भारतको कोइलाखानी विस्फोटले खायो खोटाङका दुई युवालाई, चार जना गम्भीर घाइते

भारतको कोइलाखानी विस्फोटले खायो खोटाङका दुई युवालाई, चार जना गम्भीर घाइते

केन्द्रबिन्दु
18
Shares

खोटाङ। भारतको मेघालयस्थित एक कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङको बराहपोखरी गाउँपालिका निवासी एउटै घरका दुई जना दाजुभाइको घटनास्थलमै मृत्यु भएको छ ।मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको विस्फोटमा परेर बराहपोखरी गाउँपालिका–१ बराहपोखरीस्थित सालघारीभञ्ज्याङका २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर र २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगरको ज्यान गएको हो ।

पूर्णबहादुर र सुरेन्द्र बराहपोखरीस्थित सालघारीभञ्ज्याङका खड्गबहादुर खपाङ्गी मगर र टङ्ककुमारी खपाङ्गी मगरका छोरा हुन् । उनीहरू दाजुभाइ भएको स्थानीय शिवकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

सोही घटनामा बराहपोखरीस्थित भञ्ज्याङका बमबहादुर खपाङ्गी मगर, कर्णबहादुर खपाङ्गी मगर, नरबहादुर खपाङ्गी मगर र उदयपुर साउनेका ललितबहादुर मगर घाइते भएका छन् ।

मेघालय पुगेर कोइलाखानीमा काम गर्ने सात जनाको टोलीमध्ये बराहपोखरीस्थित वालम्पाका ताराबल मगर मात्र सकुशल रहेको जनाइएको छ । विस्फोटपछि ताराबलले फोनमार्फत घटनाको जानकारी दिएका थिए ।

दुर्घटनामा घाइते चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ । मृतकका शव घटनास्थलमै रहेको र घाइतेहरूलाई उद्धार गरी अस्पताल लगिएको जनाइएको छ। स्थानीय सम्पर्क व्यक्ति नहुँदा व्यवस्थापनमा समस्या भइरहेको जानकारी पनि दिइएको छ ।

मृतक तथा घाइतेहरू रोजगारीका लागि गत पुस ३ गते घरबाट मेघालय गएको छिमेकीले बताएका छन् । मृतक दाजुभाइमध्ये पूर्णबहादुर विवाहित र सुरेन्द्र अविवाहित रहेका थिए ।

रोजगारीको सिलसिलामा मेघालय पुगेका आफन्त डेढ महिना नपुग्दै दुर्घटनामा परेर ज्यान गुमाएपछि परिवारका सदस्यहरू शोकमा डुबेका छन् । खोटाङका विभिन्न स्थानका युवाहरू रोजगारी खोज्दै मेघालय जाने गरेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार उक्त विस्फोटमा परेर ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । उम्साङघाटस्थित कोइलाखानीमा भएको घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ ।

मेघालयस्थित कोइलाखानीमा भएको घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै मृतकका परिवारलाई दुई लाख रुपैयाँका दरले क्षतिपूर्ति दिने घोषणा गरेका छन् । घाइतेलाई ५० हजार रुपैयाँका दरले उपचार खर्च उपलब्ध गराउने पनि घोषणा गरिएको छ ।

Logo