सियोल । उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियाको सुरक्षा खतरा भए आफ्नो देशले दक्षिणलाई ‘पूर्ण रूपमा नष्ट’ गर्न सक्ने चेतावनी दिएका छन् । तर त्यससँगै उनले संयुक्त राज्य अमेरिकासँग वार्ताका लागि ढोका खुला रहेको सङ्केत पनि दिए । यसले प्योङयाङको रणनीतिमा दबाब र संवाद दुवैलाई समानान्तर अघि बढाउने सन्देश दिएको छ ।
सत्तारूढ वर्कर्स पार्टीको महत्त्वपूर्ण सम्मेलनको समापन गर्दै किमले आगामी पाँच वर्षका नीतिगत लक्ष्य सार्वजनिक गरे । उनले आफ्नो आणविक क्षमता र नयाँ हतियार प्रणाली विकासलाई तीव्र बनाउने घोषणा गर्दै पानीमुनिबाट प्रक्षेपण गर्न सकिने अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल, सामरिक आणविक हतियार र छोटो दूरीका क्षेप्यास्त्रहरूको भण्डार विस्तार गर्ने लक्ष्य प्रस्तुत गरे । उनका अनुसार पछिल्ला वर्षहरूमा भएको तीव्र हतियार विकासले उत्तर कोरियाको आणविक राष्ट्रको हैसियत ‘स्थायी रूपमा स्थापित’ गरिसकेको छ ।
यद्यपि किमले अमेरिकाले उत्तरप्रति अपनाएको ‘शत्रुतापूर्ण नीति’ त्यागेमा संवाद सम्भव रहेको बताए । “शान्तिपूर्ण सहअस्तित्व होस् वा स्थायी द्वन्द्व, हामी दुवैका लागि तयार छौँ”, उनले भने, “छनोट अमेरिकाको हातमा छ ।” उत्तर कोरियाले लामो समयदेखि अमेरिकी प्रतिबन्ध र आणविक निशस्त्रीकरणको मागलाई ‘शत्रुतापूर्ण नीति’ का रूपमा व्याख्या गर्दै आएको छ ।
विश्लेषकहरूका अनुसार किमको दक्षिणप्रति कडा भाषण प्रत्यक्ष युद्धको सङ्केतभन्दा बढी आफ्नो क्षेत्रीय प्रभाव र शक्ति दाबी गर्ने प्रयास हो । मस्को र बेइजिङसँग नजिकिँदो सम्बन्ध तथा बढ्दो आणविक शस्त्रागारको पृष्ठभूमिमा उनले सियोलसँगको कूटनीति लगभग अस्वीकार गरिसकेका छन् । दक्षिण कोरियाको एकीकरण मन्त्रालयले भने प्योङयाङले सम्बन्धलाई निरन्तर शत्रुतापूर्ण रूपमा चित्रण गरिरहेकोप्रति खेद व्यक्त गर्दै शान्ति स्थापनाका प्रयास धैर्यपूर्वक जारी राख्ने जनाएको छ ।
सम्मेलनपछि राजधानी प्योङयाङमा सैन्य परेड गरिएको सरकारी समाचार एजेन्सीले जनाएको छ । करिब १३ वर्षीया छोरी किम जु एसँग परेड अवलोकन गर्दै किमले आफ्नो सेना कुनै पनि शत्रुतापूर्ण खतरा विरुद्ध ‘तुरुन्त र पूर्ण बदला’ लिन सक्षम रहेको दाबी गरे । यद्यपि सबैभन्दा शक्तिशाली हतियारहरू प्रदर्शन गरिएको विषयमा तत्काल विवरण सार्वजनिक गरिएको छैन ।
किमले सन् २०२४ यता दक्षिणसँगको शान्तिपूर्ण पुनर्मिलनको पुरानो लक्ष्य औपचारिक रूपमा त्याग्दै दक्षिणलाई स्थायी शत्रु घोषणा गरेका छन् । उनले दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङको संवाद प्रस्तावलाई ‘छल’ भन्दै अस्वीकार गरे र उत्तरले दक्षिणलाई साझा राष्ट्रको अवधारणाबाट ‘स्थायी रूपमा अलग’ गरेको उल्लेख गरे । उनका अनुसार दक्षिणले आफूलाई नउक्साए सुरक्षित रूपमा बस्न सक्नेछ ।































प्रतिक्रिया