बङ्गलादेशका प्रधानमन्त्रीद्वारा निर्वाचन सफलताको कामना

बङ्गलादेशका प्रधानमन्त्रीद्वारा निर्वाचन सफलताको कामना

केन्द्रबिन्दु
42
Shares

काठमाडौं। बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न होस् भन्ने कामना गरेका छन् ।

बङ्गलादेशका प्रधानमन्त्रीले परराष्ट्रमन्त्री बालानन्द शर्मासँग मङ्गलबार साँझ भएको भेटमा नेपालमा आसन्न संसदीय निर्वाचनको सफलताको शुभकामना व्यक्त गरेका छन् । ढाकास्थित नेपाली राजदूतावासले उक्त जानकारी दिएको छ । त्यस अवसरमा मन्त्री शर्माले बङ्गलादेशको प्रधानमन्त्री बनेकोमा बधाई दिँदै प्रधानमन्त्री सुशीला कार्कीले पठाएको बधाई सन्देश हस्तान्तरण गरेका थिए।

सन्देशमा प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री रहमानलाई बधाई दिँदै दुवै देश र जनताका साझा हितका लागि आपसी सम्मान, साझा प्रतिबद्धता र साझेदारीको भावनाका साथ काम गर्ने इच्छा व्यक्त गरेकी छन् ।

दूतावासका अनुसार परराष्ट्रमन्त्री शर्माले निर्वाचन सञ्चालन गरी लोकतान्त्रिक प्रक्रियामा सङ्क्रमण सुनिश्चित गरेको भन्दै बङ्गलादेश सरकारको प्रशंसा गरेका थिए । साथै नेता रहमान नेतृत्वको बङ्गलादेश नेशनलिस्ट पार्टीले बहुमत प्राप्त गरेकोमा बधाई दिएका थिए ।

प्रधानमन्त्री रहमानले शपथग्रहण समारोहमा सहभागी भएकोमा मन्त्री शर्मालाई धन्यवाद दिँदै यसले नेपाल सरकार र जनताका तर्फबाट बङ्गलादेश सरकार र जनताप्रति देखाइएको सद्भाव र एकता प्रतिबिम्बित गरेको बताएका छन् ।

नेपाल र बङ्गलादेशबीचको साझेदारी सुदृढ बनाउने प्रतिबद्धता दोहोर्याउँदै प्रधानमन्त्री रहमान र परराष्ट्रमन्त्री शर्माले व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल विस्तार, शिक्षा, पर्यटनलगायत क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल गरेका छन् ।

त्यसअघि, परराष्ट्रमन्त्री शर्मा बङ्गलादेशका नवनिर्वाचित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यहरूको शपथग्रहण समारोहमा सहभागी भएका थिए । साथै उनले बङ्गलादेश जमत–ए–इस्लामीका नेता शफिकुर रहमानसँग भेटवार्ता गरेका थिए । उक्त भेटमा द्विपक्षीय सहकार्यका विषयमा विचारविमर्श भएको थियो ।

परराष्ट्रमन्त्री शर्मा बिहीबार स्वदेश फर्कने कार्यक्रम छ । प्रधानमन्त्री रहमानको शपथ समारोहमा सहभागी हुन उनी गत सोमबार ढाका गएका थिए ।

Skip This
Skip This
Logo