कोभिड १९ विरुद्धको खोप ९० प्रतिशत प्रभावकारी रहेको दाबी

कोभिड १९ विरुद्धको खोप ९० प्रतिशत प्रभावकारी रहेको दाबी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अमेरिकी कम्पनी फाइजर र जर्मन औषधी निर्माता बायोन्टेकको सहकार्यमा कोभिड १९ विरुद्धको भ्याक्सिन तयार भएको छ । तेस्रो चरणको क्लिनिकल परीक्षणमा यो भ्याक्सिनले कोभिडविरुद्ध शरीरको प्रतिरोधात्मक क्षमतामा वृद्धि भएको जनाइएको छ । यसलाई खोपको विकासमा उल्लेखनीय सफलताका रुपमा हेरिएको छ ।

हाल विश्वभर करिब दुई दर्जन खोप अन्तिम अर्थात् तेस्रो चरणमा पुगेका छन् तर सकारात्मक परिणाम देखाउने यो भ्याक्सिन पहिलो भएको निर्माणकर्ताको दाबी छ । फाइजर कम्पनीका अनुसार, यो भ्याक्सिन ६ देशका ४४ हजार जना स्वयंसेवकहरुमा परीक्षण गरिएको थियो । भ्याक्सिन दिइएपछि स्वयंसेवकहरुको स्वास्थ्यमा कुनै ठूलो खतरा थिएन । यो हाल तेस्रो चरणको परीक्षणमा छ । अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा खोप परीक्षण गरिएको थियो ।

यसरी भ्याक्सिन लगाइएको मध्ये ९० प्रतिशतभन्दा बढीलाई सुरक्षा प्रदान गर्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनीहरुमा सुरक्षा सम्बन्धी कुनै किसिमको समस्या आएको थिएन । उनीहरुमा कोरोनाको कुनै लक्षण पनि थिएन ।

एक जना व्यक्तिलाई भ्याक्सिनको दुई डोज आवश्यक पर्नेछ । यसको दोस्रो डोज दिइएको सात दिनपछि ९० प्रतिशतलाई कोरोना भाइरस संक्रमणबाट सुरक्षा प्राप्त भएको देखिएको थियो । यो खबर आफ्नो लागि सम्भावित उत्कृष्ट नतिजा भएको बायोन्टेकका सह–संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत यूगर सहिनले बताए । भ्याक्सिन उत्पादक कम्पनीले सोमबार विज्ञान र मानव जगतमा ९ नोभेम्बरको दिनलाई ऐतिहासिक भनेका छन् । फाइजर खोप अनुसन्धान तथा विकास प्रमुख क्याथरिन जोनसेनले यो ऐतिहासिक क्षण भएको बताएका छन् ।

यस्तै, फाइजर कम्पनीका डाक्टर तथा प्रमुख अल्वर्ट बाउर्लाले अन्तिम नतिजातर्फ उन्मुख भइरहेको बताएका छन् । यसैगरी, बायोन्टेकका संस्थापक तथा प्राध्यापक यूगर सहिनले अहिलेको नतिजा कोसेढुंगा भएको बताएका छन् ।

भ्याक्सिन उत्पादक कम्पनी फाइजर र बायोन्टेकले ठूलो संख्यामा यसको उत्पादनको लागि दिन रात काम गरिरहेको छ । यो वर्षको अन्त्यसम्म ५ करोड डोज उत्पादन गर्ने अपेक्षा गरिएको छ । सन् २०२१ को अन्त्यसम्म १ अर्ब ३० करोड डोज उत्पादन र वितरण गर्न सक्ने उक्त कम्पनीले विश्वास लिएको छ । त्यसका लागि यो महिना (नोभेम्बर) अन्त्यसम्म यसको प्रयोगका लागि आवश्यक अनुमति पाउन आवेदन दिने योजना बनाएका छन् । यसले नियामकहरुको अनुमति पाएमा खोप यस वर्षको अन्त्यसम्ममा उपलब्ध हुने बताएको छ ।

फाइजरको यो भ्याक्सिनको नतिजा अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोभिड–१९ विरोधी खोपलाई अनुमति दिनका लागि तोकेको मापदण्डभन्दा निकै धेरै छ । प्लेसबो–नियन्त्रित परीक्षणमा खोपको प्रभावकारिता कम्तिमा पनि ५० प्रतिशत हुनु पर्ने मापदण्ड एफडीएको छ ।

भ्याक्सिनलाई माइनस ८० डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने भएकाले त्यसको ओसारपसारमा चुनौती हुन सक्ने जानकारहरू बताउँछन् ।

Skip This
Skip This
Logo