जन्मदर बढाउन विदेशबाट ‘महिला आयात गर्ने’ अभिव्यक्ति दिएपछि…

जन्मदर बढाउन विदेशबाट ‘महिला आयात गर्ने’ अभिव्यक्ति दिएपछि…

केन्द्रबिन्दु
12
Shares

काठमाडाैं । दक्षिण कोरियामा जन्मदर बढाउनका लागि भियतनाम वा श्रीलङ्काबाट “युवतीहरू आयात गर्नुपर्ने” सुझाव दिने एक स्थानीय नेता आफ्नो राजनीतिक दलबाट निष्कासित भएका छन्।

दक्षिण कोरियाको जिन्दो काउन्टीका प्रमुख किम ही-सूले गत हप्ता एक सार्वजनिक कार्यक्रममा ग्रामीण क्षेत्रका युवाहरूसँग विवाह गराउनका लागि विदेशबाट युवतीहरू ल्याउनुपर्ने बताएका थिए। उनको यो अभिव्यक्ति टेलिभिजनमार्फत सार्वजनिक भएपछि तीव्र विरोध सुरु भएको थियो।

किमको टिप्पणीपछि भियतनामले औपचारिक रूपमा विरोध जनाएको छ। सियोलस्थित भियतनामी दूतावासले किमको भनाइ “केवल शब्दको प्रयोग मात्र नभई आप्रवासी महिला र अल्पसङ्ख्यक समूहप्रतिको दृष्टिकोण र मूल्यमान्यताको उपज” भएको बताएको छ।

यता सत्तारुढ ‘डिमोक्रेटिक पार्टी’ले किमको अभिव्यक्तिलाई “अनुपयुक्त” ठहर गर्दै उनलाई पार्टीबाट निष्कासित गर्ने सर्वसम्मत निर्णय गरेको छ। महिला र आप्रवासी अधिकारकर्मीहरूले यो अभिव्यक्तिको विरुद्धमा प्रदर्शनको तयारी गरिरहेका छन्।

दक्षिण कोरिया अहिले विश्वकै सबैभन्दा कम जन्मदरको समस्यासँग जुधिरहेको छ। हाल दक्षिण कोरियाको जनसंख्या करिब ५ करोड छ। यदि वर्तमान अवस्था कायम रहेमा, आगामी ६० वर्षमा दक्षिण कोरियाको जनसंख्या घटेर आधा पुग्न सक्ने प्रक्षेपण गरिएको छ।

“मैले ग्रामीण क्षेत्रको जनसंख्या घट्दै गएको समस्यालाई उजागर गर्न खोजेको थिएँ, तर मेरो भाषा अनुपयुक्त थियो,” किमले माफी माग्दै भनेका छन्।

यद्यपि, उनको माफीले आक्रोश शान्त पार्न सकेन। दक्षिण जेओला प्रान्तले पनि किमको टिप्पणीले “भियतनामी जनता र महिलाहरूमा गहिरो चोट पुर्‍याएको” भन्दै औपचारिक माफी मागेको छ।

Logo