश्वास फरक भए पनि सबै मानिस एउटै मानव परिवारका सदस्य भएको सन्देश दिन्छ । राष्ट्रसङ्घका अनुसार बढ्दो द्वन्द्व, तनाव र ध्रुवीकरणको अवस्थामा मानव भ्रातृत्वले शान्तिपूर्ण सहअस्तित्व र आपसी सम्मानलाई बलियो बनाउने लक्ष्य राखेको छ ।

यस वर्षको विषयवस्तुले विभाजनभन्दा संवादलाई प्राथमिकता दिन आग्रह गरेको छ । राष्ट्रसङ्घले मतभिन्नता भए पनि एकअर्कालाई सम्मानपूर्वक सुन्ने र बुझ्ने संस्कृतिको विकास आवश्यक रहेको जनाएको छ ।

मानव भ्रातृत्व दिवसले जातीय विभेद, घृणा र असहिष्णु व्यवहारको अन्त्य गर्दै सामाजिक सद्भाव कायम गर्न पनि जोड दिएको छ । यस अवसरमा राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले समान अधिकार, करुणा र आपसी सम्मानमा आधारित विश्व निर्माणमा सबैको भूमिका आवश्यक रहेको बताएका छन् ।

Logo